विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको आन्दोलनलाई सरकारले आज सम्बोधन गर्ने भएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सेतोपाटीलाई दिएको जानकारी अनुसार विपीका चिकित्सक विद्यार्थीसँग वार्ता गर्न सरकारले आज वार्ता टोली गठन गर्ने भएको छ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार सरकारले आज उच्चस्तरीय वार्ता टोली गठन गर्नेछ। ‘अस्ति प्रधानमन्त्री कार्यालयका सचिवजीको नेतृत्वमा बनेको छानबिन समितिले आजै प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदैछ’, मन्त्री श्रेष्ठले सेतोपाटीसँग भने, ‘म आजै वार्ता समिति पनि बनाउँदैछु।’
आज सरकारले बनाउने वार्ता समितिले विपी प्रतिष्ठान धरानको समस्या समाधान निकाल्ने मन्त्री श्रेष्ठले बताए।
प्रतिष्ठानमा ४९ दिनदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन्। उनीहरुले प्रतिष्ठानका पदाधिकारीसँग वार्ता नगर्ने अडानसहित उच्चस्तरीय वार्ता टोलीको माग गर्दै आएका थिए।
प्रतिष्ठानका आन्दोलनकारीले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरेर सरकारले समस्या समाधानको पहल नथाले बुधबारदेखि काममा नजाने घोषणा गरेका थिए। सरकारलाई आन्दोलनकारीले दिएको ७२ घण्टाको अल्टिमेटम मंगलबार साँझसम्मको छ।
आन्दोलनरत संयुक्त संघर्ष समितिको आह्वान अनुसार अहिले कालोपट्टी बाँधेर काम गरिरहेका आन्दोलनकारीले आइतबार डिन अफिसमा तालाबन्दी गरेका थिए। उच्चस्तरीय वार्ता कमिटी बनाएर समाधानको पहल नथाले कोभिड उपचार, आकस्मिक उपचार र पूर्वनिर्धारित परीक्षाबाहेकका सबै सेवामा स्वास्थ्यकर्मीको सहभामगिता नहुने आन्दोलनकारीको घोषणा छ।
आन्दोलनकारीले विपीका पदाधिकारीको पदमुक्ति, शैक्षिक र स्वास्थ्य संस्थामा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन्।