नेकपा एमालेका सचिव भीम आचार्यलाई नेता-कार्यकर्ता ‘जर्नेल’ भन्छन्।
निकटकै साथीसँग पनि खुलेर नबोल्ने, जो कसैलाई नमस्कारसमेत नफर्काउने अनि सधैं औपचारिक कुरा मात्र गर्ने उनको बानीले उनलाई पार्टीभित्रको ‘जर्नेल’ बनाएको नेताकार्यकर्ताहरू बताउँछन्।
एमाले छँदा पूर्वमा र नेकपाकालमा प्रदेश १ को पाटी संगठनमा शक्तिशाली मानिने माधव नेपाल समूहका हर्ताकर्ता आचार्य पछिल्लो समय कमजोर बन्दै गएका छन्।
अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई ‘मिलाउन’ सक्रिय रहेका उनी आफ्नै प्रदेशमा भने टिमभित्रै एक्लिँदै गए।
आफ्नै समूहका विश्वास पात्रहरूले साथ छाड्ने अनि ओली समूहका प्रदेशका नेता-कार्यकर्ताले स्वीकार नगर्ने अवस्था भएपछि प्रदेशमा आचार्यको राजनीतिक शक्ति कमजोर बन्दै गएको हो।
लगातार अविश्वासी काम गर्दै गएको र टिमलाई धोका दिएका कारण उनी एक्लिएको एमाले नेपाल समूहका नेताहरूको भनाइ छ।
‘नवौं महाधिवेशन ताका नै जबरजस्ती टिममा ल्याएर सचिवमा जिताएका थियौं। त्यो बेला पनि दिलखुस भएर टिममा आएका होइनन्,’ एमाले नेता जगन्नाथ खतिवडाले सेतोपाटीसँग भने, ‘त्यसपछि पनि टिम अनुकूल गतिविधि थिएन। अहिले त संकटकै बेलामा पनि टिम र माधव नेपाललाई धोका दिएपछि उनीप्रतिको विश्वास हरायो। त्यसैले उनी प्रदेशमा एक्लिए।’
नेपाल समूहका नेता खतिवडाको मात्र होइन प्रदेशका नेपाल समूहका सांसदहरू आचार्य आफ्नो टिमको नेता नभएको हाकाहाकी बताउन थालेका छन्।
एमालेको खनाल-नेपाल समूहमा प्रदेश १ बाट झलनाथ खनाल, योगेश भट्टराई, भीम आचार्यसहित २२ जना नेताहरू थिए। उनीहरूबाहेक घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, पर्शुराम मेघी गुरुङ, रबिन कोइराला, भाष्कर काफ्ले, महेश रेग्मी, राजेन्द्र राई, जीवन घिमिरे, जयन्ती राई, बलदेव चौधरी, हरि राई, राजन राई, देउमान सम्बाहाम्फे, राधाकृष्ण मैनाली, महफुज अन्सारी, धर्मराज निरौला, यज्ञराज सुनुवार लगायतका नेता पार्टी केन्द्रमा थिए।
वरिष्ठ नेता खनाल र सचिव भट्टराई काठमाडौंमै केन्द्रित भएपछि प्रदेशमा सिनियर नेताका रूपमा आचार्य यो समूहका हर्ताकर्ता थिए। तर, अहिले आचार्यकै जिल्लाबासी सुनसरीका धर्मराज निरौलाबाहेक अरू सबै केन्द्रीय सदस्यले उनको साथ छाडेका छन्।
आफैंले नेतृत्व गरेको टिमभित्र उनी कुन हदसम्म एक्लिएका छन् भने यसअघि दुई-दुई पटक उनलाई प्रदेशको मुख्यमन्त्री बनाउन लागिपरेका नेताहरू नै उनीविरूद्ध सार्वजनिक रूपमा खनिन थालेका छन्। तिनैमध्येका एक हुन्, राजेन्द्र राई।
प्रदेश १ संसदमा भोजपुरबाट निर्वाचित राई तिनै सांसद हुन्, जसले दुई पटकसम्म आचार्यलाई मुख्यमन्त्री बनाउने असफल अभियानको नेतृत्व गरे। नेता राईले आचार्यलाई ‘वेटलेस’ र ‘कसैले पनि नपत्याउने’ नेताका रूपमा सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन्।
राईले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमै आचार्यविरूद्ध टिप्पणी गरेका थिए। ‘पार्टी मिलाउने नाममा ओली गुटमा प्रवेशका लागि बाटो खोजेको र आफ्नै पूर्व प्रतिवद्धता बिर्सेको’ भन्दै राईले आचार्यविरूद्ध निशाना साँधेका थिए।
आफ्नो समूहलाई धोका दिएको भन्दै प्रदेश १ का सांसदहरू पनि आचार्यबाट टाढिएका छन्। माधव नेपाल समूहका ती सांसदहरूले उनको अनुपस्थितिमा पटक-पटक बैठक आयोजना गरेर आचार्य अब आफ्नो नेता हुन नसक्ने ठहर गरेको सांसदहरू बताउँछन्। सांसदहरू लछुमन तिवारी, जीवन घिमिरे, लीलावल्लभ अधिकारी, खिनु लङ्वा लिम्बु, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, कृष्णकुमारी राई उनीबाट टाढिएका छन्।
आचार्यको सबैभन्दा निकट मानिने प्रदेश सांसद यशोदा अधिकारीले पनि उनको साथ छाडेको एमाले स्रोतको दाबी छ। केही समयअघि आचार्यले बोलाएको बैठकमा उनी गइनन्। सांसद तुलसी न्यौपाने र सावित्री जोशीमध्ये न्यौपाने यसअघि नै ओली समूहमा लागिसकेका छन्। जोशी अहिले पनि आचार्यको साथमै छन्।
यसरी कुनै बेला संसदीय दलका झण्डै आधा सांसद आफ्नो साथमा रहेको अवस्थाबाट आचार्य आफूसहित दुई जना मात्रै भएको अवस्थामा आइपुगेको एमाले नेताहरू बताउँछन् ।
आचार्यको ‘यू टर्न’
अरूबेला अध्यक्ष ओलीप्रति आक्रामक रूपमा पेश भइरहेका आचार्य असार अन्तिम सातादेखि एकाएक नरम बने।
शेरबहादुर देउवा प्रधानमन्त्री बन्नै लाग्दा नरम भएका उनले त्यसबेला माधव नेपालको भन्दा फरक लाइनको वकालत गरे।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने निर्णय अचानक लिएका थिए। एमालेको खनाल नेपाल समूहले के गर्छ भन्ने उत्सुकता सर्वत्र थियो। नेता नेपालले खटाएको कार्यदलले अघिल्लो रात नै १० बुँदे सहमति गरेको थियो। त्यहीबेला कोटेश्वरस्थित नेपाल निवासमा उनी पक्षधर नेताहरू भेला भएका थिए। नेता नेपाल सरकारलाई विश्वासको मत दिने पक्षमा खुलेर बोलेकै थिए। उपचारका क्रममा दिल्लीमा रहेका झलनाथ खनालले अपिल जारी गरेरै विश्वासको मत दिनुपर्ने बताइसकेका थिए।
झलनाथ खनालका सबैभन्दा निकट मानिने आचार्य नेपाल निवासबाट छलफल सकेर बाहिरिँदै थिए। पत्रकारले उनलाई घेरे अनि सोधे, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भन्नुभयो, तपाईंहरूको समूहले के गर्छ?’
नेपालदेखि झलनाथ खनालसम्मले देउवालाई विश्वासको मत दिएर संसद र संविधान बचाउन आह्वान गरिरहेका बेला नेता आचार्यले सञ्चारकर्मीलाई भनेका थिए, ‘देउवाले आजै विश्वासको मत लिने निर्णय गरेर एमाले फुटाउने षड्यन्त्र गरे।’
उनको यो भनाइ सार्वजनिक भएलगत्तै नेता राजेन्द्र राईले फेसबुकमा उनलाई ‘वेटलेस’ र ‘कसैले नपत्याउने’ नेता भनेर तिखो टिप्पणी गरेका थिए।
प्रदेश १ संसद गठनताकाको एमाले संसदीय दलमा नेपाल समूह सहज बहुमतमा थियो । ५१ मध्ये २६ जना सांसदहरू नेपाल पक्षमा थिए। नेपाल समूहले मुख्यमन्त्रीको रूपमा अघि सारेका आचार्य चाहिँ आफूले समानुपातिक सिटतर्फका सदस्यहरू छानेको भन्दै आफ्नो पक्षमा ३२ जना रहेको बताउँथे।
तर, संसदीय दलको निर्वाचनमा आचार्यले २४ मत मात्रै पाए, उनका प्रतिस्पर्धी शेरधन राईले २६ मत पाए। मुख्यमन्त्री बन्ने उनको सपना टुक्रियो। त्यहीबेला उनलाई साथ छाडेकाहरूसहितले पुस ५ पछि उनलाई फेरि मुख्यमन्त्रीका रूपमा अघि सारे। फागुन २३ को अदालतको फैसलाले एमाले र माओवादी अलग बनाएपछि उनको मुख्यमन्त्री बन्ने सपना फेरि टुट्यो।
मुख्यमन्त्री बन्न नपाएर निराश भएका आचार्य ओलीसँग एकाएक नरम हुनुमा ओलीले दिएको आश्वासन मुख्य कारण भएको नेताहरू बताउँछन्।
ओलीले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे दुवैलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर साथ लिन खोजेको माधव नेपालले सार्वजनिक गरिसकेका छन्। ओलीको आश्वासनपछि केही समय नरम बनेकी शाक्य पाण्डेलाई पनि उही आश्वासन थाहा पाएपछि फेरि आक्रामक बनेकी छन्। उनले ओलीलाई अन्तिम धक्का दिने घोषणै गरेकी छन्।
ओलीबाट उही आश्वासन पाएका आचार्य भने मुख्यमन्त्री बन्ने अधुरो सपना पूरा हुने आशामा छन्। उनलाई ओली समूहकै प्रदेशका केही नेताहरुले मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनको बोली फेरिएको नेपाल पक्षका एक केन्द्रीय सदस्यले बताए।
संसद विघटन भइसकेको अवस्थामा संघीय संसदका लागि चुनाव हुने र मुख्यमन्त्री शेरधन राई चुनाव लड्न भोजपुर फर्कने भएपछि ‘मुख्यमन्त्री तपाईं हो अब देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता गर्न लाग्नुस्’ भन्दै ओलीले त्यसबेला फकाएको नेपाल पक्षका ती केन्द्रीय सदस्यको भनाइ छ।
‘उहाँ ओलीको त्यही आश्वासनमा रमाएर टिमलाई धोका दिने अवस्थामा पुग्नुभयो,’ उनले भने ‘तर, अवस्था त्यस्तो भएन। संसद ब्युँतियो। ओलीको सत्ता ढल्यो। आचार्य चाहिँ प्रदेशमा एक्लो पर्नुभो।’
ओलीले फेरि पनि समय अनुकूल मिलाएर मुख्यमन्त्री बनाइदिने बचन दिएपछि एकता कि एकता भन्दै आचार्य दौडिएको आरोप उनको छ। एमाले जोगाउने भन्दै आफ्नै समूहका नेताहरुसँग टाढिएका नेता आचार्य ओली समूहका नेतामाझ भने तिरस्कृत जस्तै छन्।
‘यता कसले पत्याउँछ उनलाई,’ प्रदेश १ मन्त्रीपरिषदका एक सदस्य भन्छन्, ‘उहाँकै गुटमा एक्लो भएको मान्छेलाई हामी पत्याउँछौं होला र?’
प्रदेशमा लगातार कमजोर बन्दै जान थालेपछि साउन २७ मा आठ बुँदे अपिल जारी गरेर आचार्यले आफूमाथि आक्रमण हुन थालेको बताएका थिए। पार्टी एकताको कुरा गर्नेमाथि आक्रमण गर्ने र अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन्।
‘त्यस्ता आक्रमण र बदनामी गराउने प्रयासबाट हतोत्साहित नभई एकताको पक्षमा उभिन म सबैलाई अपिल गर्छु,’ आचार्यले आफ्नो अपिलमा भनेका छन्, ‘असार २७ गते भएको १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार हो।’
उनको अपिल ‘फेस सेभिङ’ को बहाना मात्रै भएको माधव समूहका नेताहरूको भनाइ छ।
‘ओलीले मुख्यमन्त्री दिने भएपछि उहाँ १० बुँदेको समर्थनमा उभिनुभयो,’ ती नेताले थपे, ‘अब यसरी पर पुग्नुभयो कि फर्कन पनि समस्या, नफर्कन पनि समस्या भयो । एकताका लागि भन्दै जारी आठ बुँदे अपिल त्यसैको कडी हो।’
पार्टीको आन्तरिक विवाद समाधान गर्न माधव नेपाल र केपी ओलीले गठन गरेको कार्यदलमा दुवै तर्फका पाँच पाँच जना नेताहरू थिए। कार्यदलमा आचार्य थिएनन्। तर, कार्यदलका हरेक बैठकमा उपस्थित भएर उनी जुनसुकै हालतमा एमाले एकता हुने कुरा बताउँथे। उनको यही व्यवहारले पनि नेपाल समूह उनीसँग संशकित बनेको थियो।