नेकपा एमालेको नवौं महाधिवेशनबाट जाजरकोट जिल्लाको अध्यक्ष बनेका करविर शाही माधवकुमार नेपाल पक्षका जिल्ला अध्यक्षमा गनिन्थे। उनीमात्र होइन, कर्णालीका १० जिल्लाका अध्यक्षमध्ये ७ अध्यक्ष तत्कालीन अवस्थामा नेपाल पक्षका थिए।
माओवादी र एमाले एक हुने क्रममा जिल्ला अध्यक्षमध्ये शाहीलगायतका केही अध्यक्ष सचिवको जिम्मेवारीमा झारिए। यसअघि ओली-नेपाल बीचको दूरी बढ्दै जाँदा नेपाल पक्षका भनिएका शाहीले ओली पक्षलाई साथ दिए।
माधव नेपालले अर्को पार्टी दर्ता गर्ने प्रक्रिया सुरू गरीसक्दा पनि उनी माधव पक्षमा गएका छैनन्। आफू एमालेमै भएको दाबी गरेका छन्।
‘उतिबेला यो वा त्यो पक्ष भन्ने समयमा नेपाल पक्षको भन्ने हो, केन्द्रमा पार्टी नै विभाजन हुँदा मेरो फरक केही धारणा बनेको छैन,’ कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाहीले भने, ‘उहिलेदेखि अहिलेसम्म म स्पष्ट रूपमा एमाले हो।’
एमालेको समूहगत विभाजन हुँदा कुन पक्षमा भनेर स्पष्ट निर्णय लिन नसकेका कर्णालीका एमाले नेताहरू पार्टी विभाजनपछि भने ओली पक्षको एमालेमै भएको दाबी गर्दै आएका छन्।
जाजरकोटका शाहीसँगै तत्कालीन अवस्थामा नेपाल समूहमा रहेका सुर्खेतका जिल्ला अध्यक्ष ध्रुवकुमार शाही, हुम्लाका अध्यक्ष दल रावल पनि एमालेमै छन्। शाही प्रतिनिधि सभा सदस्य हुन् भने रावल कर्णाली प्रदेश सभा सदस्य हुन्।
तत्कालीन अवस्थामा नेपाल पक्षमा गनिएका डोल्पाका एमाले जिल्ला अध्यक्ष दत्त रोकायाको मृत्यु भइसकेको छ।
कर्णालीका तत्कालीन अवस्थामा नेपाल समूहमा रहेकामध्ये केही जिल्लाका अध्यक्षहरू भने नेपालले दर्ता गरेको नेकपा एकीकृत समाजवादीमा खुलेर लागेका छन्।
समूहगत विभाजनका क्रममा निर्धक्क भएर नेपाल पक्षमा लागेका कर्णाली प्रदेश सभा सदस्यहरू पनि अहिले सोही पक्षमा छन्। प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा, कुर्मराज शाही, देवी ओली र चन्द्रबहादुर शाही समूहगत विभाजनका क्रममा नेपाल पक्षमै खुलेर लागेका थिए।
प्रकाश ज्वाला, देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीमा परेका छन्।
एमाले भित्रको समूहगत विभाजनका क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा ज्वाला, बुढा, थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए। उनीहरू सांसदबाट पदमुक्त भएका छन्।
फ्लोर क्रस गरेका कारण पदमुक्त भएका थापाले आफू नेपालले दर्ता गराएको पार्टीमा अडिग भएर लाग्ने बताए।
‘राजनीतिमा बारम्बार धारणा परिवर्तन हुँदैन, केही स्वार्थी मानिसले धारणा परिवर्तन गर्छन्,’ उनले भने, ‘म पहिले जता थिएँ, अहिले पनि त्यतै हो।’
फ्लोर क्रस गरेपछि थापा प्रदेशको भौतिक पूर्वाधार मन्त्री छन्। उनीसँग फ्लोर क्रस गरेका शाही कृषि र बुढा उद्योग मन्त्री छन्।
कर्णाली प्रदेश सभामा सदस्य रहेका एमालेका २० सांसदमध्ये तत्कालीन अवस्थामा ११ जना ओली पक्षमा थिए भने ९ जना नेपाल पक्षका थिए। पार्टीभित्र समूहगत विभाजन हुँदा तीमध्ये ३ जनाले नेपालको साथ छोडेर ओली पक्षमा गएका थिए।
पार्टी विभाजनपछि कर्णाली प्रदेश सभामा अब एमालेका १४ सांसद (सभामुखसहित) छन् भने नेकपा एकीकृत समाजवादीका २ जना (चारजना पदमुक्त भएपछि) छन्।
कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुखमध्ये ५९ जना एमालेबाट निर्वाचित छन्। तीमध्ये पनि ३० जना नेपाल समूहमा थिए।
तत्काल छलफलमा जाँदैनौं: ज्वाला
केन्द्रमा नेपालले नयाँ पार्टी दर्ता गरे पनि पार्टी रोज्ने, छोड्ने वा थपिने विषयमा कर्णालीमा तत्काल छलफल नहुने नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य प्रकाश ज्वालाले बताए।
‘अहिले पाटी दर्ताकै प्रक्रियामा छ, त्यो हुनाले हामीले यता यससम्बन्धी गतिविधि गरेका छैनौं,’ उनले भने, ‘पार्टी दर्ता भएपछि एक खालको छलफलको सुरूआत हुन्छ।’
ज्वालाले कर्णालीमा समाजवादीको पक्षमा एमाले नेताहरू उभिने दाबीसमेत गरेका छन्।