जनता समाजवादी पार्टीका नेताहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्।
जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको थियो। पार्टी आधिकारिकतालाई लिएर उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ।
आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ।
आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने 'हेडकाउन्ट' आयोगले गर्नेछ।
जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ। अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ।
अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो। आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ।