एमाले विभाजनको प्रभाव गण्डकीमा नगण्य
माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य सीता ओली गिरी गत चैत अन्तिमसम्म गण्डकीका मञ्चमा ओलीको आलोचक थिइन्।
चैत अन्तिम साता छोरा, छोरी, ज्वाइँलगायत आफन्त भेट्न उनी अमेरिका उडिन्।
नेपालमा लकडाउन भएका कारण छिट्टै फर्कन पाइनन्। एमालेभित्रको राजनीतिक उथलपुथलमा लागेकी गिरी चार महिनापछि भदौ १ गते देश फर्किइन्।
अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे नौ बजे ओर्लिएर गिरीले नेता सुरेन्द्र पाण्डेलाई फोन गरिन्, पार्टी एकताका प्रयासबारे जानकारी लिइन्। त्यसपछि उनले गंगालाल तुलाधार, विजय पौडेल लगायत आफ्नो गुटका नेताहरूसँग सम्पर्क गरिन्। साँझपख वरिष्ठ नेता माधव नेपालसँग संवाद गरिन्।
‘पार्टी पुनर्संरचना गर्न बाध्य बनाइयो, एकता गरेर जाने भनेको केपी ओलीको निरंकुशता र अहंकारले दिएन,’ माधव नेपालको भनाइ उदृत गर्दै गिरीले भनिन्, ‘नयाँ पार्टीमा सहभागी भएर सहयोग गर्नुपर्यो।’
जवाफमा गिरीले अझै पार्टी एकताको प्रयास गर्न सुझाएको बताइन्।
‘१० बुँदे सहमतिलाई थपघट गर्नुपर्छ, हामीले बनाएको पार्टी यही हो, अन्तर्संघर्ष गरेर जाऊँ,’ उनले नेपाललाई भनिन्। त्यसपछि नेता नेपालले ठिक छ, कुरा गर्दै जाऊँ भनेको गिरीले बताइन्।
नेता नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएका छन्।
निवेदनमा समावेश केन्द्रीय सदस्यको सूचीमा गिरी छैनन्। उनीजस्तै स्थायी कमिटी र केन्द्रीय सदस्य रहेका ३७ जना नेता नेपालले खोलेको एमाले समाजवादीमा नाम राखेका छैनन्।
‘पार्टी विभाजनमा जान सकिएन, उही पार्टीभित्र रहेर अन्तरसंघर्ष गर्नुपर्छ,’ उनले भनिन्।
संविधान सभा सदस्य समेत रहेकी गिरी पोखराबाट माधव नेपाल गुटमा रहेकी प्रभावशाली नेता हुन्।
ओली समूहको बाहुबली रहेको पोखरामा नेता नेपालको पक्षमा उनी अडिग थिइन्। नेपाल गुटमै रहेका कारण एमाले कास्कीले गत निर्वाचनमा केन्द्रीय सदस्य रहेर पनि गिरीको नाम प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारका लागि सिफारिस गरेको थिएन।
उम्मेदवार बनाउन जिल्लामा गरिएको आन्तरिक निर्वाचनमा गिरीलाई हराउनकै लागि महिला कोटामा राखेर महिला उम्मेदवारका आकांक्षीहरूसँग निर्वाचन गराएको थियो। जबकि, उनले पुरूष उम्मेदवारसँग प्रतिस्पर्धा गर्छुभन्दा एमाले जिल्ला नेतृत्वले अस्वीकार गरिदिएको थियो। यसरी उनलाई ओली गुटको बाहुल्य रहेको एमाले कास्कीले उम्मेदवारको सिफारिस समेत गरेन।
जिल्लामा एमालेको संगठन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेकी गिरी सांसदको उम्मेदवार बन्न पार्टीभित्र सिफारिस नै नभएपछि टिकट पाउने सम्भावना पनि रहेन। आन्तरिक विवादमा सधैं माधव नेपालको पक्षमा उभिएकी उनी अहिले पार्टी विभाजनमा भने नेपाललाई पनि साथ दिइनन्।
केपी ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा पनि तत्काल नजाने उनले बताएकी छन्।
‘हामीले उठाएका मुद्दा सम्बोधन नभएसम्म बैठकमा जाने कुरा आउँदैन,’ उनले भनिन्, ‘केपी ओलीकै कारण नेकपा धुजाधुजा भयो, उहाँले यसलाई ‘रियलाइज’ गर्नुपर्छ।’
अध्यक्ष ओलीले गैरकम्युनिष्ट आचरण सच्याउनुपर्ने, पार्टीका सबै संरचना जेठ २ को अवस्थामा फर्कनुपर्ने, पाटीलाई विधि र पद्धतिमा चलाउनुपर्ने, नवौ महाधिवेशनले पारित गरेका नीति, कार्यक्रम र विधानका आधारमा अघि बढ्नुपर्ने माग आफूहरूको रहेको गिरीले बताइन्।
यसका लागि विगतमा एकता गराउन सक्रिय कार्यदलका सदस्यहरू लागिपरेको उनले बताइन्।
‘हामी के कसरी जाने भनेर कार्यदलका साथीहरूले छलफल गर्दै हुनुहुन्छ,’ उनले भनिन्, ‘पार्टीको पक्षमा हामीले अघि सारेका एजेण्डा सम्बोधन हुनुपर्छ।’
गिरीले पार्टी फुटाएर माधव नेपालले गलत गरेको भन्दै यसका लागि अध्यक्ष ओली नै जिम्मेवार हुनुपर्ने बताइन्।
आफूहरूको एजेण्डा पार्टी जोगाउनका लागि भएको भन्दै एक जना व्यक्तिको हुकुमका भरमा चल्ने हो भने निरंकुशता, राजतन्त्रको विरोध गर्नु आवश्यक नरहेको बताइन्।
गण्डकीका ११ जिल्लामध्ये माधव नेपाल समूहका जिल्ला अध्यक्ष बागलुङका इन्द्रलाल सापकोटा मात्र हुन्। बाँकी १० जिल्लाका अध्यक्ष ओली गुटमै छन्।
प्रदेश सभा सांसद समेत रहेका सापकोटाले गत जेठ अन्तिममा प्रदेश सभा विघटन हुनबाट रोकेका थिए। यसअघि ओली गुटमै रहेका एमाले नवलपुरका अध्यक्ष रोशन गाहा मगर, मुस्ताङका सांसद महेन्द्र थकालीलगायत सांसदलाई लिएर सापकोटाले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई प्रदेश सभा विघटन गरे विद्रोह गर्ने चेतावनी दिएका थिए।
सापकोटा पनि नेता नेपालले नयाँ पार्टी गठन गर्नु गलत भएको बताए।
कार्यदलले बनाएको १० बुँदेका आधारमा पार्टी एकता हुनुपर्ने आफ्नो धारणा रहेको भन्दै सापकोटाले भने,‘केपी ओलीले कुनै पनि सहमति मान्दिनँ भनेको अवस्थामा विद्रोह गर्ने हो। पार्टीभित्र छलफल नै गर्न नदिने, फरक मत राख्न नदिने अवस्थामा मात्रै विद्रोह गर्नुपर्थ्यो। अहिले नयाँ पार्टी खोल्नु गलत हो।’
कार्यदलमा रहेका नेताहरूले लिने निर्णयका आधारमा आफूले पनि निर्णय गर्ने सापकोटाले बताए।
ओलीको गलत प्रवृत्तिका कारण पार्टीले ठूलो क्षति मोलेको भन्दै उनले पार्टी विभाजन मुलुक र पार्टीको आवश्यकता नभई प्रत्युत्पादक भएको टिप्पणी गरे। पार्टी एकता जोगाउनु नै आफ्नो चाहना रहेको भन्दै उनले दुई दिनभित्र सबै कुरा पटाक्षेप हुने दाबी गरे।
ओली पक्ष भन्छ- योभन्दा ठूलो समस्या आउन सक्छ
नेता नेपालले एमाले समाजवादी बनाउँदैमा गण्डकीमा ठूलो क्षती नहुने ओली पक्षले विश्लेषण गरेका छन्।
११ जिल्लामध्ये बागलुङमा मात्रै नेपाल पक्ष हाबी भएको र बागलुङ जिल्ला अध्यक्ष सापकोटा पनि एकताकै पक्षमा रहेकाले क्षती नहुने आकलन गरेका छन्।
नेता नेपालले एमालेमै रहँदा बनाएका समानान्तर समितिका अधिकांश नेता कार्यकर्ता मूलधारकै पार्टीमा रहने उनीहरूको विश्लेषण छ।
ओली पक्षका एमाले लमजुङका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले गण्डकीमा ठूलो उथलपुथल नहुने दाबी गरे।
‘राजनीतिकभन्दा पनि व्यवसायिक रूपमा अन्य क्षेत्रमा लागेका साथीहरू समानान्तर कमिटीमा हुनुहुन्छ, यसले राजनीतिक क्षति गर्दैन,’ दवाडीले भने, ‘पार्टीभित्र अन्तरसंघर्ष गर्न बसेका कमरेडहरू मूलधारमा फर्कनुहुन्छ।’
‘नेपाल पक्षबाट मूलधारमा फर्केका नेता, कार्यकर्तालाई फरक व्यवहार नहुने उनले बताए।
मूलधारमा आएपछि सबै ओली गुटकै भए नि, किन फरक व्यवहार होला र,’ उनले भने, ‘पार्टीभित्र गुटबन्दीको श्रृंखला अब समाप्त हुनुपर्छ।’
आगामी निर्वाचनमा अहिलेका सत्ता गठबन्धन मिलेर गए पनि देशभरबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ २५, ३० सिट ओली पक्षले जित्ने दवाडीले दाबी गरे।
यस्तै, समानुपातिक मत पनि राम्रै आउने भएकाले ओलीको राजनीति सुरक्षित रहेको उनको भनाइ छ।
गठबन्धन गरेर जाँदा समेत एमाले फुटाएको र आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर अर्को पार्टीको प्रधानमन्त्री बनाएका कारण नेपाल पक्षलाई अप्ठ्यारो पर्ने दवाडीले बताए।
एमाले फुट्नुमा देशी, विदेशी शक्तिको चलखेल भएको दाबी गर्दै उनले त्यस्तो शक्तिले माधव नेपाललाई पात्र मात्र बनाएको उनले आरोप लगाए।
‘नेपालमा अनेक चलखेल गर्ने शक्ति छन्, त्यसले नेकपा एमालेलाई ध्वंस नगर्दासम्म तिनीहरूको सपना पूरा हुँदैन भनेर बुझे', दवाडीले भने, ‘त्यसका लागि उनीहरूले माधव नेपाल पात्र भेटाए।’
उनले यस्ता शक्ति को हुन् भनेर बताएनन्।
माधव नेपाल अर्को पार्टी खोलेर जाँदैमा समस्या समाधान भयो भन्ने भ्रम पाल्न नहुने दवाडीले बताए।
‘यो भन्दा ठूलो समस्या आउन सक्छ,’ उनले भने, ‘अरूलाई फेरि महत्वकांक्षा पलाउन सक्ला, नयाँ अन्तरविरोध जन्मिन सक्ला नि।’