नेपाली कांग्रेसले अधिवेशन मुखैमा आइसक्दा पनि क्रियाशील सदस्यता (मतदाता) टुंग्याउन सकेको छैन।
वडा अधिवेशन आउन एक साता मात्रै बाँकी हुँदा केन्द्रीय क्रियाशील छानबिन समितिले क्रियाशील सदस्यको अन्तिम नामावली केन्द्रीय कार्यसमितिलाई बुझाएको छैन।
विवाद निरूपण गर्न नसकेपछि सप्तरी र बारामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिसकेको छ। सिन्धुपाल्चोक, रसुवालगायत केही जिल्लामा देखिएका विवाद समाधान भएका छैनन्।
पटकपटक म्याद थप गरे पनि केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले विवाद हल गर्न नसकेको हो। झन् पछिल्लो समय छानबिन समिति सदस्यसमेत रहेका केन्द्रीय सदस्य श्याम घिमिरेमाथि मुक्का र लात्ती प्रहार भएपछि क्रियाशीलको विषय पेचिलो बनेको छ।
‘सप्तरी र बारा जिल्लासहित झन्डै १२५ वडा जतिमा क्रियाशील सदस्यताको विषय हालका लागि स्थगित गरिएको छ,’ क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘विवाद समाधान गर्न नसकिएका ठाउँमा के गर्ने भन्ने पार्टी पदाधिकारी वा केन्द्रीय समितिले टुंग्याउँछ।’
विवाद देखिएका ठाउँमा पुरानै क्रियाशील सदस्य (१३ औं महाधिवेशनका बेलाकै) बाट वडा अधिवेशन गर्न सकिने विकल्पबारे पनि कांग्रेसमा छलफल भइरहेको छ।
विवाद टुंगिएका क्षेत्रको क्रियाशीलको नामावलीलाई अन्तिम रूप दिने काम भइरहेको पौडेल बताउँछन्।
‘क्रियाशीलको नामावली प्रिन्ट गरेर खामबन्दी गर्नुपर्छ। केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई सूची बुझाउने हो,’ उनले भने, ‘दुई/चार दिनमा सबै काम सकिन्छ।’
यो पनि: प्रदीप पौडेललाई प्रश्न- किन जेलिएको छ कांग्रेसमा क्रियाशील सदस्यता? (भिडिओ)
क्रियाशील छानबिन समितिले सभापति देउवालाई क्रियाशील सदस्यको नामावली बुझाएपछि अध्ययनपछि देउवाले केन्द्रीय निर्वाचन समितिलाई सूची बुझाउँछन्। उक्त समितिले क्रियाशीलको विवरण सम्बन्धित वडामा पठाएपछि मात्रै अधिवेशनको काम सुरू हुन्छ। कांग्रेसमा वडा कार्यसमिति चयन गर्ने मतदाता क्रियाशील सदस्य हुन्।
यी सबै काम गर्न कम्तिमा एक साता लाग्ने भएकोले पूर्वनिर्धारित महाधिवेशन कार्यतालिका प्रभावित हुने देखिन्छ।
कांग्रेसले साउन १२ गते सबै वडामा अधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरेको छ। यो कार्यतालिका हेरफेर हुन सक्ने पौडेल बताउँछन्। ‘दश दिनजति वडा अधिवेशन सर्न सक्छ,’ उनले भने। अधिवेशन १० दिन पर धकेलिए साउन २२ गते कांग्रेसले छ हजार सात सय ४३ वडामा अधिवेशन गर्नुपर्ने हुन्छ।
कांग्रेसमा देशभित्र मात्रै ८ लाख ५२ हजार क्रियाशील सदस्य छन्।
विदेशस्थित जनसम्पर्क समितिबाट ४८ हजारभन्दा बढी क्रियाशील सदस्य बनेका छन्। यी सबै गर्दा कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन्, यो संख्या २०७२ को १३ औं महाधिवेशनको भन्दा दोब्बर हो। त्यसबेला जम्मा ४ लाख ८० हजार क्रियाशील सदस्य थिए।
कांग्रेसले शतप्रतिशत क्रियाशील वितरण गरे पनि क्रियाशीलबारे पाँच हजारभन्दा धेरै उजुरी परेका थिए। यी उजुरीहरू अधिकांश थर, उमेरलगायत विषय नमिलेको वा छुटेकोजस्ता परेको पौडेल बताउँछन्।
कांग्रेसमा यसपटक धेरै विवाद अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई क्रियाशील सदस्यता दिने सम्बन्धीमा छ।
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, सुनिल थापा नेतृत्वको राप्रपालगायत विभिन्न पार्टीबाट कांग्रेसमा आएकाहरूलाई समायोजन गर्न नै विवाद थियो। त्यसले क्रियाशील सदस्यता वितरणमै समस्या ल्याएको हो।
कांग्रेसले गच्छदारलाई २१ हजार र थापालाई सात हजार क्रियाशील सदस्यता दिने भनेको थियो। सिन्धुपाल्चोकमा भने राप्रपाबाट कांग्रेस आएका करिब एक हजार दुई सय नेता/कार्यकर्ताले क्रियाशील लिन खोज्दा विवाद देखिएका थिए।
बारा र सप्तरीमा पनि समायोजनदेखिकै विवाद छ। वडा सभापतिमै दाबी धेरै जनाको परेपछि एकअर्कालाई उजुरी दिने काम भइरहेका छन्। यो समस्या अधिवशेन आउने मुखमा पार्टी केन्द्रीय कार्यालयसम्म आइपुगेको छ। सानेपास्थित कार्यालयको मुल ढोकामा विभिन्न जिल्लाका नेता/कार्यकर्ता धर्नामा छन्।
पूर्वराष्ट्रपतिकै छोरा आमरण अनसनमा
पूर्वराष्ट्रपति रामवरण यादवका छोरासमेत रहेका धनुषा कांग्रेसका नेता, पूर्वसांसद चन्द्रमोहन यादव पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन्। आइतबारदेखि महासमिति सदस्य रामपल्टन शाह र नेपाल तरूण दल जिल्ला सदस्य दिनेश नायक पनि धर्नामा छन्।
क्रियाशील सदस्यता सम्बन्धी विवादलाई लिएर धनुषा क्षेत्र नम्बर १ र ४ का कांग्रेस कार्यकर्ता अनसनमा छन्। उनीहरू पार्टी विधान, नियमावलीविपरीत क्रियाशील वितरण भएकोमा विरोध गर्न र कांग्रेस धनुषा कार्यसमितिको संस्थागत निर्णय कार्यान्वयन गर्न अनसन बसेका हुन्।
सानेपास्थित पार्टी कार्यालयको मुल ढोकामा अरू पनि धर्नामा छन्। बारा क्षेत्र नम्बर २ का नेता तथा कार्यकर्ताहरू पनि विगत एक सातादेखि धर्नामा छन्। यो धर्नामा तत्कालीन संविधानसभा सदस्य लालबाबु सिंह, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, नेताहरू रामानन्द यादव, विजय गुप्ता र नेविसंघ नेता राजेश रौनियारलगायत छन्।
धर्नामा बसेकाहरूलाई भेट्न र उनीहरूका समस्या सुन्न नेताहरू धर्नास्थल आइरहेका छन् तर समस्या ज्युँका त्युँ छ। उल्टै केन्द्रीय क्रियाशील छानबिन समितिले पनि हालका लागि यो काम स्थगित गरिदिएको छ।
उनीहरूलाई धर्नास्थलमा भेट्न वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, शेखर कोइरालालगायत पुगिसकेका छन्। साथै धर्ना बसेकामध्ये केही नेता समस्या समाधानको पहल गरिदिन केन्द्रीय सदस्य गगन थापालगायतसँग पनि पुगेका छन्।
धर्नास्थल पुगेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वडा कार्यसमितिबाट सिफारिसविना नै क्रियाशील भएकाहरूको नाम खारेज हुने बताए। विवाद भएका ठाउँमा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने सहमति नेताहरूबीच भएको पनि केसीले सुनाएका थिए।
‘क्रियाशील वितरणमा धेरै ठाउँमा धाँधली भएको भेटिएको छ। क्रियाशील सदस्य भनेको कांग्रेसको मेरूदण्ड नै हो,’ केसी भन्छन्, ‘प्रभावका आधारमा क्रियाशील बढाउने रणनीति सफल हुन दिइँदैन। विधिअनुसार आएकाहरू मात्रै क्रियाशील सदस्य हुन पाउँछन्।’
गुट इतरका कार्यकर्तालाई वडादेखि नै क्रियाशील फारमसमेत नदिएको गुनासो पनि सुनिएका छन्।
केन्द्रीय सदस्यमाथि नै लात्ती!
क्रियाशील सदस्यताको विषय यति पेचिलो भयो कि सिन्धुपाल्चोकका नेता/कार्यकर्ताले केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय क्रियाशील छानबिन समिति सदस्य श्यामकुमार घिमिरेमाथि नै भौतिक आक्रमण गरे।
गत साउन १ गते गौशालास्थित धर्मशालाको गेटमा आधा घन्टासम्म घिमिरेमाथि तनाथाम बोल्ने र मुक्का तथा लात्ती प्रहार भएको थियो। धर्मशालामा कार्यालय राखेर क्रियाशील सदस्यता विवादबारे छानबिन भइरहेको छ।
घिमिरेमाथि आक्रमण भएपछि प्रधानमन्त्रीसमेत सभापति शेरबहादुर देउवाले बालुवाटारमा आकस्मिक रूपमा पार्टीको पदाधिकारी बैठक राखेर तीन दिनभित्र छानबिन गरी कारवाही गर्न अनुशासन समितिलाई निर्देशन दिएका थिए।
अन्य पार्टीबाट आएका नेता/कार्यकर्ताको हकमा सहमति भए मात्रै समितिले क्रियाशीलको टुंगो लगाउन सक्छ। विवाद भएमा केन्द्रीय नेतृत्वकहाँ फिर्ता पठाउने भनिएको थियो। सिन्धुपाल्चोक र रसुवाको हकमा सहमति हुन नसकेपछि विवरण फिर्ता पठाउने निर्णय भएको थियो।
मापदण्डअनुसार नै काम गरे पनि आफूमाथि आक्रमण भएको घिमिरे बताउँछन्। ‘उनीहरू प्रदीप पौडेल र मलाई खोज्दै यहाँ (गौशालास्थित धर्मशाला) आएका थिए,’ घिमिरेले भने, ‘प्रदीपजीसँग भेट भएन। मलाई भकुरे।’
उनीहरूले मुक्का र लात्ती हानेको घिमिरे बताउँछन्। ‘उनीहरूले मुखमा हानेनन्, ढाडलगायत भागमा हाने,’ उनले भने, ‘निलडाम चोट नलागोस् भनेर तर्साउन हानेका हुन्। मलाई आधा घन्टासम्म जे मनलाग्दी गाली गरे, मुक्का हाने, लात्ती हाने।’
आफूमाथि भएको घटनाबारे सभापति देउवा र पदाधिकारी बैठकले गम्भीर रूपमा लिएको उनले बताए।
‘२५/३० जनाजति मलाई कुटपिट गर्न आएका थिए। तीमध्ये तीन जनालाई मात्रै मैले चिनेको छु,’ उनले भने, ‘सिन्धुपाल्चोकको क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महासमिति सदस्य हरिशरण श्रेष्ठ र प्रेमध्वज लामालाई मात्रै चिनेँ।’
श्रेष्ठ यसअघि जिल्ला सभापतिमा हारेका थिए। ‘हरिशरण र प्रेमध्वले ममाथि हात हालेको देखिनँ,’ उनले भने, ‘क्षेत्रीय सभापति बालकृष्णले पहिले हात छाडेका हुन्।’ घिमिरेमाथि आक्रमण भएकोबारे अनुशासन समितिले छानबिन गरेको छ।