विवेकशील साझा पार्टीका दुई संयोजकमध्ये रवीन्द्र मिश्रले धर्म निरपेक्षताबारे जनमत संग्रह र संघीयता खारेज गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेपछि उक्त पार्टीमा विवाद चर्किएको छ।
अर्का संयोजक मिलन पाण्डेले धर्मनिरपेक्षताको रक्षा र संघीयता सुदृढीकरण गर्नुपर्ने प्रस्ताव ल्याएका छन्।
पार्टीका नेताहरू बैठक गर्नुको साटो सामाजिक सञ्जालमा भिडिरहेका छन्।
सेतोपाटीले विवेकशील साझा पार्टीको विवादबारे उक्त पार्टीका संयोजक मिलन पाण्डेसँग भिडिओ कुराकानी गरेको छ। हेर्नुहोस् भिडिओमा।
कुराकानीका मुख्य बुदाँहरूः
- हामी व्यवस्था परिवर्तन होइन अवस्था परिवर्तन गर्न जन्मेको दल हो। संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा रहेका कमजोरीहरू सुधार्दै अघि बढ्नुपर्छ।
- रवीन्द्र मिश्रको धारणा फरक छ भन्ने बुझिराखेको थिएँ। आधिकारिक रूपमा छलफल भएको थिएन। उहाँले आफ्नो विचार केन्द्रीय समितिमा राख्छु भन्नुभएको थियो। तर उहाँले केन्द्रीय समिति बैठकमा नराखी च्याट ग्रुपमा मात्र राख्नुभयो। उहाँ प्रक्रियाभन्दा बाहिर जानुभयो।
- पार्टी एकीकरण गर्दा नै मैले धर्म निरपेक्षता, संघीयता र गणतन्त्रमा सहमति हुनुपर्छ भनेको थिएँ। वार्ता कमिटीमा हामी स्पष्ट भएर अघि बढेका थियौं।
- राजतन्त्र र गणतन्त्रमा सम्झौता गरेर के गर्ने? आधा राजतन्त्र मानौं भन्न मिलेन। अब यसमा हामी छलफल गरेर निकास निकाल्छौं।
- यो छ महिनामा कुनै आन्दोलन भएको छैन। कुनै उथलपुथल भएको छैन। संगठनको मान्यता भन्दा बाहिर गएर मार्ग परिवर्तन गर्न परोस्। उहाँले पार्टीको एकीकरणको दस्ताबेज र विचारहरूको मूल मार्गमा फर्किनु हुन्छ भन्ने छ।
- भुटानलाई हेरौं। राजा हुँदैमा देशको स्वाधीनता बच्ने रहेछ त! समस्या पात्र र प्रवृत्तिमा छ। रवीन्द्र मिश्रले प्रणालीलाई दोष दिनुभयो। यो सरल समाधान हो।
- राज्यले एउटा धर्म अंगाल्नुपर्छ भन्ने विचारले धार्मिक द्वन्द्वको सिर्जना गर्छ। म धार्मिक द्वन्द्व हुने विचार बोक्न सक्दिनँ।
- मेरो एउटा शंका छ। धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा चलाउनु भनेको संविधानमा धावा बोल्नु हो। संघीयता संविधानमा तलदेखि माथिसम्म छ। हाम्रो संविधानमा धावा बोल्ने मक्सद हुन् यी एजेन्डाहरू। विभिन्न पार्टी र नेताहरूले यो कुरा उठाइराखेका छन्। भारतलाई हाम्रो संविधान मन परेको छैन। त्यसैले संविधानलाई असफल बनाउने अवधारणा हो भन्ने लाग्छ।
- वैकल्पिक राजनीति 'वान म्यान शो' होइन। सामूहिक नेतृत्वमा चल्ने पार्टी हो। राजनीतिक रजनीकान्त आएर राजनीति बदलिन्छ भनेर म विश्वास गर्दिनँ।