बूढानिलकण्ठमा जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी र सरकारबारे विभिन्न विषय उठेका छन्।
तीमध्ये एक हो 'शेरबहादुर देउवा मलाई मनपर्छ किनभने..' भन्नेबारे सार्वजनिक भएको भिडिओ।
शुक्रबार बिहान ११:३० देखि केन्द्रीय समिति बैठक जारी छ। बैठकमा केन्द्रीय सदस्य धनराज गुरूङले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाबारे आएका भिडिओको प्रसंग निकालेका छन्।
आफूले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाबारे सार्वजनिक भइरहेका एकपछि अर्का भिडिओसँग सम्बन्धित प्रश्न राखेको गुरूङले सेतोपाटीलाई बताए।
‘आइ लभ यू बा भन्नेहरूले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्याए, सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति सुरू भएछ,’ गुरूङले देउवालाई भने।
देउवाबारे आएका भिडिओ सामाजिक सञ्जालमा देखेर आफू झसङ्ग भएको पनि गुरूङले बताए। उनले देउवालाई भने, ‘यस्तो प्रवृत्तिबाट सजग हुनुहोस्।’
आफूबारे बनाइएका भिडिओबारे पार्टी भित्रैबाट पटकपटक आलोचना भइरहेपछि प्रधानमन्त्री देउवाले अब त्यस्तो भिडिओ नआउने बताएका छन्।
धनराजले प्रश्न राखेपछि जवाफ दिएका प्रधानमन्त्री देउवाले त्यस्ता भिडिओ बनाउन बन्द गर्न आफूले निर्देशन दिइसकेको बताएका छन्।
‘त्यो भिडिओ बन्द गर्न मैले निर्देशन दिइसकेँ, अब आउँदैन,’ देउवाले भने, ‘तपाईं ढुक्क हुनुस्।’
प्रधानमन्त्री देउवाले बोलेका कुरा कार्यान्वयनमा आउनुपर्ने गुरूङको भनाइ छ।
देउवा प्रधानमन्त्री भएपछि उनीबारे विभिन्न मानिसले भनेका अभिव्यक्ति समेटिएका भिडिओ फेसबुकमा 'अब बन्छ नेपाल' र ट्वीटरमा शेरबहादुर देउवा फ्यानबाट सार्वजनिक भइरहेको छ।
ती भिडिओमा तथ्यसमेत बिगारिएको पाइएपछि यसअघि महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले त्यस्तो भिडिओ बनाउन नहुने भन्दै सभापतिको ध्यानाकर्षण गराएका थिए।
यो पनि: देउवाको भिडिओलाई लिएर कांग्रेस नेता खड्का-महतबीच नोकझोंक
कांग्रेसको आन्तरिक बैठकमा भिडिओलाई लिएर महामन्त्री खड्का र सहमहामन्त्री प्रकाशशरण महतबीच नोकझोंकसमेत भएको थियो। त्यसबारे सहमहामन्त्री महतले आजै विज्ञप्ति निकालेर आफ्ना कुरा तोडमोड गरी खबरहरू आएको उल्लेख गरेका थिए।
यो पनि: ‘देउवा मनपर्छ’ भिडिओबारे मैले नबोलेका कुरा तोडमोड गरेर आयो: प्रकाशशरण महत
प्रधानमन्त्री देउवाले त्यस्तो भिडिओ बनाएको आफूलाई पहिले जानकारी नभएको बताइरहेका छन्। अब त्यस्तो भिडिओ नआउने देउवाको भनाइ छ।
तर कामभन्दा पनि लोकप्रियताका लागि त्यस्तो भिडिओ बनाइएकोमा कांग्रेसकै नेताहरूबाट विरोध भइरहेको छ।
यो पनि: प्रधानमन्त्री देउवाको सचिवालयले नै बनाएको हो ‘प्रोपागान्डा’ भिडिओ