नेकपा एमाले स्थायी कमिटी सदस्य विष्णु रिमालले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउँदा समस्या आउनसक्ने बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै स्थायी कमिटी सदस्य रिमालले २०७५ जेठ २ यता फरक फरक ढंगले कमिटी सञ्चालनमा आएकाले त्यसलाई समायोजन गर्दा केही जटिलता देखिनु स्वभाविक रहेको बताए।
‘२०७५ जेठ २ देखि एउटा र पुस ५ पछि अर्को ढंगले कमिटी बनेका छन्। २०७७ फागुन २८ पछि अर्को ढंगले बनेको छ। जेठ २ मा फर्किँदा यी सबै साथीलाई यथोचित भूमिका दिनुपर्छ,’ उनले भने, ‘हामीले रचनात्मक शब्द प्रयोग गरेको त्यहीँ भएर हो। पार्टी एकता गर्दा विभिन्न जिल्लामा तत्कालिन माओवादी र एमालेबाट आएका अध्यक्ष र सचिव मिलाएका थियौं। पार्टी विभाजन भएर प्रचण्ड बाहिरिनुभयो। माओवादी धारबाट आएका साथीहरू जो जिल्लामा अध्यक्ष सचिव छन्। उनीहरुको हकमा के गर्ने भन्ने हो।’
माओवादी धारबाट आएकाहरू कतिपय जिल्लामा अध्यक्ष र सचिव भएकाले उनीहरुको हकमा बहस हुनसक्ने उनको भनाई छ।
माधव नेपालले पार्टी छोडेपछि नेपालसँगै गएकाहरू कुनै जिल्लाको नेतृत्वमा भएको भए त्यसमा समस्या नहुने उनले बताए। तलका धेरै समस्या तलनै हल हुने उनको दावी छ।
‘२०७५ जेठ २ लाई जस्ताको तस्तै कार्यान्वयन गर्नै मिल्दैन। कोही मान्छे पार्टीमै छैन भने के गर्ने। कोही माथिल्लो तहमा छन्। मुलतः जेठ २ मा फर्किन्छौं भनेको यसकै लागि भनेको हो,’ उनले भने, ‘केही जिल्ला र प्रदेश कमिटिमा समस्या आउँछ होला। जनसंगठनमा कुनै समस्या आउँदैन। समस्या आएमा ६ नेताको कार्यदलले त्यसको समाधान गर्छ।’
उनले अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित गर्ने प्रस्ताव अब बस्ने पार्टीको बैठकले परिवर्तन गर्नसक्ने बताए।
‘यो जस्ताको तस्तै हुन्छ भन्ने होइन। चुनाव लड्नु लोकतान्त्रिक हो। तर प्यानल बनाएर लड्दा स्थायी गुटबन्दी भयो। हामी स्थायी गुटबन्दीलाई कसरी अन्त्य गर्ने भनेर छलफल गर्दैछौ,’ उनले भने, ‘तलबाट आएको सुझावको आधारमा केन्द्रीय कमिटिमा छलफल हुन्छ। त्यसपछि जाने प्रस्तावलाई विधान महाधिवेशनले पुरै परिवर्तन गरि पारित गर्नसक्छ।’
हेर्नुहोस् भिडिओ