नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पार्टी कार्यालय सानेपामा बसेन।
बारा कांग्रेसले क्रियाशील सदस्यता वितरणमा केन्द्रबाटै धाँधली भएको भन्दै एक महिनादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेको छ।
पार्टी कार्यालयमा कार्यकर्ताको धर्ना झेल्नुभन्दा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले विकल्प खोजे- आफ्नै घरमा बैठक गर्ने।
देउवा निवास बूढानिलकण्ठमा दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइयो। कार्यकर्ताको धर्ना र प्रदर्शन छल्न बैठकल स्थल सारे पनि देउवा निवास अगाडि कार्यकर्ताले भेला भएर प्रदर्शन गरे।
१४ औं महाधिवेशन भदौमा नहुने संकेत देखिएपछि कांग्रेसका युवा नेताहरूले 'सबल कांग्रेसका लागि हाम्रो अभियान' सुरू गर्दै विधान र संविधान मान्न पार्टीलाई दवाव दिइरहेका छन्।
नेविसंघ, तरूण दल र महाधिवेशन तथा महासमिति सदस्य र पूर्वसांसदहरू पनि यो अभियानमा जोडिएका छन्। उक्त अभियानले नै बुधबार देउवा निवासअगाडि महाधिवेशन सुनिश्चितताका लागि प्रदर्शन गरेको हो।
समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले बताए। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न उनीहरूले माग पनि गरेका छन्।
कांग्रेसमा विजयकुमार गच्छार र सुनिल थापालगायत विभिन्न पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई वडादेखि केन्द्रसम्म व्यवस्थापन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनेको थियो।
समायोजनमा परेका नेता/कार्यकर्तालाई केन्द्रबाट नै क्रियाशील सदस्यता दिइएपछि वडा तहमा पुराना कांग्रेसले स्वीकार गरेका छैनन्। वडादेखि चार तहबाट सिफारिस भई आएकालाई मात्रै क्रियाशील दिन कांग्रेसभित्र आवाज उठिरहेको छ।
कांग्रेसले गच्छदारलाई २१ हजार र थापालाई सात हजार क्रियाशील सदस्य दिने सहमति गरेको थियो। तर समायोजनका नाममा मापदण्ड नै नपुगेकालाई क्रियाशील दिइएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाउँदै आएका छन्।
युवाहरूले पनि आज सभापति देउवा निवासअगाडि समायोजनका नाममा क्रियाशील सदस्यता धाँधली नगर्न आग्रह गर्दै प्रदर्शन गरेका थिए।
प्रदर्शनमा पुगेका नेता दीपक भट्टराईका अनुसार तीन बुँदे ज्ञापन पत्र, कांग्रेस विधान र संविधानमा राजनीतिक दलबारे उल्लेख गरिएका विषय सभापति देउवालाई भेटेर बुझाइएको छ।
हेर्नुस् ज्ञापन पत्र:
‘कांग्रेस विधानमा रहेको महाधिवेशन सम्बन्धी व्यवस्था, संविधानमा रहेको राजनीतिक दल सम्बन्धी व्यवस्था र दल सम्बन्धी ऐनमा रहेका व्यवस्थाका कागजात हामीले सभापतिलाई बुझाएका छौं,’ उनले भने, ‘समयसीमाभित्रै महाधिवेशन गर्नुपर्छ। महाधिवेशन नहुँदासम्म हामी ध्यानाकर्षण गरिरहन्छौं।’
अर्का नेता डिल्लीराम सुवेदीका अनुसार तीन बुँदे ज्ञापन पत्र पनि आज सभापति देउवालाई बुझाइएको छ।
‘क्रियाशील सदस्यताको विवाद छिटो समाधान गरी महाधिवेशनको कार्यतालिका छिटो सार्वजनिक गरियोस्,’ उनले भने, ‘पहिले नै कांग्रेस रहेकालाई कागजी रूपमा नवप्रवेशी बनाउँदै समायोजनका नाममा क्रियाशील बनाइएको छ। प्राविधिक रूपमा संगठन कब्जा गर्ने मनशाय राखिएको पाइएकोले वडा तहबाट सिफारिस भई आएकालाई मात्रै क्रियाशील दिइयोस्। नेविसंघलगायत भातृ संस्थाको सहभागिता हुने गरी महाधिवेशन सुनिश्चित गरियोस् भन्ने विषयसहित ज्ञापन पत्र बुझाइएको छ।’
महाधिवेशन गर्ने कुरामा आफू प्रतिवद्ध रहेको देउवाले जवाफ दिएका थिए।
‘सभापतिले महाधिवेशन गर्ने कुरामा प्रतिवद्ध छौं। तपाईंहरूले हाम्रा कारणले नै महाधिवेशन सुनिश्चितता हुन लागेको सन्देश दिन खोजेको भए पनि शुभकामना छ भन्नुभयो,’ सुवेदीले भने।
सभापति देउवाले आफूले महाधिवेशनका तयारी सुरू गरिसकेको थाहा पाएपछि युवाहरूले प्रदर्शन र ज्ञापन पत्र बुझाउन आएकोमा असन्तुष्टि जनाएका थिए।
‘मैले महाधिवेशन गर्छु भन्ने थाहा पाएर जस लिन आएको?’ युवाहरूले दिएको ज्ञापत्र पत्र बुझेपछि सभापति देउवाले ठट्यौली पारामा जवाफ दिए।
कांग्रेसले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने भनेको छ। तर अहिलेसम्म पनि तल्ला तहका अधिवेशन नभएको भन्दै महाधिवेशन मंसिरमा सार्ने तयारी भइरहेको छ।
साउन १२ मा हुने भनेको वडा अधिवेशन क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा अझै कहिले गर्ने भन्ने टुंगो छैन।
कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील सदस्य बनाएको छ।
बारा, सप्तरी, रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा अझै क्रियाशील सदस्यता विवाद छ। करिब एक सय वडामा क्रियाशील विवाद टुंग्याउन बाँकी छ।