प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्।
देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।
संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।
सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन्।
यसअघि गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएका थिएनन्।
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएपछि सभामुखले समय र मिति तोक्ने व्यवस्था छ।
सभामुखले आजै दोस्रो बैठक राखेर विश्वासको मत लिने प्रस्ताव अगाडि बढाउनेछन्।