नेकपा एमाले सचिव पृथ्वीसुब्बा गुरूङले पार्टीमा अध्यक्ष शक्तिशाली हुनैपर्ने बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै सचिव गुरूङले शक्ति नभएको अध्यक्षले पार्टी चलाउन नसक्ने जिकिर गरे। उनले प्यानलका आधारमा महाधिवेशनमा चुनाव लड्ने प्रावधानको पनि अन्त्य हुने बताए।
‘अध्यक्षलाई शक्तिशाली बनाउनैपर्छ। निमुखा र शक्तिविहीन अध्यक्षको काम के हुन्छ? महाधिवेशनले चयन गरेको नेतृत्वले काम गर्न पाउनुपर्छ। त्यसैले अध्यक्षलाई शक्तिशाली बनाउने भनेको हो,’ उनले भने, ‘गुटको आधारमा महाधिवेशन लड्दा फरक गुटको धेरै आयो भने त अध्यक्षले कामै गर्न नसक्ने भयो। त्यसैले पदाधिकारीको संख्या पनि घटाउने हो भने अध्यक्षलाई काम गर्न सजिलो होस् भन्ने पनि हो।’
पार्टी एकताका लागि माधव नेपालको भूमिका के हुने? भन्नेमा कुरा अड्किएको उनले बताए।
दुई अध्यक्षको प्रावधानमा धेरै कुरा मिले पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा अड्किएको गुरूङले दाबी गरे।
‘माधव नेपाललाई अध्यक्ष स्वीकार्ने भन्ने भइसकेको हो। नेकपा एमालेलाई एक हुन नदिन चलखेल गर्ने धेरै छन्। त्यसैले ओली र नेपालका अभिव्यक्ति बन्द हुनुपर्छ। माधव र केपी कमरेड बीचमा केही स्पष्ट गर्नुपर्ने र धोइपखाली गर्नुपर्ने कुरा छन्। त्यसमै कुरा अड्किएको छ,’ उनले भने, ‘माधव कमरेडले बराबरी हैसियतको अध्यक्ष मागेको भन्ने सुनेको छु। अन्तर पार्टी निर्देशनमा हस्ताक्षरदेखि बैठकमा पालैपालो अध्यक्षता लगायतमा अधिकार खोजेको भन्ने सुनेको छु। दुई अध्यक्ष रहने भन्ने मिलेको छ कस्तो रहने भन्ने निष्कर्षमा पुग्नुपर्ने देखिन्छ।’
यसैबीच एमालेभित्रको विवादबारे हामीले सो पार्टीका सचिव पृथ्वीसुब्बा गुरूङसँग भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अंश यसप्रकार छन्।
- अहिले केपी ओली अध्यक्ष भएकाले ओलीकै लागि विधान संशोधन गर्न लागिएको हो भन्ने मानसिकतालाई हटाउनुपर्छ। जो व्यक्ति अध्यक्ष हुन्छ उसलाई काम गर्न सहज होस् भनेको पक्कै हो। तर केपी ओलीलाई हेरेर बनाइएको होइन।
- पार्टीमा जति पनि पद श्रृजना भयो। त्यो सिद्धान्तका आधारमा भन्दा व्यक्तिको आधारमा गरेको देखियो। यसो भन्दैमा बहुपदबाट पछि हट्न सकिँदैन। पदाधिकारी धेरै नबनाउने भन्ने मात्रै हो। उपाध्यक्ष ५ चाहिने कि, नचाहिने, सचिव अझै घटाउने कि, उपमहासचिव चाहिने हो कि होइन? जस्तो, उपाध्यक्ष भएको व्यक्ति सम्भावित अध्यक्षको रूपमा रहनुपर्यो। त्यसका लागि त धेरै उपाध्यक्ष भएर हुँदैन।
- धेरै पदाधिकारी हुँदा अव्यवस्थित भयो। चुनाव गुटका आधारमा भएपछि त्यसले पार्टीलाई फाइदा नगर्ने रहेछ। आफ्नै संगठनमा प्यानलका आधारमा चुनाव लड्ने नै गलत रहेछ। हामी त्यो निष्कर्षमा पुग्यौं। प्यानल बनाएर लड्न नपाउने व्यवस्था हामी गर्छौं, गर्छौं। पार्टीकf नेता व्यक्तिगत रूपमा लड्न पर्यो नि। यसले पार्टीको द्वन्द्व व्यवस्थापनमा केही सहयोग गर्छ कि भन्ने हाम्रो निष्कर्ष हो।
- केपी ओली केन्द्रित प्रश्न गर्नु भएन। केपी ओली एउटा व्यक्ति हो। दसौं महाधिवेशनमा उहाँ उम्मेदवार नहुन पनि सक्नुहुन्छ। उहाँले पहिला त हुन्नँ भनेकै हो। नयाँ परिस्थिति अनुसार के गर्नुहोला अहिले भन्न सकिँदैन। तर केपी ओली केन्द्रित भएर विधान संशोधन हुन लागेको होइन।
- अहिले ७० वर्षको प्रावधान नहटाउने भन्ने छ। त्यो पास भयो भने केपी ओली उम्मेदवार बन्ने भन्ने हुँदैन। उम्मेदवार बन्न ७० वर्षको प्रावधान हटाउनुपर्छ। तर कार्यकर्ताको सुझावको आधारमा परिवर्तन भए भन्न सकिँदैन।
- अब माधव नेपाल पक्ष पनि बैठकमा आउनुपर्छ। १० बुँदे सहमतिले धेरै कुरा सकेको छ। हामी १० बुँदे सहमति कार्यान्वयनकै पक्षमा छौं। पावर सेयरिङमा कुरा अड्किएको हो।
- माधव नेपालले मेरो गोरूको बाह्रै टक्का नभन्ने, केपी ओलीले पनि मैले जे भन्यो त्यही हुन्छ नभन्ने हो भने धेरै कुरा मिल्छ। केपी ओली र माधव नेपालबीच सहमति भएपछि विधान मस्यौदामा पुनर्विचार हुनु ठूलो कुरा होइन।