नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई उपसभापति विमलेन्द्र निधिले मंगलबार बेलुकी बालुवाटारमा भेटेका छन्।
निधिले सभापतिमा दाबी गरेपछि पछिल्लो समय देउवा-निधि सम्बन्ध सुमधुर छैन।
कांग्रेसको १४ औं महाधिवेशन आउन २९ दिन बाँकी हुँदा देउवा र निधिबीच फेरि कुराकानी भएको छ। तर यो भेटमा पनि निधिले आफूलाई सभापतिमा सघाउन आग्रह गरेका छन्।
आफू सभापतिमा उठ्ने तयारी गरिरहेकोबारे जानकारी दिन निधि बालुवाटार पुगेका थिए। निधिले सरकारमा मन्त्री छान्दा समावेशी हुनुपर्ने सुझाव र क्रियाशील सदस्यतामा देखिएका विवादबारे पनि देउवासँग कुरा राखेर फर्केका छन्।
मंगलबार करिब पौने घन्टा देउवा र निधिबीच कुराकानी भएको थियो। निधिले आफू अब सभापति उठ्ने र तयारीका लागि छिट्टै सम्पर्क कार्यालय खोल्ने देउवालाई जानकारी गराएका थिए। ‘म सभापति उठ्ने हो। तपाईंको सहयोग चाहियो। सम्पर्क कार्यालय खोल्दैछु, उद्घाटनमा आइदिनुपर्यो,’ निधिले देउवालाई भने।
प्रधानमन्त्री देउवा र उपसभापति निधिबीच ‘वान टु वान’ कुराकानी भएको निधिको सचिवालयले सेतोपाटीलाई जानकारी दिएको छ। निधिले सभापति उठ्ने र कार्यालय नै खोल्ने बताएपछि देउवाले त्यसो नगर्न बरु आफूलाई नै सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए।
‘यो मेरो लागि अन्तिम पटक हो। यसपटक सघाउनुस् त्यसपछि तपाईं नै त हो!,’ देउवाले निधिलाई भने, ‘म अर्कोपटक सभापति उठ्न विधानले पनि मिल्दैन। मलाई अहिले सहयोग गर्नुस्, अर्कोपटक तपाईंलाई सहयोग गर्छु।’ कांग्रेसमा लगातार दुई कार्यकालभन्दा बढी सभापति हुन विधानअनुसार मिल्दैन।
तर निधिले देउवाको कुरा स्वीकार गरेनन्। १३ औं महाधिवेशनमै १४ औं महाधिवेशनमा देउवाले निधिलाई सहयोग गर्ने वचन दिएका थिए। त्यो वचन निधिले भुलेका छैनन्। निधिले आफू सभापति उठ्ने तयारी गरिसकेकोले पछि हट्न नमिल्ने बताएका थिए।
सभापति देउवाले पनि फेरि सभापतिमा आफू नै उठ्ने तयारी गरिरहेका छन्। उनले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरूसँग यसबारे कुराकानी गरेर तयारी गर्न र सहयोग गरिदिन भनिसकेका छन्। क्रियाशील सदस्यतादेखि महाधिवेशन प्रतिनिधि चयनसम्म सहयोग गरिदिन देउवाले आफूनिकट केन्द्रीय नेतालाई भनिसकेका छन्।
देउवा फेरि सभापति उठ्ने भनेपछि उनकै समूहका नेताहरू निधि र गोपालमान श्रेष्ठले सभापतिमा दाबी गरिरहेका छन्।
उपसभापति निधिले कांग्रेस क्रियाशील सदस्यतामा देखिएको विवाद, समायोजनबारे विवाद र सरकारमा मन्त्री छान्दा ध्यान दिनुपर्ने कुराबारे पनि देउवासँग कुराकानी गरेको निधिको सचिवालयले जनाएको छ।
अरु पार्टी छाडेर कांग्रेस प्रवेश गरेकालाई उपसभापति निधि संयोजक रहेको समायोजन समितिले कांग्रेसमा समायोजन गरेको थियो।
समायोजन समितिले निर्णय गरी केन्द्रीय समितिबाट पारित भइसकेका क्रियाशील लगायतमा अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले फेरि फाइल खोल्नुपर्ने गरी विवाद झिकेकोमा निधि असन्तुष्ट छन्।
देउवाले यो सबै विषय बुधबार अपरान्ह ३ बजे बस्ने पदाधिकारी बैठकमै राख्न निधिलाई आग्रह गरेका छन्। कांग्रेसमा बारा, सप्तरी लगायत छ जिल्लामा क्रियाशील विवाद छ। यसैकारण साउन १२ मा हुनुपर्ने वडा अधिवेशन स्थगित छ। नयाँ अधिवेशन अब भदौ पहिलो साता गर्ने तयारी छ।
उपसभापति निधिले सहकारी बैंक स्थापना, महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रको संरचना बनाउनलगायतमा सहयोग गरिदिन आग्रह गरेकोमा प्रधानमन्त्री देउवाले आफू सकरात्मक रहेको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री देउवालाई लामो समयदेखि सहयोग गरेका उपसभापति निधि यसपटक सभापति उठ्ने तयारीमा छन्। उनले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि भेटघाटलाई तीव्रता दिइरहेका छन्।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म छ। उपसभापति निधिले सभापति उम्मेदवारी दिएमा देउवालाई फेरि सभापति हुन गाह्रो पर्ने देखिन्छ। २०७२ सालमा भएको १३ औं महाधिवेशनमा देउवालाई उनको समूहबाट एकढिक्का भएर सहयोग भएको थियो। तैपनि उनले पहिलो चरणमा सभापति हुन सकेनन् र पछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सहयोग गर्दा देउवा सभापति भएका थिए।
* शीर्षक परिवर्तन गरिएको