कर्णाली प्रदेशका ३३९ जना जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्।
पार्टी दर्ताको प्रक्रियापछि स्थानीय तह र प्रदेशका जनप्रतिनिधिहरूलाई समाजवादीको पक्षमा सनाखत गर्न दिइएको समय मंगलबार ५ बजे सकिएको छ।
यो अवधिमा कर्णाली प्रदेशका १० जिल्लाका ३३९ जना स्थानीय तहका जनप्रतिनिधिहरूले समाजवादीको पक्षमा सनाखत गरेको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी शाखा अधिकृत निर्मला रेग्मीका अनुसार सबैभन्दा धेरै कालीकोटका जनप्रतिनिधीहरुले सनाखत गरेका छन् । कालीकोटका ६५ जना जनप्रतिनिधिहरुले समाजवादीको पक्षमा सनाखत गरेको रेग्मीले जानकारी दिइन्।
यस्तै, समाजवादीको पक्षमा सनाखत गर्ने सबैभन्दा कम रुकुम पश्चिमका जनप्रतिनिधि छन्। त्यहाँका ३ जना जनप्रतिनिधिहरूले सनाखत गरेका छन्।
यस्तै, सल्यानका ६४, दैलेखका ६३, जुम्लाका ४४, डोल्पाका ४२, मुगुका २८, जाजरकोटका १० र हुम्लाका ५ जना जनप्रतिनिधिले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा गएर समाजवादीको पक्षमा सनाखत गरेको रेग्मीले जानकारी दिइन्।
यस्तै सुर्खेतका १५ जना जनप्रतिनिधिहरूले समाजवादीको पक्षमा सनाखत गरेका छन्।
कर्णाली प्रदेश सभामा एमालेबाट निर्वाचित १६ जना बहालवाला सांसदहरूमध्ये ३ जनाले यसअघि नै समाजवादीको पक्षमा सनाखत गरेका छन्।
जुम्लाका सांसद पदमबहादुर रोकाया, रुकुम पश्चिमकी देवी ओली र मुगुका चन्द्रबहादुर शाहीले सनाखत गरेका हुन्।
यसअघि फ्लोर क्रस गरेपछि कर्णाली प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चार जना पनि नेकपा एकीकृत समाजवादीमै छन्। उनीहरूमध्ये प्रकाश ज्वालाबाहेक ३ जना प्रदेशका मन्त्री छन्।
कर्णाली प्रदेश सभामा अब एमालेका सभामुखसहित १३ जना सांसद छन्।