सुदूरपश्चिम प्रदेश सभामा माधव नेपालनिकट रहेका नेकपा एमालेका दुई जनाबाहेक अन्य बाँकी सासंद तत्काल एमाले समाजवादी पार्टीमा प्रवेश नगर्ने भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी माधवकुमार नेपालले खोलेको नयाँ पार्टीमा प्रवेश गरेकी छन्।
जोशी नेपालले दर्ता गराएको एमाले (समाजवादी) पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा छन्।
‘म ससंद विघटन भएदेखि माधव नेपाल पक्षमा थिएँ, विगतदेखि नै ससंद विघटन हुनुहुँदैन भन्ने पक्षमा भएकोले अहिले पनि उहाँकै पक्ष रहेकी हुँ, यसअघि माधव पक्षमै रहेका अन्य साथी पनि हामीसँगै हुनुहुन्छ’, उनले भनिन्।
उनीसँगै प्रदेशसभा सदस्य एवम् पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पनि माधव नेपालको साथ रोजेकी छन्। उनी पनि एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य बनेकी छन्।
तर यसअघि सभामा नेता नेपाल पक्षमा रहेका अन्य १६ जना सासंद भने तत्काल पार्टी विभाजन गर्ने पक्षमा छैनन्।
यसअघि माधवपक्ष मै रहेका प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले तत्काल (समाजवादी) पार्टीमा जाने वा नजाने टुंगो नलागेको बताए।
‘तत्काल पार्टी विभाजन गर्ने पक्षमा छैन र पार्टी विभाजन गर्नु हुँदैन भन्ने मान्यता मेरो हो, त्यसकारण अहिले नै के गर्ने भन्ने टुंगो लागेको छैन,’ उनले भने।
केन्द्रमा भीम रावल तटस्थ बसेकाले सुदूरपश्चिम प्रदेशमा यसअघि माधव नेपालनिकट रहेका अधिकांश सासंद पनि तत्काल एमाले नछोड्ने अडानमा छन्।
‘अधिकांश सासंद भीम रावलको निर्णयअनुसार चल्ने भएकोले सोही अनुसार कहाँ बस्ने के गर्ने भन्ने कुराको निश्चित हुने हो,’ एक सांसदले भने।
सुदूरपश्चिममा एमालेका २५ जना सांसद रहेकामा यसअघि ७ जना ओली र १८ जना माधव नेपाल पक्षमा रहेका थिए।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पाटी छान्नुुपर्ने सुुविधा दिएको छ। सोही अनुसार अन्य सांसदले एमालेमै रहने कि ? एमाले समाजवादीमा जाने टुंगो लाग्ने देखिन्छ।