नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा १३ दिनदेखि अनसन बसेकाहरूसँग छलफल गर्दै सहमति निर्माण गरेर अनसन तोडाउने जिम्मेवारी दुई जना नेताले पाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले पार्टी कार्यालयमा जारी अनसन तोडाने जिम्मेवारी सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य रामशरण महतलाई दिएको छ।
यो पनि: सानेपामा देउवा पक्षको काउन्टर धर्ना
रामशरण र प्रकाशशरण दाजुभाइ हुन्। दाजु रामशरण वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन् भने सहमहामन्त्री प्रकाशशरण सभापति देउवा निकट छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बाराका पौडेल पक्षका नेता तथा कार्यकर्ता १३ दिनदेखि धर्नामा छन्। सभापति देउवा पक्षका बाराका नेताहरू बिहीबारदेखि पार्टी कार्यालयमै काउन्टर धर्नामा बसेका छन्।
पौडेल पक्षका बाराका नेता तथा कार्यकर्ता क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा धर्ना बसेका हुन्।
तर देउवा पक्षका नेताहरू भने जिल्ला कार्यसमितिले पारित गरिपठाएका सबै क्रियाशील सदर गर्नुपर्ने मागसहित धर्नामा छन्।
पार्टी कार्यालयमा बारा, सर्लाहीका नेता तथा कार्यकर्ता धर्ना र आमरण अनसनमा बसेपछि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज देउवा निवास बूढानिलकण्ठमा बसेको थियो।
पार्टी कार्यालयको आँगन, मुलढोका र पहिलो तलामा धर्ना र अनसन छ। धनुषा र सर्लाहीका नेताहरू अनसनमा छन् भने बाराका नेता तथा कार्यकर्ता धर्ना बसेका छन्।
पार्टी कार्यालयमा धनुषाका नेतासमेत रहेका पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायक ६ दिनदेखि आमरण अनसनमा छन्।
यस्तै कांग्रेस सर्लाहीका नेता रामगोविन्द राय तीन दिनदेखि केन्द्रीय कार्यालयमा अनसनमा छन्। सर्लाही क्षेत्र नम्बर ४ का उनी क्रियाशील सदस्यता वितरणमा अनियमितता भइरहेको विरोधमा अनसनमा बसेका हुन्।
सभापति देउवाले पार्टी कार्यालयमा अनसन र धर्ना बसेकाहरूसँग संवाद गरी छिटो समस्याको समाधान खोज्न नेताहरूलाई निर्देशन दिएका थिए।
देउवाको निर्देशनपछि प्रकाशशरण र रामशरणलाई धर्ना र अनसन बसेकाहरूसँग छलफल गरी समस्याको समाधान खोज्न जिम्मेवारी दिइएको छ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार आज केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगतिबारे जानकारी गराएका थिए।
क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद छ। करिब १२५ वडामा विवाद छन्। सप्तरी र बारा जिल्लाको क्रियाशीलको फाइल नै खोलिएको छैन। त्यहाँको क्रियाशीलको विवरण आए पनि छानबिन कार्य स्थगित छ।
आजको छलफलमा संयोजक लेखकले साउन १० गतेसम्म सबै काम सकिने बताएका थिए। कांग्रेसले साउन १२ मा वडा अधिवेशन गर्ने भनेको छ।
क्रियाशील नै टुंगो नलागेकोले अब साउन १२ मा अधिवेशन गर्ने सम्भावना कम छ। क्रियाशीलको सूची सभापति देउवालाई बुझाएकै छैन। देउवाले क्रियाशील सूची अध्ययन गरी निर्वाचन समितिलाई दिएपछि खामबन्दी गरेर सूची जिल्लाहरूमा पठाइन्छ।
कांग्रेसमा वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्। अहिलेसम्म कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन्। प्रवक्ता शर्माका अनुसार शनिबार बिहान ९ बजे फेरि बूढानिलकण्ठमै पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दैछ।