नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय क्रियाशील छानबिन समितिलाई नै क्रियाशील सदस्यताको प्रतिवेदन थप अध्ययन गरी परिस्कृत बनाएर ल्याउन आग्रह गरेका छन्।
बुधबार बूढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक राखेर देउवाले प्रतिवेदनलाई अझै परिस्कृत बनाउन २४ घन्टाको समय दिएका छन्।
यो हेर्नुस्: कांग्रेसमा क्रियाशील सदस्यता: जसले विवाद समाधान गर्ने जिम्मेवारी पायो, उसैले पन्छाइदियो
केन्द्रीय सदस्यसमेत रहेका लेखक नेतृत्वको छानबिन समितिले सभापति देउवालाई मंगलबार क्रियाशीलको प्रतिवेदन बुझाएको थियो। त्यो प्रतिवेदन अपुरो रहेको भन्दै आलोचना भइरहेको थियो। थप अध्ययन गरी विवादित क्षेत्र टुंग्याउन पदाधिकारी बैठकले छानबिन समितिलाई नै थप समय दिएको हो।
स्रोतका अनुसार पदाधिकारी बैठकमा क्रियाशील प्रतिवेदन अध्ययन गर्न अर्को समिति बनाउनेबारे पनि छलफल भएको थियो। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाललगायत रहने गरी समिति बनाउने भने पनि पछि लेखक नेतृत्वकै समितिलाई २४ घन्टा समय दिइएको स्रोतको दाबी छ।
बुधबार देउवा निवासमा चार घन्टासम्म पदाधिकारी बैठक बसेको थियो।
‘क्रियाशीलबारेको प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल भयो,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदनमा जे अधुरो विषय छन् त्यो उहाँहरूले नै फेरि भोलिसम्म अध्ययन गर्नुहुन्छ।’
क्रियाशीलको प्रतिवेदनबारे छानबिन समितिकै सदस्य कल्याण गुरूङले फरक मत राखेका थिए। कागजातविनै कतिपय क्षेत्रमा क्रियाशील दिइएकोमा उनले असन्तुष्टि जनाएका थिए।
गत फागुनमा क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय कार्यसमितिले लेखकको नेतृत्वमा समिति गठन गरेको थियो। करिब चार महिना क्रियाशीलबारेका विवाद छानबिन गरे पनि समितिले अपुरो प्रतिवेदन बुझाएको थियो।
कांग्रेसमा क्रियाशीलबारे करिब पाँच हजार उजुरी परेका थिए। लेखक नेतृत्वको समितिले नवीकरणतर्फ ७७ जिल्लाकै र नयाँ क्रियाशीलतर्फ ७५ जिल्लाको प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो।
‘प्रतिवेदनमा मिलाउन सक्ने विषयबारे अझै उहाँहरूले हेर्नुहुन्छ,’ शर्माले भने।
कांग्रेस पदाधिकारी बैठक बिहीबार दिउँसो २ बजे बूढानिलकण्ठमै बस्नेछ।
क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीका नयाँ क्रियाशीलबारे छानबिन नै गरेको थिएन। यी जिल्लाका पुराना क्रियाशीलको भने सदस्यता नवीकरण भएका छन्। कांग्रेसमा ८ लाख ५२ हजार क्रियाशील सदस्य पुगेका छन्।
यो पनि: कांग्रेसले बनायो ८ लाख ५२ हजार क्रियाशील सदस्य, कुन प्रदेशमा कति?
क्रियाशीलमै विवाद हुँदा कांग्रेसले वडा अधिवेशन गर्न सकेको छैन।
साउन १२ मा वडा अधिवेशन भने पनि स्थगित गरिएको थियो। ‘जम्मा १५ वटा जति निर्वाचन क्षेत्रमा विवाद देखिएका छन्,’ शर्माले भने, ‘पहिले ३३ क्षेत्रमा विवाद भएर पुरानै क्रियाशीलबाट अधिवेशन गरिएको थियो।’
२०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि क्रियाशीलबारे यस्तै विवाद भएपछि पुरानै क्रियाशीलबाट ३३ ठाउँमा अधिवेशन गरिएका थिए। यसपटक पनि विवाद रहिरहे विवादित वडामा पुरानै क्रियाशीलबाट अधिवेशन गर्ने तयारी छ।
कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं अधिवेशन गर्ने भने पनि क्रियाशील समयमै नटुंगिने र कोरोना महामारी कायमै रहने हुँदा महाधिवेशन प्रभावित हुने देखिएको छ।
क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बाराका नेता तथा कार्यकर्ता १८ दिनदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्नामा छन्। उनीहरूको माग सुनुवाइ गर्ने तयारी कांग्रेसको छ।
- शीर्षक परिवर्तन गरिएको