प्रदेश-१ मा नेकपा एमाले छोडेर ८ जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका छन्।
विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा ८ जना सदस्य आइसकेका र २ जना बाटोमा आउँदै गरेको बताइएको छ।
उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई आउँदै गरेका छन् भने अन्य ८ जना आयोग पुगिसकेका छन्।
आयोग पुग्नेमा राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, पदमकुमारी गुरुङ र सुनिताकुमारी चौधरी छन्।
यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन्। ९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन्।
सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित ५१ सांसद थिए। तीमध्ये एक जना सांसद फौजदारी अभियोगमा सजाय पाएकी छन् र उनी अहिले फरार सूचीमा छन्। १० सांसदले एमाले त्यागे मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना सांसदमात्र रहन्छन्।
विपक्षी गठबन्धनमा भने अहिले नै कांग्रेसका २१, माओवादीका १५, जसपा ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्।