प्रदेश २ को प्रदेश सभामा नेकपा एमालेका बहुमत सांसद माधवकुमार नेपाल नेतृत्वको एमाले (समाजवादी) मा खुलेका छन्।
एमालेका सांसदहरूमध्ये १३ जना नेपाल पक्षमा खुलेको र ८ जनामात्रै एमालेमा रहेका देखिएका छन्।
शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ एमाले समाजवादीमा खुलेका हुन्।
बहुमत सांसदहरूले नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेसँगै उनीहरू सरकारमा पनि सहभागी हुने भएका छन्।
निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेपछि संघ र प्रदेश सरकारमा सहभागी हुन प्याकेजमै सहमति हुने तत्कालीन एमाले संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए।
‘आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेपछि २१ दिनभित्र दल रोज्ने प्रावधान छ। नेताहरूले दल रोजिसकेपछि केन्द्र र प्रदेश सरकारमा सहभागी हुन प्याकेजमै सहमति बन्छ,’ उनले भने।
प्रदेश २ मा हाल जनता समाजवादी (जसपा), नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार छ।
महन्थ ठाकुर पक्षीय मन्त्री तथा राज्यमन्त्रीलाई बर्खास्त गरी मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन यसअघि कायम रहेका ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा बनाएका थिए। जसमध्ये ४ वटा मन्त्रालयमा जसपा, ३ वटामा कांग्रेस र एउटामा माओवादीका मन्त्री छन् भने दुई वटा मन्त्रालय अहिले मुख्यमन्त्री राउतले नै राखेका छन्।
वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि र कानुन न्याय तथा प्रदेश सभा मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नो मातहत राखेका हुन्। यी दुबै मन्त्रालय दिएर एमाले समाजवादी पार्टीलाई सरकारमा ल्याउने मुख्यमन्त्री राउतको तयारी छ। साना मन्त्रालय लिएर एमाले समाजवादी सरकारमा सहभागी हुन नमाने जसपाको भागमा रहेको आर्थिक मामिला तथा योजना वा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय उसलाई दिन सक्ने जसपाका एक नेताले बताए।
‘त्यो दुबै मन्त्रालयले मानेनन् भने पहिलो कृषि मन्त्रालय र दोस्रोमा सम्भावना अर्थ मन्त्रालय दिनसक्ने स्थिति आउन सक्छ,’ ती नेताले भने।
यसअघि माओवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले जसपाबाट मन्त्री बनाइएका ज्ञानेन्द्रकुमार यादवलाई पदमुक्त गरेका थिए।
एमाले (समाजवादी) सरकारमा सहभागी भए दुई तिहाइ बहुमतले सभामुखलाई समेत हटाउने चर्चा सुरू भएको छ। तत्कालीन राजपाको कोटाबाट सभामुख चुनिएका सरोज यादवलाई हटाएर उपेन्द्र यादव पक्षलाई दिने चर्चा चुलिएको छ।