प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्री देउवाको पक्षमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षसहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाले सम्मिलित गठबन्धनका सबैले उनका पक्षमा मतदान गरे उनले स्पष्ट बहुमत हासिल गर्न सक्छन्।
देउवाका लागि प्रतिनिधि सभाबाट विश्वासको मत हासिल गर्न १३६ मत आवश्यक छ।
नेपाली कांग्रेसको ६३ सांसदमध्ये ६१ ले देउवालाई मत दिन पाउँछन्। विजयकुमार गच्छदार निलम्बित छन्। त्यस्तै मोहम्मद अफताफ आलम जेलमा छन्।
नेकपा माओवादी केन्द्रका ४८ सांसदको समर्थन देउवालाई हुनेछ। विगतमा ५३ सांसद भए पनि लेखराज भट्ट र टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद छैनन्। त्यस्तै सभामुख अग्नि सापकोटाले बराबर भएको अवस्थामा मत दिन पाउने छन्। तर स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा पछिल्लो समय माओवादीनिकट छन्। उनले पनि देउवालाई मत दिन सक्नेछन्।
जनता समाजवादी पार्टीको ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षमा १७ सांसद पुगेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर गर्ने बेला यादव पक्षका सांसद १२ जनाले मात्र हस्ताक्षर गरेका थिए। तर ओली सरकारको विस्थापनसँगै उपेन्द्र यादवको पक्षमा १७ सांसद पुगेका छन्। राष्ट्रिय जनमोर्चाको एक मात्र सांसद दुर्गा पौडेलले पनि देउवालाई मत दिनेछन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सांसदको संख्या जोड्दा देउवाको पक्षमा १ सय २७ सांसद पुग्छन्। स्वतन्त्र सांसद लामाको मत जोड्दा १२८ हुन्छ। यस्तो अवस्थामा माधव नेपाल पक्षका ८ सांसद भए देउवालाई बहुमत पुग्नेछ।
देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट दायर गर्दा माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए। ती २३ सांसदले नै देउवालाई मत दिए १ सय ५१ मत पुग्नेछ।
सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्विप नलाग्ने ब्याख्या गरिसकेको छ। यस्तोमा माधव नेपाल पक्षका सांसदहरूले देउवालाई मत दिए पनि उनीहरूलाई नेकपा एमालेले कारवाही गर्न पाउने छैन।
त्यसो त माधव नेपाल पक्षका केही सांसदहरुले देउवालाई मत नदिने सम्भावना छ। तर माधव नेपालले न्यूनतम ८ मत पुर्याउन सक्नेछन्। उनले देउवालाई मत दिने वचन दिइसकेका छन्।