राजीनामा दिएको एक महिना बितिसक्दा पनि प्रदेश नम्बर २ का निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री सरोज सिंह कुशवाहले सरकारी सेवा सुविधा लिइरहेका छन्।
उनले गत साउन २ गते राज्यमन्त्री पदबाट राजीनामा दिएका थिए। तर राज्यमन्त्री हुँदा पाएका सरकारी सवारीलगायत सेवा सुविधा उनले अझै छाडेका छैनन्।
उनले मन्त्री हुँदा लिएको सेवा सुविधा लिइरहेको मन्त्रालयले जानकारी दिएको छ। एउटा गाडी, मोटरसाइकललगायत सरकारी सवारी साधन अझै उनले फिर्ता गरेका छैनन्।
‘उहाँले राज्यमन्त्री हुँदा लिएका सरकारी सेवा सुविधा अझै फिर्ता गर्नुभएको छैन,’ कानुन मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले भने।
प्र-२-०२-००१ झ ००६२ नम्बरको गाडी, प्र-२-०२-००१ ब ३५२ नम्बरको मोटरसाइकल, १ थान एसि, ५ थान सिसिटिभी, १ सेट सोफा, कम्प्युटर, प्रिन्टर, ल्यापटप, टि-टेबल ३ थानलगायत सामग्री उनले फिर्ता गरेका छैनन्।
गाडी धुने मेसिन, भ्याकुम क्लिनर, मोबाइल, १३ थान कुर्सी, कम्प्युटर टेबलसमेत उनले मन्त्रालयलाई फिर्ता गरेका छैनन्।
राज्यमन्त्री हुँदा निजी सचिवालयका लागि मन्त्रालयले उपलब्ध गराएका उक्त सामाग्री फिर्ता गर्न पटकपटक अनुरोध गर्दा पनि उनले ती सामान नबुझाएका हुन्।
मन्त्रालयका उपसचिव अवधकिशोर कुशवाहले पटकपटक मौखिक रूपमा सामान फिर्ता गर्न आग्रह गर्दा पनि पूर्वराज्यमन्त्रीले सामानहरू फिर्ता नगरेको बताए।
तर पूर्वराज्यमन्त्री कुशवाह भने सामग्री फिर्ता लिन मन्त्रालयले अहिलेसम्म सम्पर्क नै नगरेको दाबी गरे।
‘सरकारले दिएको जे सामानहरु छन् ती सामान सचिवालयका कर्मचारीसँग सम्पर्क गरेर मन्त्रालयले फिर्ता लैजाओस्,’ उनले भने, ‘अहिलेसम्म सम्पर्क नै गरेका छैनन्।’