नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा भिडभाड छ।
सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा नेता/कार्यकर्ता खुसी साट्न कार्यालयमा भेला भएका भने होइनन्।
पार्टी नेतृत्व सरकार गठन र गठबन्धन रिझाउन लागिपरे पनि नेता/कार्यकर्ता भने १४ औं महाधिवेशनको तयारीमा देखिन्छन्।
मुख्यगरी क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद छ।
विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समिति बनाए पनि त्यो समितिले विवाद हेरेन। बरू समस्या ज्युँ का त्युँ राखेर फाइल केन्द्रीय समितिमै फिर्ता गरिदिएको छ।
बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरणबारेको फाइल खोलिएको छैन। त्यसैले त्यो फाइल अध्ययन गरी क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने माग एकाथरिको छ भने अर्को पक्ष भने ती फाइल खोले पनि मापदण्डवेगर दिइएका क्रियाशील सदर गर्न नहुनेमा छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पक्षका बारा जिल्लाका नेता/कार्यकर्ता केन्द्रीय कार्यालयको मुल ढोकामा धर्ना बसेको आज १२ दिन भइसक्यो। उनीहरूका माग सुनुवाइ भएका छैनन्।
बरू आजदेखि नयाँ दृश्य कार्यालय परिसरमा देखिएको छ।
कार्यालयको प्रांगणमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका बाराका नेता/कार्यकर्ताले धर्ना थालेका छन्। उनीहरूले टेन्ट टागेर धर्ना दिएका छन्। आजदेखि नेता/कार्यकर्तालाई त्यही भातभान्साको व्यवस्था छ।
देउवा पक्षका नेता/कार्यकर्ताले आजदेखि काउन्टर धर्ना दिएका हुन्। जिल्ला कार्यसमिति बाराले पठाएका क्रियाशील सबै मापदण्डअनुसार नै रहेकोले ती सदर हुनुपर्ने माग उनीहरूको छ।
यसको नेतृत्व गरेका छन्- बारा जिल्ला कार्यसमितिका सभापति जयचन्द्र चौरासियाले। चौरासिया देउवा पक्षका नेता हुन्। उनीसँगै क्षेत्रीय सभापतिहरू र कार्यकर्ता करिब दुई सय जना पार्टी कार्यालयको आँगनमा धर्नामा बसेका छन्।
आफूहरूले पठाएको फाइल क्रियाशील छानबिन समितिले अध्ययन गरेर सफ्टवेयरमा इन्ट्री गर्दै क्रियाशील सदर गरिदिनुपर्ने सभापति चौरासिया बताउँछन्।
क्रियाशील छानबिन समितिले बारामा विवाद रहेको भन्दै यसबारे केन्द्रीय कार्यसमिति वा पदाधिकारीले निर्णय गर्नुपर्ने भन्दै क्रियाशील छानबिन कार्य स्थगित गरिदिएको छ।
‘जिल्ला कार्यसमितिले पठाएको क्रियाशीलको फाइल खोलेर सदर नगरेसम्म हामी धर्ना बसिरहन्छौं। हाम्रा साथीहरू धर्ना दिन जिल्लाबाट काठमाडौं आइरहेका छन्,’ सभापति चौरसियाले भने, ‘आजदेखि यही मेस चलाउँछु।’
आफ्नो जिल्लाबाट करिब एक हजार जना नेता तथा कार्यकर्ता धर्नाका लागि केन्द्रीय कार्यालयमा आउने पनि उनको दाबी छ। क्रियाशील छानबिन समितिमाथि पनि उनले असन्तुष्टि जनाए।
‘यो क्रियाशील दिने सिष्टम विभेदकारी छ,’ उनले भने, ‘बारा र सप्तरीको मात्रै फाइल नखोल्ने अरूलाई भने नयाँ क्रियाशील दिने? यसो गर्न मिल्दैन।’ उनले १३ औं महाधिवेशनकै बेलाका क्रियाशीलबाट नयाँ अधिवेशन गर्न नसकिने बताए।
‘पार्टीले नयाँ विधान बनाएको छ। महिला, दलित, मुश्लिमलगायत सबैलाई समेट्नुपर्नेछ। अनि विधानले नै नचिन्ने गरी कसरी पुरानै क्रियाशीलबाट नयाँ अधिवेशन गर्न सकिन्छ?,’ उनले प्रश्न गरे, ‘घरघरमा गएर क्रियाशीलको विवरण लिइएको छ। अब कुन मुखले तिमीहरूले क्रियाशील पाएनौं भन्न जाने?’
वडामा बढीमा ५/७ जना मात्रै पुराना क्रियाशील रहेकोले वडा कार्यसमिति चयन गर्न नसकिने तर्क उनले राखेका छन्।
चौरसियासँगै धर्नामा बसेका अर्का नेता हुन्- बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति विजयशंकर यादव। उनी पनि नयाँ क्रियाशील सदस्य पार्टीले सदर गरिदिनुपर्ने बताउँछन्।
बाराको निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ का नेता/कार्यकर्ता कांग्रेस कार्यालयको प्रांगणमा धर्नामा बसेका हुन्।
‘हामीले विधि विधान र निर्देशिकाअनुसार वडाबाट नै सिफारिस गरिआएकाहरूलाई मात्रै क्रियाशील दिएका छौं। ती सबै सदर हुनुपर्छ,’ क्षेत्रीय सभापति यादवले भने, ‘१३ औं महाधिवेशनको बेलाका क्रियाशीलबाट अधिवेशन गर्दा वडामा प्रतिनिधि नै पुग्दैन। विधानअनुसार समावेशी टिम बनाउन सकिन्न।’
आफूहरूले जायज माग गरे पनि नेतृत्वले गम्भीर्यता नदेखाएको यादव बताउँछन्। यस्तै गुनासो छ- जितपुर सिमरा नगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताको। उनले जतिसक्दो धेरै क्रियाशील सदस्यता दिनु पर्ने बताए।
‘गाउँमा काम गरेको/खटेको युवाहरूले क्रियाशील पाएनन्। हाम्रो पार्टी संगठन यसै पनि कमजोर छ। धेरै क्रियाशील दिए पो पछि भोट पनि बढ्ला त,’ उनले भने, ‘गाउँ नजाने, सहरमा बस्नेहरूले को क्रियाशील हुने को नहुने भन्ने छान्न पाउँदैन। विधिअनुसार आएकालाई क्रियाशील दिनुपर्छ।’
तर पार्टी कार्यालयको ढोकामा १२ दिनदेखि धर्ना दिएकाहरू नयाँ क्रियाशील थप गर्ने पक्षमा छैनन्। चार तहबाट सिफारिस भएकाहरूलाई मात्रै क्रियाशील सदस्यता दिइनुपर्ने माग उनीहरूको छ। यो धर्नाको नेतृत्व गरिरहेका छन्- पूर्वसांसद लालबाबु सिंह, रामअयोद्याप्रसाद यादव र पूर्वजिविस सभापति राजेन्द्र यादवले। उनीहरू वरिष्ठ नेता पौडेल पक्षका हुन्।
यीमध्ये पूर्वसांसद लालबाबु सिंहको सदस्यता नवीकरण नै भएको छैन। कांग्रेसमा सदस्यता नवीकरण गर्ने काम जिल्ला कार्यसमितिको हो। धर्ना बस्नेमा नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियार पनि छन्। वडाले क्रियाशील दिए पनि क्षेत्र र जिल्लाले आफ्नो क्रियाशील रोकिदिएको रौनियार बताउँछन्।
उनले विधि विधानविपरीत जताभावी रूपमा नयाँ क्रियाशील थप गर्न नहुने बताए। आफूनिकट बाहेकका वडा सभापतिलाई क्षेत्रीय सभापतिहरूले क्रियाशीलको फारम नै नदिएको, थोरै दिँदा विवाद भएको उनले बताए।
‘आफ्नो गुटबाहेकका मानिसलाई क्रियाशील फारम नै दिइएन। प्रतिस्पर्धीलाई रोक्ने काम भएको छ,’ उनले भने, ‘क्षेत्रीय सभापतिसँग क्रियाशीलको विवरण इन्ट्री गर्ने पासवर्ड हुन्छ। इन्ट्री गर्दा नै चलखेल भएको छ।’ कांग्रेसले १६५ निर्वाचन क्षेत्रसहित २१० ठाउँबाट क्रियाशीलको विवरण इन्ट्री गर्ने व्यवस्था मिलाएको थियो।
पूर्वराष्ट्रपति यादवका छोराको स्वास्थ्य बिग्रँदै
कांग्रेस कार्यालयको पहिलो तलाको भित्री भागमा ५ दिनदेखि अनशनमा छन्- पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव। उनीसँगै आमरण अनशनमा रामपल्टन साह र दिनेश नायक छन्। उनीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।
‘आज स्टार अस्पतालका डाक्टरले चेकअप गर्नुभएको छ। रिपोर्ट आइसकेको छैन,’ चन्द्रमोहन निकट एक कांग्रेस कार्यकर्ता उदय यादव भन्छन्, ‘हिजोसम्म बोलिराख्नु भएको थियो। आजदेखि बोल्न पनि नसक्ने अवस्थामा पुग्नुभएको छ। तैपनि पार्टी सभापति शेरबहादुर देउवा भेट्न आउनु भएन। समस्याको समाधान गर्न ध्यान दिनुभएन।’
धनुषामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएकोले जिल्ला सभापति महेशशंकर गिरी र सचिव विश्वेश्वर यादवको उपस्थितिमा क्रियाशील सदस्यता छानबिन समितिले छानबिन गरिनुपर्ने माग उनीहरूले राखेका छन्।
पार्टी विधान तथा नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेकोविरूद्ध उनीहरू अनसनमा छन्। साथै कांग्रेस धनुषाको संस्थागत निर्णय कार्यान्वयनका लागि पनि उनीहरूले माग गरेका छन्।
सर्लाहीका नेता पनि अनसनमा
कांग्रेस सर्लाहीका नेता रामगोविन्द राय दुई दिनदेखि केन्द्रीय कार्यालयमा अनसनमा छन्। सर्लाही क्षेत्र नम्बर ४ का उनी क्रियाशील सदस्यता वितरणमा अनियमितता भइरहेको विरोधमा अनसनमा बसेका हुन्।
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील वितरणमा अनियमितता भएको दाबी छ। क्रियाशीलबारे विवाद भएको र समाधानका लागि सभापति देउवाले सक्रियता नदेखाएको विरोधमा सर्लाहीबाट निर्वाचित सांसद अमरेशकुमार सिंहले बुधबार राजीनामा दिएका थिए।
अन्य पार्टीबाट आएकाहरूलाई समायोजनका नाममा धेरै क्रियाशील सदस्यता दिएको तर लामो समयदेखि कांग्रेसमा काम गरेका इमान्दार कार्यकर्ताले क्रियाशील नपाएकोले आफूले राजीनामा दिएको सिंह बताउँछन्।
सभापतिले दुई दिनभित्र समस्या समाधान नगरे सभामुखलाई नै राजीनामा बुझाउने उनले बताएका छन्।
१२५ वडामा अझै विवाद
कांग्रेसमा पाँच हजार उजुरी परेकोमा केन्द्रीय क्रियाशील छानबिन समितिले करिब १२५ वडाबाहेक अरूको विवाद समाधान गरेर अन्तिम नामावली छापेको छ। विवाद भएका सप्तरी र बाराको फाइल भने केन्द्रीय कार्यसमितिमा फिर्ता गरिएको छ। यसबारे के गर्ने भन्ने शुक्रबार बुढानिलकण्ठमा बस्ने पदाधिकारी र पूर्वपदाधिकारी बैठकले निर्णय गर्नेछ।
कांग्रेसले २०७२ सालमा भएको १३ औं महाधिवेशनमा रहेका क्रियाशीलको दोब्बर संख्यामा क्रियाशील सदस्यता बाँडे पनि विवाद देखिएको छ। १३ औं महाधिवेशनमा कांग्रेसमा चार लाख ८० हजार क्रियाशील सदस्यता थिए। अहिले यो संख्या बढेर देशभित्र ८ लाख ५२ हजार र विदेशस्थित जनसम्पर्क समितिका ४८ हजार गरी ९ लाख बढी क्रियाशील पुगेका छन्।
विवाद हुँदा वडा अधिवेशन सर्दै
कांग्रेसले क्रियाशील विवाद समाधान गर्न नसक्दा वडा अधिवेशन दश दिनजति सर्ने भएको छ। साउन १२ गते देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन हुने भने पनि अहिलेसम्म क्रियाशीलको नाम टुंगो लागेको छैन। कांग्रेसमा वडा अधिवेशनको मतदाता नै क्रियाशील सदस्य हुन्। वडा, पालिका, क्षेत्र र जिल्लाबाट सिफारिस भएपछि मात्रै क्रियाशील सदस्यता पाउने व्यवस्था छ। साधारण सदस्यता लिएको १ वर्ष पुगेकोले क्रियाशीलका लागि फारम भर्न पाउँछन्।
सबै तस्बिरहरू: प्रशन्न पोखरेल/सेतोपाटी।