नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहानैदेखि बूढानिलकण्ठमा छन्।
सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक बैठक नगर्ने घोषणा गरेका प्रधानमन्त्री देउवा आफूनिकटका नेतासँग पार्टीको महाधिवेशनलगायत विषयमा कुराकानी गर्न बुधबार बिहानै बूढानिलकण्ठ पुगेका थिए।
आफूनिकट पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश हेर्ने जिम्मेवारी पाएका नेताहरूसँग बैठक गर्नु पहिले देउवा र प्रवक्ता विश्वप्रकाश शर्माबीच भिन्नै कुराकानी भएको थियो।
प्रवक्ता शर्माले खल्तीबाट मोबाइल निकालेर कुराकानी सुरू गरेका थिए। प्रधानमन्त्रीसमेत रहेका देउवाको गुणगान गाउने गरी बनाइएका दुइटा भिडिओ बजाएर प्रवक्ता शर्माले देउवालाई सुनाएको स्रोत बताउँछ।
डडेलधुराका तीर्थ शाहीले देउवालाई बिपी कोइरालासँग दाँजेकोबारे बनाइएको भिडिओ र महिलालाई ३३ प्रतिशत अधिकार देउवाकै पालामा दिएको दाबी गरिएका भिडिओ शर्माले बजाएर सुनाएका थिए।
यो पनि: प्रधानमन्त्री देउवाको सचिवालयले नै बनाएको हो ‘प्रोपागान्डा’ भिडिओ
तथ्य नै नमिल्ने गरी बनाइएका त्यस्ता भिडिओ हेरेपछि देउवाले भिडिओ कसले बनाएको हो भन्ने जिज्ञासा राखेका थिए।
‘मेरोबारे त्यस्तो भिडिओ कसले बनायो?’ प्रधानमन्त्री देउवाले भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘भिडिओ बनाउने को हो पत्ता लगाउनू।’
भिडिओ कसले बनाएको हो सोधिखोजी गर्न देउवाले आफ्ना निजी स्वकीय सचिव भानु देउवालाई पनि आग्रह गरेका थिए। ती भिडिओ देउवाकै सचिवालयबाट बनेको दाबी यसअगाडि भइरहेको थियो।
भित्र प्रधानमन्त्री देउवा र प्रवक्ता शर्माबीच कुराकानी चलिरहेका बेला बाहिर नेताहरू आउने क्रम: चलिसकेको थियो।
बिहान ९ बज्दै थियो, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठलगायत २० जनाजति देउवानिकट नेताहरू बूढानिलकण्ठमा आइसकेका थिए।
बाहिर नेताहरू आएको जानकारीपछि सभापति देउवा र प्रवक्ता शर्मा घरबाहिर निस्किए।
त्यसको केहीबेरमा अनौपचारिक रूपमा देउवासहित नेताहरू छलफलमा जुटे। १४ औं महाधिवेशनका लागि कार्यतालिका ल्याउने, क्रियाशील विवाद मिलाउने र सरकार सञ्चालनजस्ता विषयमा कुराकानी चलेको थियो।
यत्तिकैमा प्रधानमन्त्री देउवाबारे बनाइएका भिडिओका कुरा उठ्यो।
सहमहामन्त्री प्रकाशशरण महतले त्यो भिडियो राम्रै भए पनि पार्टी भित्रैबाट विरोध भएकोमा असन्तुष्टि जनाए।
स्रोतकाअनुसार सहमहामन्त्री महतले महामन्त्री खड्का र प्रवक्ता शर्मालाई लक्षित गर्दै सार्वजनिक भएको प्रधानमन्त्री देउवाको भिडिओबारे सामाजिक सञ्जालमै आलोचना गरेकोमा असन्तुष्टि पोखेका थिए।
‘त्यो भिडिओमा त्यस्तो के थियो र? सच्याउनुपर्ने भए बरू पार्टी बैठकमै भनेको भए हुन्थ्यो, बाहिर सामाजिक सञ्जालमा लेख्दा नकारात्मक सन्देश गयो,’ महतले भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो।
महतका कुरा सुनेपछि महामन्त्री खड्काले प्रतिवाद गरेका थिए।
‘त्यस्तो भिडिओ बनाएर सभापतिलाई नै अप्ठ्यारोमा पार्ने? देश र पार्टीमा लामो समयदेखि काम गर्दै आउनुभएका सभापतिका चर्चा गरेर त्यस्ता भिडिओ बनाइराख्न जरूरी छैन,’ महामन्त्री खड्काले भने, ‘यसले प्रधानमन्त्रीबारे बाहिर राम्रो सन्देश गइरहेको छैन।’
यसपछि केहीबेर महामन्त्री खड्का र सहमहामन्त्री महतबीच नोकझोंक नै चल्यो। राम्रा कामबारे भिडिओ लगायतबाट प्रचार गरिनुलाई स्वभाविक रूपमा नै लिनुपर्ने तर्क महतले अगाडि सारेका थिए।
घरभित्र केहीबेरअगाडि प्रवक्ता शर्माले पनि भिडिओ देखाएको र बाहिर पनि भिडिओलाई लिएर नेताहरूबीच नै विवाद भएपछि सभापति देउवाले फेरि भने, ‘त्यो भिडिओ कसले बनाएको हो?, पत्ता लगाउनुपर्यो।’
फेसबुकमा 'अब बन्छ नेपाल' र ट्वीटरमा 'शेरबहादुर देउवा फ्यान'का नामबाट देउवाबारे भिडिओ सार्वजनिक भइरहेका छन्। ती भिडिओ सार्वजनिक भएकाबारे प्रधानमन्त्री देउवाले अनविज्ञता प्रकट गरेको स्रोतको भनाइ छ।
कांग्रेसका नेताहरूले भने भिडिओ बनाउनुमाभन्दा पनि तथ्य नै तोडमोड हुने गरी देउवाबारे प्रचार गर्न खोजिएकोले विरोध गर्नु परेको बताएका छन्।
यसबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री देउवाका बारेमा आएका भिडिओबारे आन्तरिक रूपमै छलफल गरी समस्या समाधान गरिने प्रतिक्रिया दिए।
साथै सभापति देउवाले आफू निकटका बैठक राखेपछि अपरान्ह ३ बजेदेखि भने देउवा निवासमा पदाधिकारी बैठक पनि बसेको छ।
कांग्रेसले महाधिवेशनबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक राखेको छ। त्यसअघि नै शीर्ष नेताबीच महाधिवेशन कार्यतालिका र क्रियाशील विवादबारे सहमति खोज्ने तयारीमा देउवा छन्।
कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्ने भने पनि अहिलेसम्म कार्यतालिका ल्याएको छैन। वडादेखि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका अधिवेशन गर्ने कार्यतालिका प्रभावित भइसकेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ १६ मै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। भदौ २३ पछि पार्टीले वैधानिकता नै गुमाउन सक्ने चेतावनी पौडेल पक्षले दिइरहेको छ।