मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा दुई जना मन्त्रीको कार्यभार हेरफेर गरेका छन्। मुख्यमन्त्री राउतले अर्थमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी आइतबार हेरफेर गरेका हुन्।
राउतले यसअघि अर्थमन्त्री रहेका विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी र भूमि व्यवस्थामन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन्।
यद्यपी जिम्मेवारी हेरफेरको कारण भने नखुलाइए पनि मुख्यमन्त्रीको क्षेत्रधिकारभित्र पर्ने भएकाले हेरफेर गरिएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।
‘मन्त्रालयको हेरफेर गर्ने क्षेत्राधिकार मुख्यमन्त्रीकै भएकाले उहाँले स्वेच्छाले हेरफेर गर्नुभएको हो’, मन्त्री शैलेन्द्र साहले भने,‘त्यस्तो कुनै खास कारण छैन।’
एकै पार्टीका भए पनि मुख्यमन्त्री राउत र अर्थमन्त्री रहेका यादवबीच खटपट हुँदै आइरहेको थियो। प्रदेश २ का अध्यक्षसमेत रहेका यादव संसदीय दलको नेता र मुख्य मन्त्री बन्ने चाहना राख्दै आएका छन्।
प्रदेश २ मा हाल जनता समाजवादी (जसपा), नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार छ।
महन्थ ठाकुर पक्षीय मन्त्री तथा राज्यमन्त्रीलाई बर्खास्त गरी मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन यसअघि कायम रहेका ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा बनाएका थिए। जसमध्ये ४ वटा मन्त्रालयमा जसपा, ३ वटामा कांग्रेस र एउटामा माओवादीका मन्त्री छन् भने दुई वटा मन्त्रालय अहिले मुख्यमन्त्री राउतले नै राखेका छन्।
वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि र कानुन न्याय तथा प्रदेश सभा मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नो मातहत राखेका हुन्।
एमाले समाजवादी पार्टीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले तयारी गरेको स्रोतले जानकारी दिएको छ। साना मन्त्रालय लिएर एमाले समाजवादी सरकारमा सहभागी हुन नमानेफछी जसपाको भागमा रहेको आर्थिक मामिला तथा योजना वा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय उसलाई दिन सक्ने जसपाका एक नेताले बताए।
यसअघि माओवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले जसपाबाट मन्त्री बनाइएका ज्ञानेन्द्रकुमार यादवलाई पदमुक्त गरेका थिए।