नेपाली कांग्रेसभित्र लामो राजनीतिक ‘लिगेसी’ बोकेको कोइराला परिवारका तीन जनै सदस्य शनिबार एक ठाउँमा भेला भएका थिए।
महामन्त्री शशांक कोइरालाको निमन्त्रणामा उनको निवास महाराजगञ्जमा डा. शेखर र सुजाता कोइराला ‘लञ्च मिटिङ’मा बसेका थिए।
‘लञ्च मिटिङ’को सन्देश थियो- कोइराला परिवार एक छ।
यसबारे डा. शेखरले भने, ‘आजको राजनीतिक परिस्थितिमा हामी एक छौं भन्ने सन्देश त्यो मिटिङ गरिएको हो।’
मिटिङमा नजिकिइरहेको कांग्रेसको महाधिवेशनको विषयमा छलफल भएको कोइरालाले बताए।
तर, कोइराला परिवारभित्र महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारको विषयमा छलफल नभएको उनले बताए।
‘हामी जुनसुकै परिस्थितिमा एक छौं भन्ने कुरामा दुई मत छैन,’ कोइरालाले भने।
महाधिवेशनको सन्दर्भमा पनि कोइराला परिवारभित्र दुई मत नरहेको डा. शेखरले जनाए।
‘हामी महाधिवेशनको सन्दर्भमा अरूसँग पनि सल्लाह गर्छौं, तर कोइराला परिवार एकै ठाउँमा छौं,’ शेखरले भने।
तर, सरकारमा सहभागिताको विषय प्राथमिकतामा नरहेको उनले बताए।
‘हाम्रा कुरामा सरकारमा सामेल हुने विषय प्राथमिकतामा छैन,’ कोइरालाले भने, ‘हामी सबैसँग सल्लाह गरेरै निर्णय गर्छौं।’
महामन्त्री कोइराला र सुजाताले भने ‘लञ्च मिटिङ’पछि प्रतिक्रिया दिएका छैनन्।
शशांकका स्वकीय सचिव भरत तिवारीले समसामयिक राजनीतिका विषयमा कोइराला परिवारबीच संवाद भएको बताए।
उनले भने, ‘यो पारिवारिक भेटसाथै राजनीतिक परिस्थितिका बारेमा भएको छलफल हो।’
कोइराला परिवारमा आगामी महाधिवेशनका लागि लिएर को उम्मेदवार बन्ने भन्ने विषय पेचिलो छ।
महामन्त्री शशांक आफैं सभापतिको उम्मेदवारीका लागि छलफलमा छन् भने डा. शेखर लामो समयदेखि सभापतिको उम्मेदवार बन्न देश दौडाहामा छन्।
शेखरले बितेको महाधिवेशनमा आफूलाई केन्द्रीय सदस्यमा सीमित राखेर भाइसमेत रहेका शशांकलाई महामन्त्रीमा निर्वाचित गराउन सहयोग गरेका थिए। उनी अहिले सभापतिको लागि शशांकको सहयोग खोजिरहेका छन्।
केही समयअघि कांग्रेसका तीन जना नेतापुत्र शशांक, विमलेन्द्र र प्रकाशमान सिंहको बीचमा छलफल भएको थियो।
त्यो छलफलले महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कुरामा जोड दिएको थियो।
‘हामी जो-जो छलफलमा बसेका छौं, संस्थापनइतरबाट एक जना मात्रै सभापतिको उम्मेदवार बन्नुपर्छ भन्नेमा केन्द्रित छ,’ शशांकनिकट स्रोतले भन्यो।
सम्बन्धित समाचार:
शशांक निवासमा कोइराला परिवारका तीनै सदस्य ‘लञ्च मिटिङ’मा