नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १८ गते वडा अधिवेशन गरेपछि पार्टी वैधानिकताबारे समस्या नआउने बताएका छन्। कांग्रेसले छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ।
तर कांग्रेसको विधान र संविधानको व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ।
चार वर्ष नियमित कार्यकाल सकेपछि सभापति देउवाले विधानअनुसार एक वर्ष र संविधानअनुसार थप छ महिना गरी कूल पाँच वर्ष छ महिनाको कार्यकाल पुर्याएका थिए, जुन भदौ २३ गते सकिँदैछ।
यसअघि वरिष्ठ नेता पौडेलले नै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आफूपक्षका नेताहरूसँग बैठक गरेपछि भदौ २३ पछि अहिलेको कार्यसमिति नरहने अभिव्यक्ति दिएका थिए।
यो पनि: भदौ २३ पछि कांग्रेसको यो केन्द्रीय समिति रहँदैन: पौडेल
तर शनिबार वरिष्ठ नेता पौडेलसहितको सहमतिमा कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका केन्द्रीय समिति बैठकले ल्याएको छ, मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने भनेर।
यो पनि: फेरि सर्यो कांग्रेस महाधिवेशन, मंसिरमा हुने
यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशनलाई कांग्रेसले अब तीन महिना पर धकेलेको छ।
केन्द्रीय समिति बैठक चलिरहेका बेला करिब एक घन्टासम्म चलेको पदाधिकारी बैठकले नयाँ कार्यतालिका ल्याउन सहमति जनाएको थियो। उक्त कार्यतालिका केन्द्रीय समितिमा पेश गरेपछि सर्वसहमतिले पारितसमेत भएको छ।
तर कांग्रेसले विधान र संविधानलाईसमेत चुनौती दिने गरी महाधिवेशन पर धकेलेकोमा आलोचना पनि भइरहेका छन्। समयमै महाधिवेशन गर्न नसकेमा कांग्रेसले निर्वाचन आयोगलाई जरिमानासमेत तिर्नुपर्ने कुरा पनि उठिरहेका छन्।
मंसिरमा महाधिवेशन गर्दा पार्टीको वैधानिकताबारे प्रश्न उठ्छ कि उठ्दैन भनेर हामीले कांग्रेस वरिष्ठ नेता पौडेलसँग आइतबार संक्षिप्त कुराकानी गरेका छौं-
कांग्रेसले फेरि महाधिवेशन सारेको छ, वैधानिकता के हुन्छ?
हामीले अब अधिवेशन गर्न लाग्यौं, केन्द्रीय समितिबाट कार्यतालिका दिइसकिएको छ। अधिवेशनका लागि अगाडि बढिसकेका छौं।
यिनीहरूले अधिवेशन टार्न खोजेका होइनन् गर्दागर्दै नभ्याएका हुन्, अधिवेशन त गर्न थाले नि! भन्ने निर्वाचन आयोगलाई पनि जानकारी हुन्छ।
विधान र संविधानले दिएको समय त गुज्रने देखियो नि!
अधिवेशन नगर्ने हाम्रो नियत होइन। संविधानले दिएको समयभित्रै काम त सुरू गर्ने भनिएको छ। भदौ १८ मा वडा अधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिबाट ल्याइसकिएको छ।
वडा अधिवेशन गर्दा वैधानिकता जोगिन्छ?, यसबारे निर्वाचन आयोगसँग कुरा भएको छ?
संविधानले दिएको समयभित्रै काम गर्न सुरू गर्ने भनेर भदौ १८ मा वडा अधिवेशन राखेको हो। यसबारे निर्वाचन आयोगसँग पनि अलिअलि कुरा भएको छ।
क्रियाशील सदस्यतामा पनि विवाद छ, अब हल हुन्छ त?
क्रियाशील सदस्यताका विवाद समाधान गर्न केन्द्रीय समितिबाटै तीन जनालाई जिम्मेवारी दिइएको छ। तीन जना साथीहरूले जिम्मा लिनुभएको छ, छिट्टै विवाद समाधान गर्नुहोला।
यो पनि: क्रियाशील सदस्यको विवाद मिलाउने जिम्मा सिटौला, रिजाल र लेखकलाई
पाँचपटकसम्म महाधिवेशन तोकियो भएन, मंसिरमा हुन्छ त?
मंसिरमा महाधिवेशन गर्नैपर्छ। नगर्दा हुने ठाउँ नै छैन।
यो पनि: क्रियाशील सदस्यले गाउँ-नगरको कार्यसमिति चुन्ने व्यवस्था हटायो कांग्रेसले