नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस सुरू भएको छ।
भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन हुन नसके पार्टीको वैधानिकता जोगाउन छोटो समयका लागि विशेष महाधिवेशन गर्न सकिने प्रस्ताव वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले राखेका छन्।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार कांग्रेस महाधिवेशन प्रक्रिया चलेको भए वडा अधिवेशन, स्थानीय तह स्तरीय कार्यसमितिका अधिवेशन सकिएर प्रदेश सभा क्षेत्रीय अधिवेशनसमेत सकिइसकेको हुन्थ्यो।
तर अवस्था त्यस्तो छैन। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन कहिले हुन्छ अझै मिति तोकिएको छैन।
आठ लाख ५२ हजार जना क्रियाशील सदस्य बनाएको कांग्रेसले बारा, सप्तरी, धनुषा, कैलाली, सिन्धुपाल्चोक र रसुवाका विभिन्न वडामा देखिएका विवाद समाधान गर्न सकेको छैन।
क्रियाशीलबारे पाँच हजार उजुरी परेका थिए। ती उजुरी हेर्न केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा केन्द्रीय क्रियाशील छानबिन समिति बनेको थियो। करिब एक सय वडा र अरू पार्टीबाट आएकालाई दिने भनेको क्रियाशीलमा विवाद हुँदा लेखक नेतृत्वको समितिले अपुरो प्रतिवेदन सभापति शेरबहादुर देउवालाई पेश गरेको थियो।
विवादित वडाका क्रियाशीलबारे शीर्ष नेताले छलफल गरी नयाँ मापदण्ड बनाएर भए पनि टुंग्याउने भने पनि समयसीमा ५ दिन गुज्रे पनि अझै विवाद ज्युँका त्युँ नै छ। बरू अझै दुई/तीन दिनभित्र क्रियाशीलबारे विवाद मिलाउन शीर्ष नेताले समय लिएका छन्।
महाधिवेशन आउन २६ दिनमात्रै बाँकी छ। केन्द्रीय निर्वाचन समितिले प्रक्रियाअनुसार महाधिवेशन गर्न कम्तिमा पनि ५३ दिन चाहिने भनेको छ। तर कांग्रेससँग अब चार सातामात्रै समय बाँकी छ। यसबीचमा पार्टीका सात तहका अधिवेशन गर्नुपर्ने बाध्यतामा कांग्रेस छ।
कांग्रेस विधानअनुसार चार वर्षमा नियमित महाधिवेशन हुनुपर्छ। तर सभापति देउवाले विशेष परिस्थिति देखाएर विधानअनुसार एक वर्ष कार्यकाल थपेका थिए। उक्त समय पनि गुजारेपछि देउवाले संविधानको सहारा लिँदै छ महिना म्याद थपेका थिए जुन भदौ २३ गते सकिँदैछ।
क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न नसकिएको र कोरोना जोखिम पनि कायमै रहेको भन्दै भदौमा महाधिवेशन गर्न नसकिनेमा कांग्रेस नेताहरू पुगेका छन् तर औपचारिक रूपमा भनिसकेका छैनन्।
सभापति देउवा पनि जसरी भए पनि महाधिवेशन भदौ १६ देखि १९ मै गर्न चाहेको बताउँछन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि संकटमा पार्टीलाई धकेल्न नहुनेमा छन्। उनीहरू पनि भदौ १६ मै महाधिवेशन हुनुपर्नेमा छन्। तर तयारी त्यसअनुसार भइरहेको छैन, क्रियाशील विवादहरू हल भएका छैनन्।
एक/दुई दिनमा क्रियाशील विवाद हल गरेर अन्तिम सूची सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई दिने हो र निर्वाचन समितिले क्रियाशील विवरण र निर्वाचन प्रतिनिधि जिल्ला तथा वडामा खटाउने हो भने महाधिवेशन भदौमै हुने अवस्था पनि देखिएको नेताहरू बताउँछन्।
तर महाधिवेशन भएन भने सभापति देउवा नेतृत्वको कार्यसमिति भदौ २३ देखि उता रहन नसक्ने चेतावनी वरिष्ठ नेता पौडेलले दिएका छन्। बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक गरेपछि पौडेलले भने, ‘भदौ २३ पछि यो कार्यसमितिको वैधानिकता सकिन्छ। त्यसपछि यो कार्यसमिति रहँदैन।’
महाधिवेशन हुन नसके के गर्ने त? यसबारे कांग्रेस नेताहरूसँग धेरै विकल्प बाँकी छैनन्। एउटा विकल्प विशेष महाधिवेशन हो। वरिष्ठ नेता पौडेल र उनीपक्षका नेताले यसबारे चर्चा गरिराखेका छन्। बढीमा एक वर्षका लागि अस्थायी रूपमा तदर्थ समिति बनाउने र पार्टीको संकट टार्न विशेष महाधिवेशन विकल्प हुने पौडेल बताउँछन्।
‘हाम्रो जोड समयमै महाधिवेशन हुनुपर्छ भन्नेमा छ। तर कुनै उपाय बाँकी रहेन भने पार्टीलाई संकटमा त जान दिएन भएन। त्यसैले कुनै उपाय नहुँदा विशेष महाधिवेशन भनेको हो,’ पौडेलले भने, ‘यो हाम्रो रहर होइन।’
भदौ २३ भित्र महाधिवेशनबाट नयाँ कार्यसमिति आएन भने अहिलेको कार्यसमितिको वैधानिकता सकिने पौडेल बताउँछन्।
‘पार्टीलाई संकटमा जान नदिन र त्यसबाट बच्न विशेष महाधिवेशन पनि उपाय छ। प्रक्रिया पुर्याएर महाधिवेशन गर्न कति समय लाग्छ त्यसबेलासम्मका लागि अस्थायी व्यवस्था गर्नु परेमा विशेष महाधिवेशन गर्न सकिन्छ,’ उनले भने।
विशेष महाधिवेशन गर्ने हो भने क्रियाशील सदस्यतामा देखिएको विवादले अवरोध ल्याउँदैन। पौडेलले भने, ‘१३ औं महाधिवेशनका प्रतिनिधि अहिले पनि छन्। उनीहरूबाटै विशेष महाधिवेशन गर्न सकिन्छ। विधानले महाधिवेशन प्रतिनिधिको म्याद तोकेको छैन। केन्द्रीय कमिटी र सदस्यहरूको कार्यकालबारे मात्रै विधानमा उल्लेख छ।’
पार्टीमा संकट आउने देखेर आफूले २०७५ मंसिर २८ मै महासमिति बैठकबाट अब कार्यतालिका ल्याएर महाधिवेशनको प्रक्रिया थाल्न माग गरे पनि सभापतिले त्यसबेला प्रस्ताव पन्छाएको आरोप पनि उनले लगाए।
‘महाधिवेशनलाई ख्यालख्याल नगरौं समयमै काम गरौं भनेको हो। तर यहाँसम्म धकेलेर पार्टीलाई ल्याइयो। यो दु:खद अवस्था हो,’ उनले भने, ‘महाधिवेशन कार्यतालिका छिटो ल्याउनुपर्छ। निर्वाचन समितिलाई तत्कालै निर्वाचन प्रक्रिया थाल्न भन्नुपर्छ, होइन भने पार्टी संवैधानिक रूपमा संकटमा पर्छ।’
छिटो काम गर्ने हो भने अझै पनि भदौ १६ मा महाधिवेशन गर्न सकिने पौडेल बताउँछन्। त्यसका लागि छिटो वडादेखिको अधिवेशन कार्यतालिका ल्याउनुपर्ने उनको माग छ। ‘अधिवेशन सुरू नभएर बिग्रेको हो। प्रक्रिया थाल्ने हो भने महाधिवेशन गर्न सकिन्छ,’ उनले भने।
सभापति देउवा प्रधानमन्त्री पनि भएकोले क्रियाशीलबारे देखिएका विवाद हल गर्न व्यापक छलफल गर्न नपाएको पौडेलले बताए। शीर्ष तहले क्रियाशील विवाद हल गर्ने भने पनि विवाद समाधान गरिएको छैन, पार्टी कार्यालय सानेपामा बाराका नेता/कार्यकर्ता क्रियाशील पाउनुपर्ने मागसहित धर्नामै छन्।
समयमै महाधिवेशन गर्न नसकिने अवस्था आइपरे विशेष महाधिवेशनको प्रस्ताव तीन महिनाअगाडि नै पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले केन्द्रीय समिति बैठकमा लिखित रूपमा पेश गरेका थिए।
उनले वडा तहबाट सिफारिस भईआएकालाई मात्रै क्रियाशील सदस्यता दिने र विवादित ठाउँमा मापदण्ड बनाएर हल गर्न सकिने पनि बताए। विवाद हल नभए केन्द्रीय समितिले निर्णय गरेजस्तै १३ औं महाधिवेशनकै क्रियाशीलबाट नयाँ अधिवेशन गर्न सकिने केसी बताउँछन्।
संस्थापन पक्षले बनाएको महाधिवेशनको कार्यतालिका पाँचपटकसम्म गुज्रेको केसीले बताए। अर्को कार्यतालिका अझै आएको छैन।
‘प्रक्रियागत रूपमा अब महाधिवेशन हुँदैन। प्रारम्भ गर्दै जाने अनि यसले वैधानिकता पनि पाउँछ भन्ने व्याख्या छ तर यस्तो हुन्छ कि हुन्न,’ उनले भने, ‘कोरोना अवधिलाई शुन्य समय मान्न सकिन्न। यो त कर तिर्नका लागि अदालतले भनेको हो, राजनीतिक दल तथा प्रशासनका लागि होइन।’
भदौमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने उनले बताए।
‘धेरै विकल्प हामीसँग छैन। मैले तीन महिनाअगाडि नै लिखित रूपमा विशेष महाधिवेशन गरौं भनेको हो। त्यसले पार्टी वैधानिकता पनि रक्षा गर्न सक्छ,’ केसीले भने, ‘१३ औं महाधिवेशनकै प्रतिनिधिले विशेष महाधिवेशन गरौं। फोरम तथा राप्रपाबाट आएकालाई केन्द्रीय सदस्यमा यथावत् रहने गरी विशेष महाधिवेशन गर्न सकिन्छ।’
उनले कांग्रेसमा यसअघि विशेष महाधिवेशन भएको पनि बताए। २०१२ मा वीरगञ्जमा महाधिवेशन र त्यसको दुई वर्षमा २०१४ मा विराटनगरमा विशेष महाधिवेशन गरिएको केसीको भनाइ छ। ‘वडा वडामा क्रियाशील विवाद छ। अब स्थानीय तह निर्वाचन पनि आउँछ। तिक्तता र झगडाबीच चुनावमा जान पनि हुन्न,’ उनले भने।
सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशनमा आफू नलाग्ने अडान राखेका छन्।
भदौ १६ मा नियमित रूपमा अधिवेशन गर्ने देउवाको भनाइ छ। क्रियाशील विवाद हल गरेर महाधिवेशन गर्न सकिने समय अझै रहेको देउवा पक्षका नेताहरू बताउँछन्।
१३ औं महाधिवेशनमा ३३ निर्वाचन क्षेत्रमा पुरानै क्रियाशीलबाट नयाँ अधिवेशन गरिएकोले विवादित ठाउँमा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने विकल्प पनि छ। कांग्रेसमा अहिले १३ निर्वाचन क्षेत्रका एक सय वडामा क्रियाशील सदस्यता विवाद छ।
देउवानिकट एक पदाधिकारीले विशेष महाधिवेशनमा जान नसकिने बताए।
‘विशेष महाधिवेशन अहिले सम्भव छैन। विशेष महाधिवेशन केन्द्रका लागि मात्रै हो, अरू तहका अधिवेशन यसबाट हुँदैन,’ ती नेताले भने, ‘विशेष महाधिवेशन गर्ने कल्पना विधानले पनि गरेको छैन। जसले विशेष महाधिवेशन भनेर प्रस्ताव ल्याइरहेको छन्, उनीहरूकै समूहमा यसबारे एकमत छैन।’
ती नेताका अनुसार विवादित ठाउँका क्रियाशील सदस्यता टुंगिएन भने पनि पुरानै क्रियाशीलबाट अब वडा अधिवेशन गरिन्छ।
‘शीर्ष नेताबीच अब बस्ने बैठकले क्रियाशीलबारे विवादित ठाउँको केही निर्णय गर्ला। नभए पुरानै क्रियाशीलबाट अधिवेशन हुन्छ,’ उनले भने, ‘एक साताभित्र केन्द्रीय समिति बैठक गर्दै भदौ १६ मै महाधिवेशन हुने गरी नयाँ कार्यतालिका ल्याउँछौं।’