नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।
आज साँझ बालुवाटार पुगेर सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सिंहले सांसद पदबाट राजीनामा दिएका हुन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी सांसद सिंहले क्रियाशील सदस्यता वितरणमा धाँदली भएको र अरु पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई मनलाग्दी तवरले क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।
आफूले सभापति देउवालाई राजीनामा बुझाएको सिंहले बताए।
‘मैले सभापतिलाई भेटेर राजीनामा पत्र बुझाएँ,’ उनले सेतोपाटीसँग भने, ‘उहाँले राजीनामा नदिनू, दुई दिनभित्र क्रियाशील सदस्यताबारेका सबै समस्या समाधान गर्छु भन्नुभएको थियो।’
छिटो समस्या समाधान हुने भएकोले राजीनामा नदिन सभापति देउवाको आग्रह थियो। तर सिंहले राजीनामा पत्र बुझाएर फर्केका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा १० दिनदेखि बारा, धनुषा, सर्लाहीलगायत जिल्लाका नेता तथा कार्यकर्ता धर्ना र आमरण अनसन बसेका छन्।
इमान्दार र निष्ठावान कार्यकर्तालाई क्रियाशील नदिएर ठेकेदारहरुलाई क्रियाशील दिई पार्टी बदनाम गर्न खोजेको आरोप सिंहको छ।
उनले बिपी स्मृतिमा आफूले पदबाट राजीनामा दिएको पनि बताए। 'दुई दिनभित्र सभापति देउवाले क्रियाशील विवाद हल नगरे सभामुखलाई भेटेर राजीनामा बुझाउने छु,' सिंहले भने।
प्रतिनिधि सभा सांसदले सभामुखलाई राजीनामा दिनुपर्ने व्यवस्था छ। तर सिंहले पार्टीभित्रको विवाद समाधान गर्न दवाव दिन संसदीय दलका नेतासमेत रहेका सभापति देउवालाई राजीनामा पत्र दिएका छन्।
यस्तो छ पत्र: