प्रदेश २ सरकारले भित्ते पत्रिकासम्बन्धी चार वटा गोष्ठीमा झण्डै ४८ लाख रूपैयाँ खर्च गरेको खुलेको छ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेशका विभिन्न होटलमा विद्यार्थी, पत्रकार तथा राजनीतिक दलका कार्यकर्तालाई दिएको तालिममा यतिधेरै रकम खर्चिएको हो।
आर्थिक वर्ष २०७७/०७८ मा भित्ते पत्रिकासम्बन्धी तालिमका लागि मन्त्रालयले ८० लाख रूपैयाँ विनियोजन गरेको थियो। जसमध्ये ४७ लाख ७८ हजार ३ सय ६१ रूपैयाँ खर्च भएको मन्त्रालयले उपलब्ध गराएको खर्च विवरणमा उल्लेख छ।
मन्त्रालयका उपसचिव अवधकिशोर कुशवाहाका अनुसार एउटा होटलमा आयोजना गरिएको गोष्ठीमा दुई जिल्लाबाट २५/२५ जनालाई सहभागी गराइएको थियो।
बाराको निजगढमा आयोजित गोष्ठीमा पर्सा र रौतहट, रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा बारा र सर्लाही, महोत्तरीको बर्दिवासमा धनुषा र सप्तरी र धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित हारसरमा आयोजित गोष्ठीमा सिरहा र महोत्तरीका विद्यार्थी, पत्रकार तथा राजनीतिक दलका कार्यकर्तालाई सहभागी गराइएको थियो।
मन्त्रालयका एक कर्मचारीका अनुसार भत्ता र आवासमा मोटो रकम खर्चिनका लागि जुन जिल्लामा कार्यक्रम गरियो, त्यस जिल्लाका सहभागीलाई भने अर्कै जिल्लाको कार्यक्रममा बोलाइयो।
मन्त्रालयका उपसचिव कुशवाहाका अनुसार एउटा गोष्ठीमा ५ दिने आवासीय सेसन चलाइएको थियो।
पत्रकार तथा प्रशिक्षकहरूले उक्त गोष्ठीमा प्रशिक्षण दिएको उनले बताए। तर गोष्ठीमा सहभागी एक पत्रकारका अनुसार एउटा गोष्ठीमा ३०/३५ जनामात्र सहभागी भएका थिए।
‘स्कुल लेभललाई त्यो तालिम दिने हो। तर स्कुल बन्द भएकाले युवाहरूलाई तालिम दिइयो,’ हारसरको गोष्ठीमा सहभागी भएका ती पत्रकारले भने, ‘कार्यक्रममा अधिकांश समाजवादी पार्टीका निकट रहेका युवालाई खोजिएको थियो। कतिपयले पत्रकारको कार्ड बन्छ भनेर आएको भन्थे।’
५ दिनसम्म सहभागी भएकाहरूलाई बास र खाजा, खानासँगै एक हजार रूपैयाँ भत्ता दिइएको थियो।
प्रदेश सरकारले पत्रकार महासंघलाई कार्यक्रमबारे जानकारी नगराई भित्ते पत्रिका गोष्ठीको नाउमा बितण्डा मच्चाएको प्रदेश २ पत्रकार महासंघका महासचिव श्याम बन्जाराले गुनासो पोखे।
‘चार वटा कार्यक्रममात्र गरेर सरकारले यतिधेरै ब्रह्मलुट मच्चाएको कुराको हामी घोर निन्दा गर्दछौं,’ उनले भने,‘यसलाई अविलम्ब पारदर्शी गरी पत्रकारिताको माध्यमबाट जीवनयापन गर्ने वास्तविक पत्रकारलाई सहभागी गराई पुनः तालिम सञ्चालन गर्न आग्रह गर्दछु।’
तालिम आयोजना गर्दा पत्रकार महासंघसँग आवश्यक परामर्श र सहभागिता गराउनुपर्ने उनको भनाइ छ।
‘महासंघको प्रतिनिधित्वको अभावमा गरिएको तालिमको कुनै अर्थ छैन। कोरोना महामारीको समयमा कागजी प्रक्रिया पूरा गरी नक्कली हस्ताक्षर गरेर महामारीको बीचमा कार्यक्रम गरियो,’ महासचिव बञ्जाराले थपे।
भित्ते पत्रिका तालिमका लागि त्यतिधेरै रकम खर्च गर्नु उपयुक्त नरहेको संचारविज्ञ लक्ष्मण पन्त बताउँछन्।
‘भित्ते पत्रिका स्कुल कलेजको कोर्षमा पनि सिकिहाल्छन्। पत्रकारकै क्षमता अभिवृद्धिमा खर्च गर्न मिडियाको ल्याण्डस्केप रिसर्च गरे भए हुन्थ्यो,’ उनले भने, ‘ज्ञान बाँड्ने काम गर्नुहुँदैन भन्न मिलेन तर सान्दर्भिकता हो कि होइन त्यो महत्वपुर्ण हो। प्लानिङ बिना गरेका काम राम्रो होइन।’
तालिममा विद्यार्थीहरू मात्र सहभागी भएको दाबी गर्दै मन्त्रालयका उपसचिव कुशवाहाले भित्ते पत्रिकासम्बन्धी तालिम पारदर्शी हिसाबले आर्थिक मितव्ययीता अपनाएरै गरिएको दाबी गरे।
कार्यक्रम कति प्रभावकारी र खर्च अनुसार औचित्यपूर्ण रहेको सन्दर्भमा मन्त्रालयका सचिव वीरेन्द्र यादवले केही बोल्न चाहेनन्।