निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएपछि महन्थ ठाकुर पक्ष अहिले जिल्ला-जिल्लामा कार्यकर्ता भेला गर्दैछन्।
ठाकुर समूहका नेता केशव झाका अनुसार साउन २२ गतेदेखि भदौ ९ गतेसम्म प्रदेश २ का आठसहित १९ जिल्ला र ६ वटा प्रदेशस्तरीय भेला आयोजना गर्ने कार्यतालिका छ।
आयोगले साउन ११ गते ठाकुर पक्षलाई चाहेको अवस्थामा नयाँ दल दर्ता गराउन सक्ने विकल्प दिएपछि जसपाभित्रै रहेर उनीहरू यादव पक्षविरूद्ध भेलामार्फत् अभियान चलाएका छन्।
उपेन्द्रकै तानाशाही शैलीका कारण पार्टी विभाजनको स्थितिमा पुगेको महोत्तरीमा शुक्रबार आयोजित भेलामा ठाकुरले बताएका थिए। एकताको पक्षमा उभिएर मधेस र मधेसी जनताको मुद्दामा आफूहरूको संघर्ष जारी राखे पनि उपेन्द्रले गद्दारीपूर्वक पार्टी हत्याउन खोजेकाले यो स्थिति उत्पन्न भएको उनको आरोप थियो। ‘अहिलेसम्म जसपा विभाजन भएको छैन। तर विभाजननजिक पुगिसकेको छ,’ ठाकुरले भनेका थिए, ‘यसको प्रमुख कारण उपेन्द्रजी हुनुहुन्छ। उहाँले पार्टी कब्जा गर्न खोज्नुभयो।’
यादव पक्षले भने ठाकुर पक्ष मधेसको मुद्दालाई तिलाञ्जली दिएर सत्ताको लोभमा फसेकाले यो स्थिति सिर्जना भएको बताउँदै आएको छ। यादव पक्षधर नेता रामसहाय यादवले भेलालाई औचित्यहीन र एकता असम्भवजस्तै रहेको बताउँछन्।
‘भेलाको कुनै अर्थ छैन्। एकताको अध्याय समाप्त भइसकेको छ। यिनीहरूका कर्तुत सबै जनता र कार्यकर्ताले थाहा पाइसकेका छन्,’ उनले भने।
ठाकुर पक्ष पार्टीको निर्णयविपरीत चलेको र आउँदो बैठकमा यसबारे छलफल गरी निर्णय लिइने उनले बताए।
ठाकुर पक्षले जसपाभित्रै संघर्ष गर्दै मधेसी जनताको भावनाअनुसार आफूहरू एकताको पक्षमा रहेको बताउँदै आए पनि उनीहरूको पछिल्लो गतिविधिले नयाँ दलको अभ्यास गरेको राजनीतिक वृत्तमा चर्चा छ।
तत्काल नयाँ संगठन निर्माण गर्दा संघीय सांसद, प्रदेश सांसदका साथै जनप्रतिनिधिहरूको पद धरापमा पर्न सक्ने र आफैं पार्टी विभाजन गरेर अर्को संगठन बनाउँदा मुद्दा कमजोर पार्न यस्तो कदम चालेको कलंक लाग्न सक्ने ठाकुर पक्षीय एक कार्यकारिणी सदस्यको बुझाइ छ। सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै ठाकुरले दायर गरेको रिटमा अन्तरिम आदेश नआउन्जेल कुनै कदम नचाल्ने आफूहरूको रणनीति रहेको उनको भनाइ छ।
‘सर्वोच्चको निर्णय उपेन्द्र यादवकै पक्षमा आयो भने हामीसँग अर्को विकल्प पनि छैन्। नयाँ दल खोल्नैपर्छ,’ उनले भने।
जसपा र नेकपा एमाले उस्ताउस्तै स्थितिले गुज्रिरहेको राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन्।
‘जसरी माधव नेपाले एकताको कुरा पनि छोडेका छैनन् र पार्टी बनाउन जिल्ला स्तरमा संगठन बनाइरहेका छन। त्यस्तै मोडेलमा जसपा पनि जाँदैछ,’ उनले भने, ‘कार्यकर्ताको मनोबल खस्कियोस्, हामीले राम्रै काम गर्यौं, गल्ती गरेनौं भनेर जनतालाई बुझाउन उनीहरूले ठाउँ-ठाउँमा भेला गर्दैछन्।’
नयाँ पार्टी गठनका लागि ठाकुर पक्षले भेलामार्फत् अध्ययन भ्रमण गरिरहेको उनको बुझाइ छ।
निर्वाचन आयोगको फैसलापछि जनतामा अन्योलता देखिएकाले केन्द्रको गतिविधि जानकारी गराउँदै कार्यकर्ताको राय सल्लाह लिन आफूहरू जिल्ला भ्रमणमा आएको ठाकुर पक्षीय नेता केशव झाले बताए। आफूहरू अझै पनि एकता चाहे पनि उपेन्द्र यादवको तानाशाही शैलीले पार्टी गम्भीर स्थितिमा आएको उनको भनाइ छ। ‘हामी एकता नै चाहन्छौं। किनभने अलग-अलग हुँदा मधेसको मुद्दा कमजोर हुन जान्छ तर त्यो चिन्ता उपेन्द्रजीमा देखिएन। एकैजनाले मात्र जतिसुकै चाहँदैमा एकता हुन्न नि,’ उनले भने, ‘वहाँले गरेको एकताको आह्वान देखावटीमात्र हो। उपेन्द्रजीले महन्थ ठाकुरसँग बसेर पहिले कुरा गर्नुपर्थ्यो। बाहिर ढोल पिट्दैमा हुन्छ?’
अलग-अलग पक्ष हुँदा भेलामा पहिलेभन्दा पछिल्लो समय कार्यकर्ता उत्साहित देखिएको र उल्लेख्य संख्यामा उपस्थिति देखिएको उनको दाबी छ। भेलामा कार्यकर्ताले समेत अलग्गै पार्टी खोल्न सुझाव दिइरहेको उनले बताए।
‘यसरी सँगै काम गर्न सकिन्न। अलग्गै भएर जाऔं, ठाउँ-ठाउँबाट धारणा आइरहेको छ। कतिपय ठाउँबाट एकता गर्न पनि कार्यकर्ताले सुझाव दिएका छन,’ उनले थपे।
जिल्ला-जिल्लामा भेला आयोजना गरी उपेन्द्र यादवको भण्डाफोर र आगामी कदमबारे म्यान्डेट लिने उद्देश्यले ठाकुर पक्षले गरेको भेलाप्रति उनीहरू पक्षकै केही नेताहरू असन्तुष्ट बनेका छन्। पूर्वराजपामा असफल भइसकेको अध्यक्ष मण्डलीय प्रणाली र भिड जुटाएर भेला गरिएको भन्दै वृषेशचन्द्र लाल, डाक्टर विजय सिंहलगायत नेताहरू असन्तुष्ट भएका हुन्। असन्तुष्टिकै कारण शुक्रबार सप्तरीको राजविराजस्थित आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा राजेन्द्र महतो, केशल झालगायत नेताहरूसँग वक्ता तोकिए पनि लाल र सिंह सहभागी भएनन्। ठाकुर पक्षको नेतृत्वसँग मुख्य दुई वटा विषयलाई लिएर असन्तुष्टि रहेको डा. सिंहले बताए।
‘कोरोनाको समयमा आमभेला गरेर जानु राम्रो देखिदैन। मोडालिटी फरक हुनुपर्थ्यो,’ उनले भने, ‘सामुहिक नेतृत्वको जति कुरा गरे पनि निर्णयको प्रक्रिया स्थापित भएन भने त्यो दलको सञ्चालनमा सधैं समस्या आइरहन्छ। अध्यक्ष मण्डलीय प्रणाली बिल्कुलै हुनु हुँदैन। यसले राजनीतिक संस्कार विकास हुन सक्दैन्।’
वृशेषलाल लगायतका ती असन्तुष्ट नेताहरूको गतिविधि संदिग्ध रहेको ठाकुरनिकट एक नेताले बताए।
‘साउन १० गतेको बैठकमा वृषेशजीले ठाकुरजीलाई उपेन्द्रसँगै बस्न आफू कुनै हालतमा सही गर्दैनौ भन्नुभयो। फेरि १२ गतेको बैठकमा जे भए पनि हामी एउटै दलमा छौं भन्नुभयो। उहाँहरू अहिले दुई किसिमको कुरा गर्दै हुनुहुन्छ। उहाँ उपेन्द्रजीसँगै पनि जान सक्ने देखिन्छ,’ ती नेताले भने।