अहिले नेपाली कांग्रेसले वडा अधिवेशन गरिरहेको छ। भदौ १८ गतेदेखि वडा अधिवेशन सुरू भएको थियो। ५६ जिल्लामा वडा अधिवेशन भए पनि बाँकी २१ जिल्लामा अधिवेशन गर्न क्रियाशील सदस्यको नाम नै सार्वजनिक भएको छैन।
अधिकांश वडामा सर्वसम्मत तवरले नेतृत्व चयन भएका छन्। यसपटक करिब तीन लाख क्रियाशील सदस्य युवा रहेकोले पनि वडाको नेतृत्वमा युवाहरू पनि पुगेका छन्।
वडा अधिवेशन गरेको कांग्रेसले केन्द्रीय अधिवेशनसम्म पुग्न आठ तहको अधिवेशन गर्नुपर्ने हुन्छ। वडाभन्दा तल्लो टोल कार्यसमिति छ।
टोल, गाउँ/नगरका वडा, पालिका (गाउँ/नगर), प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा निर्वाचनमार्फत् नयाँ कार्यसमिति बन्छन्।
सबैभन्दा तल्लो तह टोल कार्यसमिति कांग्रेसले सकेसम्म सहमतिमै बनाउने भनेको छ। टोल कार्यसमिति चयन गर्न केन्द्रबाटै निर्वाचन अधिकृत खटाइएको भने छैन। वडाले आवश्यकता अनुसार क्रियाशील सदस्य र साधारण मध्येबाट नेतृत्व हुने गरी टोल-टोलमा कार्यसमिति बनाएका छन्।
टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव र कोषाध्यक्ष तथा सहसचिवसहित बढीमा १५ जनाको कार्यसमिति रहन्छ।
कांग्रेसले सबै तहमा कोषाध्यक्षबाहेक पदहरूमा सर्वसम्मत नभए प्रत्यक्ष निर्वाचनबाट चुन्ने विधान बनाएको छ।
यसपालि कांग्रेसमा करिब ९ लाख क्रियाशील सदस्य छन्। २०७२ सालमा भएको १३ औं महाधिवेशनमा जम्मा चार लाख ८० हजार मात्रै क्रियाशील सदस्य थिए। यसपटक क्रियाशील संख्या दोब्बरले बढेको छ।
क्रियाशील सदस्यहरू नै वडा तहका मतदाता हुन्। उनीहरूमध्येबाट वडा सभापतिदेखि कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि चयन हुन्छन्। क्रियाशील सदस्यहरू पालिका प्रमुख र क्षेत्रीय सभापतिबाहेक पदाधिकारी, सदस्य र प्रतिनिधिका लागि पनि योग्य हुन्छन्। कांग्रेसले विधानमा रहेको क्रियाशील लिएको अवधि निलम्बन गर्दा यसैपालि क्रियाशील लिएकाहरू पनि वडादेखि क्षेत्रीय प्रतिनिधि चुनिन पाइरहेका छन्।
वडाबाट जनसंख्याको बनोटअनुसार १६ जनाको हाराहारीमा क्षेत्रीय प्रतिनिधिहरू चयन भइरहेका छन्। एक सय ५० जनाभन्दा धेरै क्रियाशील भएको वडाबाट जनसंख्याको बनोटअनुसार क्षेत्रीय प्रतिनिधि पनि बढ्छन्।
तिनै क्षेत्रीय प्रतिनिधिहरू पालिका (गाउँ/नगर) को कार्यसमिति चुन्ने मतदाता हुन्। सम्बन्धित पालिका भित्रका वडा सभापतिहरू पनि पालिका अधिवेशनका मतदाता हुन्। यस्तै उनीहरू मध्येबाटै पालिकामा कार्यसमिति बन्नेदेखि प्रतिनिधि पठाउने काम पनि हुने व्यवस्था छ। यही भदौ २७ मा गाउँ/नगर कार्यसमितिका लागि अधिवेशन हुने कांग्रेसले बनाएको कार्यतालिकामा उल्लेख छ।
गाउँ/नगरमा पनि एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिवका लागि निर्वाचन हुन्छ। एक कोषाध्यक्ष मनोनित हो। सदस्यहरू पनि प्रत्यक्ष र समावेशी तर्फबाट रहने व्यवस्था विधानले सुनिश्चित गरिदिएको छ।
यस्तै असोज १ गते कांग्रेसले प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने बताएको छ।
प्रदेश सभा क्षेत्रभित्रका गाउँ/नगर/उपमहानगर/महानगरका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा क्षेत्र भित्रका पालिकाका कार्यसमिति सभापति र वडा सभापति, सो क्षेत्रका केन्द्रीय कार्यसमितिका वर्तमान र पूर्वपदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदश सभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय प्रतिनिधि हुने विधानमा व्यवस्था छ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले सभापति, दुई उपसभापति, दुई सचिव, दुई उपसचिव प्रत्यक्ष निर्वाचनबाट र एक कोषाध्यक्ष मनोनित तथा सदस्यहरू सहितको कार्यसमिति बनाउनेछ भने प्रदेश अधिवेशनका लागि प्रतिनिधि पनि तोक्नेछ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा ३ महिलासहित १० जना प्रत्यक्ष र समावेशीबाट छ गरी कूल १६ जना प्रतिनिधि प्रदेश अधिवेशनका लागि पठाउनेछन्। प्रदेश सभा क्षेत्रीय सभापति प्रदेश अधिवेशनको प्रतिनिधि हुने व्यवस्था विधानमा छ। देशमा ३३० वटा प्रदेश सभा क्षेत्र छन्।
कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति पनि बनाउँछ। यसका लागि असोज ५ का लागि अधिवेशन गर्ने समय तोकिएको छ। देशमा १६५ वटा प्रतिनिधि सभा क्षेत्र छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन्। एक प्रतिनिधि सभा क्षेत्रभित्र दुई प्रदेश सभा क्षेत्र हुन्छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका लागि एक प्रदेश सभा क्षेत्रबाट कम्तीमा १६ जना प्रतिनिधि आउँछन्।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका लागि सो क्षेत्रमा रहेका पार्टीका केन्द्रीय कार्यसमितिका वर्तमान र पूर्व पदाधिकारी तथा सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य, उम्मेदवार, प्रदेश सभा सदस्य, उम्मेदवार एक अवधिका लागि मतदाता हुन्छन्। साथै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापति पनि पदेन सदस्य रहन्छ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा एक सभापति, दुई सचिव र दुई सहसचिव हुन्छन्। कोषाध्यक्ष मनोनित हो। यसमा दुई उपसभापति भने प्रतिनिधि सभा क्षेत्रभित्र रहेका दुई प्रदेश सभा क्षेत्रका सभापतिहरू उपसभापति रहने व्यवस्था छ। चार जना महिला प्रत्यक्ष निर्वाचितसहित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति समावेशी बन्ने विधानको व्यवस्था छ।
आफूमध्येबाट प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले चार जना महिलासहित १४ जना प्रत्यक्ष र समावेशी गरी २५ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशनका पनि मतदाता हुन्छन्। प्रदेश अधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भए क्षेत्रीय प्रतिनिधि स्वत: हट्नेछ।
कांग्रेसमा विधि विधान बनाउने जिम्मा महासमिति सदस्यलाई छ।
महासमिति सदस्यका लागि कांग्रेसले निर्वाचन गर्छ। प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिला सहित ७ जना प्रत्यक्ष र समावेशी चार गरी जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित गर्ने व्यवस्था छ।
साथै कांग्रेसले ७७ जिल्लामा जिल्ला सभापतिसहित कार्यसमिति पनि बनाउने व्यवस्था गरेको छ। एक मात्र निर्वाच क्षेत्र भएकोमा असोज ५ र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा असोज १० मा जिल्ला अधिवेशन हुनेछ।
जिल्लाका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका सदस्यहरू नै जिल्ला अधिवेशनका मतदाता हुन्। सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचित हुनेछ भने कोषाध्यक्ष मनोनित हो।
सदस्यहरूमा गाउँपालिकाबाट एक महिलासहित २, नगरपालिकाबाट एक महिलासहित ३, उपमहानगरबाट दुई महिलासहित ५ र महानगरबाट ३ महिलासहित सात जना सदस्यहरू प्रत्यक्ष निर्वाचितबाट जिल्ला कार्यसमिति सदस्य हुनेछन्। समावेशीतर्फबाट पनि सदस्यहरू चयन हुने विधानको व्यवस्था छ।
जिल्ला सभापति निर्वाचित हुन खसेको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ भने निरन्तर १० वर्ष क्रियाशील सदस्य मात्रै जिल्ला सभापति उम्मेदवार हुन योग्य हुने विधानको व्यवस्था छ।
कांग्रेसले कात्तिक १० देखि १२ गतेसम्म सातै प्रदेशमा प्रदेश अधिवेशन गर्ने भनेको छ। कांग्रेसमा पहिलोपटक प्रदेश संरचनामा अधिवेशन हुन लागेको हो।
प्रदेश अधिवेशनका मतदाता प्रदेश सभा निर्वाचन क्षेत्रबाट आएका प्रदेश अधिवेशन प्रतिनिधि र प्रतिनिधि सभा क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधि हुन्।
यसका साथै सम्बन्धित प्रदेश भित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, केन्द्रीय कार्यसमिति सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका सदस्य हुन्छन्।
प्रदेश भित्र रहेका जिल्ला कार्यसमिति सभापति, प्रदेशका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख पनि मतदाता हुन्।
१५ वर्ष कांग्रेस क्रियाशील सदस्य भएको व्यक्ति प्रदेश सभापतिको उम्मेदवार हुन पाउँछ। प्रदेशमा सभापति हुन पनि खसेको मतमध्ये ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। पहिलो पटकमा कसैले ५० प्रतिशतभन्दा बढी मत नल्याए दोस्रो चरणमा निर्वाचन हुने र जसले बढी मत ल्याउँछ उही उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ।
उपसभापति दुई, महामन्त्री दुई र एक महिलासहित सहमहामन्त्री तीन जना पनि निर्वाचनबाट आउनेछन् भने कोषाध्यक्ष मनोनित हो। कम्तीमा एक महिला हुने गरी प्रदेश भित्रका जिल्लाबाट दुई जनाका दरले प्रत्यक्ष निर्वाचित सदस्य पनि कार्यसमितिमा रहन्छन्। समावेशी र जनसंख्याको बनोटअनुसार कार्यसमिति सदस्य थपघट हुनेछ। कूल संख्याको २० प्रतिशत सदस्य समावेशी हुने गरी सभापतिले मनोनित गर्न पाउँछन्।
कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि ३ गतेसम्म काठमाडौंमा हुनेछ। महाधिवेशनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृह बुकिङ गरिसकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
कोषाध्यक्षबाहेक सबै पदमा प्रत्यक्ष निर्वाचनबाट आउनेछन्। यसपटक दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री तथा १६८ मध्ये १३५ जना केन्द्रीय सदस्यलाई निर्वाचन हुनेछ। ३३ जना केन्द्रीय सदस्य भने समावेशीअनुसार सभापतिले मनोनित गर्नेछन्।
केन्द्रीय कार्यसमिति चयन गर्न महाधिवेशन प्रतिनिधिले मतदात गर्ने हो। केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहे पनि आमन्त्रित केन्द्रीय सदस्यहरू भने वडादेखि नै चुनाव लडेर आउनुपर्ने व्यवस्था छ। कांग्रेसमा २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन्।
खसेको मतमध्ये ५० प्रतिशतभन्दा बढी मत ल्याउने मात्रै सभापति पदमा निर्वाचित हुन्छ नभए दोस्रो चरणमा मतदान गरी बढी मत ल्याउने निर्वाचित हुने व्यवस्था छ। सभापतिबाहेक अन्य पदमा भने खसेको बढी मत ल्याउने पहिलो चरणबाटै निर्वाचित हुनेछ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शेखर कोइराला, कल्याण गुरूङ सभापति पदका आकांक्षी छन्।
हिजोआज महामन्त्री पदका लागि पनि उम्मदेवारी घोषणाको क्रम: चलिरहेको छ। महामन्त्रीमा गगन थापाले औपचारिक घोषणा गरिसकेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार सुन्दरीजलबाट घोषणा गर्ने कार्यक्रम छ।
सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी साउद, सरिता प्रसाई, धनराज गुरूङ, प्रदीप पौडेल, चन्द्र भण्डारीलगायत पनि महामन्त्रीमा उठ्ने तयारीमा छन्। कांग्रेसको १४ औं महाधिवेशन मंसिरमा हुनेछ।
एक ठाउँमा हार्नेलाई अर्कोमा नो इन्ट्री!
कांग्रेसमा यसपटक पराजित हुनेलाई अर्को चरणका लागि मौका दिने व्यवस्था छैन। कांग्रेसको निर्वाचन निर्देशिकाले कुनै तहमा उम्मेदवार भई पराजित भएको व्यक्ति माथिल्लो कुनै पनि तहमा उम्मेदवार हुन नपाउने व्यवस्था गरिदिएको छ।
‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सोभन्दा माथिल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन,’ निर्वाचन निर्देशिकाको १३ नम्बर बुँदा अन्तर्गत विविधको (द) बुँदामा उल्लेख छ।