तनहुँकी एलिजा ढकाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन भएकी छन्।
भानु नगरपालिका वडा नम्बर ४ बाट ढकाल क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएकी हुन्।
ढकाल नेविसंघको राजनीति गर्छिन्। यसअगाडि नेविसंघ केन्द्रीय समिति सदस्य रहेकी उनको कार्यकाल सकिएको दुई वर्ष भइसक्यो।
नेविसंघको महाधिवेशन अन्यौलमा परेका बेला ढकाल पार्टी राजनीतितर्फ मोडिएकी हुन्।
कांग्रेसमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि पालिकाको मतदाता हुन्छन्।
ढकाल केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि आउने हो भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चुनिएर आउनुपर्छ।
अहिले उनी त्यसकै तयारीमा छिन् तर आकांक्षी धेरै हुँदा महाधिवेशन प्रतिनिधि आउन भने सहज छैन।
आफू राजनीतिमा उत्साहपूर्ण तवरले लागिरहेको ढकालले बताइन्।
‘राजनीतिमा युवा महिलाहरूको बढ्दो आकर्षण छ। सहभागीतामूलक प्रतिनिधित्वका कारण पनि महिलाहरूलाई अवसर छ,’ उनले भनिन्।
महिलाहरूमा विकसित भइरहेको आत्मविश्वासले पनि वडादेखि नै पार्टी नेतृत्व लिन उत्साहित देखिएको छ।
‘वडा, क्षेत्रमा मात्र होइन यसपटक धेरै महिलाहरू महाधिवेशन प्रतिनिधि आउन इच्छुक छन्, तयारी गर्दैछन्,’ ढकालले भनिन्, ‘महिलाहरू आफ्ना नेता आफैं चुन्न चाहन्छन् जसले उनीहरूलाई महाधिवेशन प्रतिनिधि लड्न प्रोत्साहन गरिरहेको छ।’
गोरखाकी जानुका पन्त पनि नेविसंघसँगै पार्टी राजनीतिमा सक्रिय छिन्। गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलबाट क्षेत्रीय प्रतिनिधि चयन भएकी पन्त अब महाधिवेशन प्रतिनिधि हुने तयारीमा जुटेकी छिन्।
उनी पाँच वर्षअगाडि पनि महाधिवेशन प्रतिनिधि थिइन्। २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि पन्त महाधिवेशन प्रतिनिधि थिइन्।
उनकाअनुसार यसपटक वडा तहमा युवाहरूको बाहुल्यता छ।
‘मभन्दा जुनियर भाइबहिनी वडा कार्यसमितिमा आउनुभएको छ, क्षेत्रीय प्रतिनिधि हुनुभएको छ,’ पन्तले सेतोपाटीसँग भनिन्, ‘७५ प्रतिशत युवा-युवतीहरू समेटिएको कार्यसमिति बनेको छ।’
यसैपालि क्रियाशील सदस्यता लिएकाहरू पनि वडाको नेतृत्वमा प्रवेश गरेका छन्। वडा सभापति, कार्यसमिति सदस्यहरू र क्षेत्रीय प्रतिनिधि हुन क्रियाशील लिएको समयअवधि यसपटक तोकिएको थिएन। यसअघि क्रियाशील सदस्य बनेको एक वर्ष पूरा भएकाहरूले मात्रै अधिवेशनमा उम्मेदवार हुन पाउँथे।
उम्मेदवार हुन क्रियाशीलको पावन्दी नलाग्ने भएकाले यसपालि वडा तहमै युवाहरू कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन्।
यसअगाडि नेतृत्वमा रहेका नेतालाई सम्मान गर्दै वडा अधिवेशनबाटै युवाहरू कांग्रेसको नेतृत्व लिन तम्सिएका छन्।
‘जोश, जाँगर भएका युवाहरू नेतृत्वमा पुगेका छन्। उनीहरूले गाउँमा अरूलाई हौसला पनि दिएको मैले अनुभव गरें,’ पन्तले भनिन्, ‘गुटमा भन्दा काममा विश्वास गर्नेहरू वडाको नेतृत्वमा छन्।’
कांग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार चार सय २७ जना क्रियाशील सदस्य छन् भने २६ देखि ४० वर्षसम्मका दुई लाख ४९ हजार ७ सय ७४ जना छन्।
केन्द्रमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गुट गत महाधिवेशनदेखि नै छ। तर यो गुटको छाया वडा तहमा नदेखिएको पन्त बताउँछिन्।
‘युवा क्रियाशील सदस्यहरूले क-कसले राम्रा काम गरेका छन् त्यो हेर्दै क्षेत्रीय प्रतिनिधि पठाउन सहयोग गरेको पाइयो,’ उनले भनिन्, ‘गुटमा उनीहरू विश्वास राख्दैनन्, जुनसुकै गुटको भए पनि काम राम्रो गरेको छ कि छैन सोधिखोजी गरेर निर्णय गर्दा रहेछन्।’
यसमध्ये पनि महिलाहरू वडा तहबाटै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्।
‘पहिलेको महाधिवेशनमा महिला प्रतिनिधि कम हुन्थ्ये। हामी एक/दुई जना मात्रै हुन्थ्यौं,’ उनले भनिन्, ‘विधानले पनि महिला प्रतिनिधित्व सुनिश्चित गरिदिएको भएर हुनुपर्छ, खुला र समावेशी दुबैतर्फ महिलाको आकर्षण देखिन्छ।’ उनी खुलाबाटै क्षेत्रीय प्रतिनिधि बनेकी हुन्।
स्याङ्जाकी दीलिपाश्री अधिकारी यसपटक पनि क्षेत्रीय प्रतिनिधि चयन भएकी छन्। कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य उनी विस्तारै पार्टी राजनीतितर्फ अगाडि बढ्दैछिन्।
उनी पनि महाधिवेशन प्रतिनिधि आउने तयारीमा छिन्।
कांग्रेसले संघीय ढाँचाअनुसार विधान बनाएको छ। संघीय विधान कार्यान्वयन गर्न पहिलो पटक महाधिवेशन हुँदैछ। यो विधानले केन्द्रीय पदाधिकारीदेखि वडा तहसम्म समावेशीतालाई स्थान दिएको छ।
महिला, दलित, आदिवासी/जनजाति, मधेशी, मुस्लिम, खसआर्य, थारू र पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीदेखि वडाबाट कार्यसमिति र क्षेत्रीय प्रतिनिधि लगायतमा पनि प्रतिनिधित्व सुनिश्चित गरिएका छन्।
अहिलेको महाधिवेशनबाट धेरै महिलाहरूले राजनीतिमा आउने अवसर पाउने अधिकारी बताउँछिन्।
‘संघीयतालाई अबलम्बन गर्दै सबै तहमा महिलाको कोटा सुरक्षित छ, यो महाधिवेशनबाट पनि धेरै महिलाले थप अवसर पाउनु हुनेछ,’ उनले भनिन्।
यसपटक महाधिवेशन प्रतिनिधि संख्या पहिलेभन्दा बढ्नु र त्यसमा झन् महिलाका लागि अनिवार्य कोटा तोकिनुले राजनीतिमा लाग्न मन हुनेलाई हौसला मिलेको उनी बताउँछिन्।
‘विधानमा नै महाधिवेशन प्रतिनिधिको संख्या बढाइएको कारण झन् युवा महिलाका लागि यो एउटा अवसर नै हो,’ अधिकारीले भनिन्, ‘परम्परागत ढाँचा र नयाँ विचार प्रवाहसहित पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन युवाले हस्तक्षेपकारी भूमिका खेल्नुपर्दछ।’
अधिकारी पार्टीमा लामो समयदेखि काम र संगठनमा दु:ख गरेकाहरूलाई पनि नयाँ पुस्ताले सम्मान दिनुपर्ने बताउँछिन्।
पार्टी राजनीतिमा लागेपछि स्थानीय तहदेखि प्रदेश र केन्द्रीय निर्वाचनमा लड्न टिकट लिन सजिलो हुने भएकोले पनि यसपटक अधिवेशनमा धेरै युवा सक्रिय रूपमा लागेका छन्।
अर्कोतर्फ यसपटक ८ लाख ८२ जनाभन्दा धेरैलाई कांग्रेसले क्रियाशील सदस्यता दिएको छ। यसका साथै विदेशमा रहेका ४८ हजार नेपालीहरू पनि कांग्रेस क्रियाशील सदस्य छन्।
उनीहरू विदेशस्थित जनसम्पर्क समितिमा सक्रिय छन्। कांग्रेसको विधानले नेपाली नागरिकता भएका र कामका सिलसिलामा विदेश रहनेलाई पार्टीमा साधारण र क्रियाशील सदस्य दिने व्यवस्था गरेको छ।
कांग्रेसमा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा जम्मा चार लाख ८० हजार हाराहारी क्रियाशील सदस्य थिए। अहिले यसको दोब्बर संख्यामा क्रियाशील थप गर्दा महिलाको संख्या पनि बढेको छ।
१३ औं कार्यसमितिका आठ जना पदाधिकारीमध्ये कोषाध्यक्ष मात्रै महिला थिइन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट चुनाव लडेकी सीतादेवी यादव कोषाध्यक्ष निर्वाचित भएकी थिइन्। यसपटक भने कोषाध्यक्ष मनोनित छ।
कांग्रेसको अहिलेको कार्यसमितिमा खसआर्य र पुरुषको बाहुल्यता छ। आमन्त्रितसहित केन्द्रीय समितिका कूल एक सय २५ मा २० जनामात्रै महिला छन्। ३३ प्रतिशत महिला सहभागिता गराउँदा ४१ जना महिला केन्द्रीय समितिमा हुनुपर्नेमा त्यसको आधा मात्रै छन्। यतिमात्र होइन, समावेशीतर्फ दलित, आदिवासी जनजातिको संख्या पनि कम छ।
नेपाल महिला संघलगायतले दुई उपसभापतिमध्ये एक महिला हुनुपर्ने पनि माग गरेका थिए। तर अहिलेको विधानअनुसार सहमहामन्त्री पदमा एक महिला रहने व्यवस्था छ, त्यो कोटामा पनि निर्वाचनबाट महिलाहरू आउनुपर्छ। त्यसका लागि १० वर्ष निरन्तर कांग्रेस क्रियाशील सदस्य भएको हुनुपर्छ।
मंसिरमा कांग्रेसको १४ औं महाधिवेशनबाट १४ पदाधिकारीसहित एक सय ६८ जना केन्द्रीय सदस्य चयन हुन्छन्।
केन्द्रीय सदस्यमा प्रत्यक्ष निर्वाचित हुने ३५ सदस्य हुन्छन्। उनीहरू १० वर्ष निरन्तर कांग्रेसमा सक्रिय रहेको हुनुपर्नेछ भने महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्यको उम्मेदवार हुन पाउँछन्।
महिला महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष निर्वाचित हुने ९ केन्द्रीय सदस्य हुन्छन्। प्रत्येक प्रदेशका महाधिवेशन प्रतिनिधिबाट एक जना महिलासहित तीन जना प्रत्यक्ष निर्वाचित कूल २१ जना केन्द्रीय सदस्य हुन्छन्।
यस्तै दलितबाट ४ महिलासहित ९, आदिवासी जनजातिबाट सात महिलासहित १५, खसआर्यबाट छ महिलासहित १३, मधेशी महाधिवेशन प्रतिनिधिबाट चार महिलासहित ९, थारू महाधिवेशन प्रतिनिधिबाट दुई महिलासहित चार, मुश्लिमबाट एक महिलासहित ३, पिछडिएको क्षेत्रबाट एक जनासहित ५४ जना केन्द्रीय सदस्य हुन्छन्।
साथै अल्पसंख्यक महाधिवेशन प्रतिनिधिबाट एक र अपांगता भएका प्रतिनिधिबाट एक जना गरी दुई जना केन्द्रीय सदस्य हुन्छन्।
निर्वाचित केन्द्रीय सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने विधानले अधिकार पनि दिएको छ। यसरी मनोनित गर्दा ती सदस्यहरू भने महिला, समावेशी सिद्धान्त, अपांगता भएका, अल्पसंख्यक वा पिछडिएको क्षेत्रको हुनुपर्नेछ।
यसपटक ३३ प्रतिशत महिला सहभागिता गराउँदा कांग्रेस केन्द्रीय समितिमा ५५ जना महिला केन्द्रीय सदस्य हुन्छन्।
महाधिवेशनमा कति आउँछन् महिला प्रतिनिधि?
कांग्रेस महाधिवेशनका मतदाता एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्यहरू, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि र विदेशस्थित जनसम्पर्क समितिबाट आएका प्रतिनिधिहरू हुन्।
प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट एक जिल्ला सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि आउँछन्। तीमध्ये चार जना महिलासहित १४ जना प्रत्यक्ष र समावेशी क्षेत्रबाट १० र बाँकी जनसंख्या बनोटअनुसार समानुपातिक आधारमा प्रतिनिधि गरी २५ जना जानेछन्।
चार जना प्रत्यक्ष निर्वाचित महिला र एक समावेशीसहित कम्तिमा एक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ५ जना महिला महाधिवेशन प्रतिनिधि हुनेछन्। यसअनुसार आठ सय २५ जना महिला महाधिवेशन प्रतिनिधि १४ औं महाधिवेशनमा प्रतिनिधि सभा क्षेत्रबाट नै आउँछन्।
योबाहेक अहिले केन्द्रीय समितिमा रहेका २० जना महिला, विदेशस्थित जनसम्पर्क समितिबाट आउने र भातृ तथा शुभेच्छुक संघसंस्थाबाट पनि थोरै संख्यामा महिला महाधिवेशन प्रतिनिधि आउनेछन्।
कांग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील सदस्य छन् भने महिला क्रियाशील सदस्यको संख्या एक लाख ९९ हजार ९७ मात्रै छ। अन्यतर्फ भने १७६ जना छन्। यो संख्या विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील बाहेकको हो।