जब कुनै व्यक्तिको स्वस्फुर्त प्रशंसा हुन्छ, त्यो प्रशंसाले उसको कद बढाउँछ। तर जब व्यक्ति सुनियोजित रूपमा आफ्नो प्रशंसाको पुल बाँध्न थाल्छ तब त्यसले उसको कद बढाउँदैन, बरू ऊ समाजमा खिसीट्युरीको विषय बन्छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले त्यस्तै आत्मप्रशंसा र प्रोपागान्डामूलक भिडिओका कारण खिसीट्युरीको विषय बनेका छन्।
केही दिनदेखि देउवाको बखान गरेर विभिन्न व्यक्तिका भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्।
पहिलो भिडिओ एक साताअघि आएको थियो जसमा डडेलधुराका तीर्थ शाहीले देउवालाई बिपी कोइरालासँग दाँजेका थिए। उनले भिडिओमा भनेका थिए, ‘बिपी कोइराला शेरबहादुर देउवालाई बिना श्रीपेचका राजकुमार हुन् भन्नुहुन्थ्यो।’
त्यसको केही दिनमै बुधबार दिउँसो फेरि अर्को भिडिओ सार्वजनिक भयो।
माइती नेपालकी अध्यक्ष तथा बागमती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइरालाले भिडिओमा देउवाको गुणगान गाउँदै भनेकी छन्, ‘शेरबहादुरजी २४ सै घन्टा पार्टीको लागि काम गर्ने, सबै असन्तुष्ट व्यक्तिलाई मिलाउने दृढता भएको मान्छे हो।’
यी दुवै भिडिओको शीर्षक एउटै छ- मलाई शेरबहादुर देउवा मनपर्छ किनभने …।
देउवालाई ‘महान नेता’को पगरी गुथाउने उद्देश्यले बनाइएका यस्ता भिडिओका सर्जक को हुन्? कुनै नेताको गुणगानमा शब्द खर्चेर र समाजका विभिन्न व्यक्तिबाट उनको पक्षमा तारिफको पुल बाँध्न लगाएर कसले यस्ता भिडिओ बनाइरहेको छ?
हामीले यसबारे बुझ्दा यो काम देउवाको सचिवालयले नै गरिरहेको थाहा भएको छ। प्रधानमन्त्रीका रूपमा नभएर पार्टी सभापतिका रूपमा देउवाका बारेमा संक्षिप्त भिडिओहरू बनाएर सार्वजनिक गर्ने योजनाअनुरूप नै यो काम भइरहेको उनको सचिवालयमा आवद्ध एक सदस्यले जानकारी दिए।
व्यक्तिगत रूपले प्रधानमन्त्री देउवाको बढाइचढाइ गरिएका यस्ता ‘प्रोपागान्डा’ भिडिओहरू उनको आधिकारिक फेसबुक वा ट्वीटरमा राखिएका छैनन्। उनका फ्यानले खोलेको भनिएको अकाउन्टबाट यसलाई बाहिर ल्याउने गरिएको छ। यो अकाउन्टको सञ्चालन भने देउवाको सचिवालयले नै गर्छ।
देउवाको प्रचार-प्रसारमा खटिएको सचिवालयका सदस्यअनुसार सात-आठ जनाको टिम नै यो काममा जुटेको छ। त्यही टिमले भिडिओका लागि पात्र चयन गर्नेदेखि खिच्ने, सम्पादन गर्ने र सार्वजनिक गर्नेसम्म गरिरहेको छ।
देउवासँग नजिक रहेका, उनीसँग काम गरेका, सहकर्मी नेता तथा सामाजिक व्यक्तिहरूले देउवाबारे के भन्छन्, तिनै कुरा समेटेर भिडिओ बनाउन थालिएको उनले बताए।
यसरी विभिन्न व्यक्तिहरू खडा गरेर बढाइचढाइ तारिफ गर्न लगाउने र त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने योजनाबारे देउवालाई जानकारी छ कि छैन भनेर पनि हामीले सोधेका थियौं। उनले यसमा देउवाको सहमति रहेको र उनले भिडिओ हेरेपछि नै अन्तिम रूप दिने गरिएको बताए।
‘देउवाबारे सकारात्मक कुरा समेटेर ५०/६० जनाको भिडिओ तयार हुँदैछ। तिनैमध्ये केही भिडिओ अहिले सार्वजनिक भएका हुन्,’ ती सदस्यले भने, ‘यस्ता डेढ सयदेखि दुई सय जनाको भिडिओ बनाउने हाम्रो लक्ष्य छ।’
देउवासँग पार्टीमा काम गरेका, उनको सरकारमा मन्त्री भएका नेताहरूको भिडिओ पनि समेटिने उनले जानकारी दिए।
‘शेखर कोइराला, गगन थापाहरूको पनि भिडिओ बनाउँछौं,’ उनले भने, ‘समाजसेवी, लब्धप्रतिष्ठित व्यक्ति र उहाँसँग काम गरेका मानिसहरूलाई पनि भिडिओमा ल्याउँछौं।’
ती सदस्यका अनुसार सचिवालयले झन्डै चार महिनादेखि यो योजनामा काम गरिरहेको थियो। देउवा प्रतिपक्षमा हुँदासम्म त्यसलाई सार्वजनिक गरिएन। प्रधानमन्त्री बनेको एक महिनामै बाहिर ल्याइएको उनले बताए।
प्रमुख राजनीतिक दलको सभापति र पाँचपटक प्रधानमन्त्री भइसकेको मान्छेको बारेमा यति प्रचारबाजी किन गर्नुपर्यो भनेर पनि हामीले उनलाई सोध्यौं।
उनले केही दीर्घकालीन उद्देश्यसहित यी भिडिओ बनाइएको बताए।
पहिलो उद्देश्य, देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। उनको बारेमा जनतालाई जानकारी दिन जरूरी देखियो। ‘पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्तिबारे जनतालाई जानकारी दिन आवश्यक देखियो,’ ती सदस्यले भने, ‘उहाँका बारेमा सकारात्मक कसैले भन्छ भने यसमा ठूलो आपत्ति पनि रहेन।’
दोस्रो, अहिले नेपाली कांग्रेसको महाधिवेशन आइरहेको छ। महाधिवेशनमा देउवा पुन: सभापति पदमा उठ्न खोजिरहेका छन्। देउवाबारे सकारात्मक भिडिओ सन्देश त्यहाँ पनि प्रयोग गरिने ती सदस्यले बताए।
तेस्रो, अबको ८-९ महिनामा स्थानीय तहको निर्वाचन आउँछ। आफ्ना समर्थक, मतदाता तथा कार्यकर्ताकहाँ यस्ता सन्देश प्रवाह गरिन्छ।
त्यसैगरी, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि क्रमश: आउँछन्। देउवाबारे सकारात्मक सन्देश समेटिएका यी भिडिओ चुनावमा पनि प्रयोग गरिने उनले बताए।
देउवालाई प्रधानमन्त्रीका रूपमा नभएर उनको व्यक्तित्व मात्र भिडिओमार्फत् उजागर गर्न खोजेको सचिवालयका ती सदस्यको भनाइ छ।
‘यो क्याम्पेन होइन, उहाँलाई जबरजस्ती देवत्वकरण गरिएको पनि होइन,’ उनले भने।
अमेरिकामा बाराक ओबामा र जो बाइडेनसम्मले यस्तो प्रचार शैली प्रयोग गरेको भन्दै यो काम गलत नभएको उनले तर्क गरे। ‘कसैले उहाँलाई राम्रो भन्छन् भने ती कुरा बाहिर ल्याउँदा केही फरक पर्दैन,’ उनले भने।
यस्ता भिडिओ १० मिनेटसम्मको बनाउने योजना छ। व्यक्तिको भनाइ हेरेर केही तलमाथि हुनसक्ने ती सदस्यले जानकारी दिए। यही क्रममा देउवाको वृत्तचित्र पनि बनाउने उद्देश्य रहेको उनले बताए।
‘यो काम सरकारीस्तरबाट वा प्रधानमन्त्रीको सचिवालयबाट धनराशी खर्च गरेर गरिएको होइन। देउवाले व्यक्तिगत रूपमा खर्च गरेका छन्,’ उनले भने।
देउवाका यस्ता ‘प्रोपागान्डा’ भिडिओको सामाजिक सञ्जालमा व्यापक खिसीट्युरी भइरहेको छ। सचिवालयले सोचेजस्तो यसले देउवाको व्यक्तित्व बढाउनु त टाढाको कुरा, धेरैले यसलाई एकदमै हल्का रूपमा लिइरहेका छन्।
भिडिओमा व्यक्त बखानलाई कसैले गम्भीरतापूर्वक लिएको पाइँदैन। बरू धेरैले यी भिडिओलाई हाँसोमा उडाइरहेका छन्। प्रधानमन्त्रीले आफ्नो आत्मप्रशंसामा एकपछि अर्को भिडिओ बनाउनु र त्यसलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुमा धेरैले झर्को मानेका छन्।
यसै क्रममा डाक्टर रामेश कोइरालाले बिहीबार नै देउवाको ‘प्रोपोगान्डा’ भिडिओमाथि व्यंग्य गर्दै ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने ...’ भन्ने शीर्षकमै आफ्नो भिडिओ हालेका छन्। त्यसमा उनले देउवाको आत्मप्रशंसामूलक प्रचार शैलीमाथि तीखो टिप्पणी गरेका छन्।
हामीले कांग्रेसका केही नेताहरूसँग पनि यसबारे कुराकानी गर्यौं। देउवाको यो प्रचारशैली देखेर उनीहरू पनि अचम्म मानिरहेका छन्।
‘यो कामबारे पार्टीपंक्तिमा चासो राख्न थालिएको छ, यसमा हाम्रो ध्यानाकर्षण भएको छ,’ कांग्रेसका एक नेताले सेतोपाटीसँग भने। देउवाको सचिवालयबाट यो काम भइरहेकाले पार्टीले आधिकारिक रूपमा केही नबोलेको उनले बताए।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रधानमन्त्रीको सचिवालयबाट यो काम भइरहेकाले पार्टीसँग सम्बन्धित नभएको बताउँछन्।
‘पार्टीको सन्दर्भको कुरा भएको थियो भने प्रवक्ताले भन्ने कुरा आउँथ्यो,’ उनले भने।