गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गण्डकीको गाँठो फुकाइदिन आग्रह गरेका छन्।
मुख्यमन्त्री नियुक्त भएको एक महिना बितिसक्दासमेत पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।
सत्तारूढ कांग्रेससहित गठबन्धनमा रहेका माओवादी केन्द्र र जनता समाजवादी पार्टीमासमेत विवाद रहेकाले मन्त्रिपरिषद विस्तारमा समस्या भएको भन्दै मुुख्यमन्त्री पोखरेलले समाधान गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
गण्डकीमा सत्तारूढ कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका सांसदहरू मन्त्री बन्न तछाडमछाडमा छन्।
दलहरूबीच मन्त्रालय बाँडफाँडमा समेत सहमति हुन सकेको छैन। अहिले गण्डकी सरकारमा कांग्रेसबाट मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीमा कुमार खड्का छन्। माओवादीकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री, जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री छन्। स्वतन्त्र सांसद राजीव गरुङ ‘दीपक मनाङे’ युवा तथा खेलकुद मन्त्री छन्।
उनीहरुले मन्त्री नियुक्त भएको लामो समयपछि मन्त्रालयको जिम्मेवारी पाएका थिए। मन्त्रिपरिषदले पूर्णता पाउँदा अहिले जिम्मेवारी पाएको मन्त्रालय हेरफेर हुने स्वयं मन्त्रीहरुले बताउँदै आएका छन्।
मुख्यमन्त्रीलाई विश्वासको मत दिन अर्थ मन्त्रालयको अड्को थापेर जसपाले मुख्यमन्त्री पोखरेलसँग अर्थ मन्त्रालय लिने लिखित सहमति गरेका थिए। विश्वासको मत पाएपछि काँग्रेसले जसपालाई अर्थ मन्त्रालय दिन नसक्ने अडान राखेपछि जसपा पछि हटेको थियो ।
अझै कांग्रेस र माओवादीबीच अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रालय कसले लिने भन्ने विवाद छ। दुबै दलको नजर भौतिक पूर्वाधार मन्त्रालयमा केन्द्रित छ। मन्त्रालय बाँडफाँडमा देखिएको विवादले पनि गण्डकीको मन्त्रीपरिषदले पूर्णता पाउन नसकेको हो ।
गण्डकीको मन्त्रालय बाँडफाँड मन्त्रीको नाम टुंगो लगाइदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेको मुख्यमन्त्री नेपालीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए। दलका शीर्ष नेताहरुसँगको बैठकमा गण्डकीको विषय उठाइदिन र समस्याको समाधान गरिदिन पोखरेलले आग्रह गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री देउवाले गण्डकीको समस्या समाधान गरिदिने आश्वासन दिएका छन्। उनले दलका शीर्ष नेताहरुसँगको बैठकमा सल्लाह गरेर मन्त्रीको नाम र मन्त्रालयको बाँडफाँड टुंग्याइदिने आश्वासन दिएका छन्।
शनिबार दिनभर काठमाडौंमा राजनीतिक भेटघाट गरेका मुख्यमन्त्री पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गण्डकीमा बजेट बढाइदिनसमेत आग्रह गरे। गण्डकीमा सबैभन्दा कम बजेट आएको भन्दै मुख्यमन्त्री पोखरेलले उक्त आग्रह गरेका थिए। जवाफमा अर्थमन्त्री पोखरेलले बजेटको अवस्था हेरेर निर्णय गर्ने बताए। मुख्यमन्त्री पोखरेलले बजेटका थप गर्न प्रदेश सरकारले योजना लिएर आउने समेत बताएका थिए।
मुख्यमन्त्री पोखरेलले गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर प्रदेश सरकारलाइ सहयोग गर्न आग्रह गरे। खाँडले मुख्यमन्त्री पोखरेलको राजनीतिक इमानदारितामा दाग नलाग्ने गरी काम गर्न आग्रह गर्दै राम्रो टिम बनाएर अघि बढ्न आग्रह गरे।
प्रदेश सरकारलाइ सफल बनाउन आफूले सहयोग गर्ने आश्वासन खाँडले दिए।
भेटघाटका क्रममा मुख्यमन्त्री पोखरेलले उर्जामन्त्री पम्फा भुसाललाई भेटेर गण्डकीका योजनालाई प्राथमिकता दिन आग्रह गरे। मन्त्री भुसालको निवास पुल्चोकमा भएको भेटघाटमा केन्द्रमा बनेको गठबन्धनका आधारमा गण्डकी सरकार गठन भएको भन्दै पोखरेलले प्रदेश सरकारलाई सघाउन आग्रह गरेका थिए।
जवाफमा मन्त्री भुसालले भनिन्, ‘प्रतिगमनलाई परास्त गरेर केन्द्रमा हामी आयौं, गण्डकीमा तपाईँ आउनुभयो। चुनावसम्म गठबन्धन कायम गर्नुपर्छ,’ उनले गण्डकी सरकारलाई सघाउने आश्वासन दिइन्।
‘साउन १२ मा वडा अधिवसन गर्न सकिँदैन’
कांग्रेस महामन्त्री डा. सशांक कोइरालालाई भेटेर मुख्यमन्त्री पोखरेलले साउन १२ गते वडातहको अधिवेशन गर्न नसकिने बताएका छन्।
नेपाली कांग्रेसले भदौ १६ देखि १९ सम्मका लागि तय गरेको महाधिवेशनको पहिलो खुट्किलो वडा तहको अधिवेशन गनुपर्छ। कांग्रेसले महाधिवेसन तालिकामा साउन १२ गते वडा तहको अधिवेशन गर्ने उल्लेख छ।
कोरोना महामारी अझै यथावत रहेको र बाढी पहिरोका कारण वडा अधिवेसन गर्न नसकिने अवस्था रहेको मुख्यमन्त्री पोखरेलले बताए। उनले भने, ‘बाढी पहिरोले वडा अधिवेसनमा मान्छे आउन सक्दैनन्। अहिले अधिवेसन गर्न सकिने अवस्था रहेन । अलि पछाडि सार्नुपर्यो।’
जवाफमा महामन्त्री कोइरालाले वडा तहको अधिवेशन आउने समयसम्म पर्खन र अवस्था यस्तै रहे वडा अधिवेसन सार्न सकिने जवाफ दिएका थिए।
मुख्यमन्त्री पोखरेलले कांग्रेसका अर्का महामन्त्री पूर्णबहादुर खड्कालाई पनि यही कुरा राखेका थिए। खड्काले पनि अधिवेशन सार्नेबारे छलफल नभएको भन्दै अवस्था हेरेर निर्णय लिने बताए। उनले पहिलो पटक गण्डकीमा काँग्रेस नेतृत्वको सरकार बनेको भन्दै जसरी पनि सफल बनाउन आग्रह गरे।
मुख्यमन्त्री पोखरेलले यसपछि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेर भेटवार्ता गरे। पौडेलले पार्टी संगठन र सरकार सञ्चालनका विषयमा सुझाव दिएको मुख्यमन्त्री पोखरेलले बताए । पौडेल र पोखरेलबीच दुई पक्षीय गोप्य वार्ता भएको उनका सचिवालयले जनाएको छ ।
महामन्त्री कोइरालासँग भेटघाट गर्दासम्म सामाजिक विकास मन्त्री कुमार खड्का पनि सँगै रहेका थिए। त्यसपछि खड्का पोखरा फर्किए भने मुख्यमन्त्री पोखरेलले भेटवार्तालाई जारी राखे। पोखरेल पौडेल पक्षीय नेता हुन् भने खड्का देउवा पक्षका हुन् ।
पार्टी नेताहरूलाई भेट्ने क्रममा मुख्यमन्त्री पोखरेलले सुजाता कोइराला र गोपालमान श्रेष्ठलाई पनि भेटेका छन्। उनीहरू दुबैले गण्डकी सरकारलाई सफल बनाउन सहयोग गर्ने आश्वासन दिएको पोखरेलको सचिवालयले जनाएको छ।