नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएर डडेल्धुरा कांग्रेसमा देखिएको विवाद समाधान गर्न आग्रह गरेका छन्।
उपसभापति निधिले आज देउवालाई पत्र पठाएर डडेल्धुरामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर मात्रै अधिवेशन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्।
हेर्नुस् पत्र:
डडेल्धुराबाट पठाइएका पाँच सय जना क्रियाशील सदस्यको नाम हटाएर केन्द्रबाटै सिधै करिब तीन सय जनाको नाम थपेर क्रियाशील सदस्यताको अन्तिम सूची पठाएको भन्दै सभापति कर्णबहादुर मल्ल लगायतले विरोध गरेका छन्।
भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन क्रियाशील सदस्यताकै विवादले गर्दा भदौ २५ का लागि सरेको छ। तर सभापति मल्ल लगायतले अधिवेशन सुचारू हुन नसक्ने भन्दै विज्ञप्ति जारी गरेका छन् भने निर्वाचन अधिकृतले भदौ २५ मै अधिवेशन हुने विज्ञप्ति निकालेका छन्।
यो हेर्नुस्:
डडेल्धुरा सभापति देउवाको गृहजिल्ला हो। यहाँ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता/कार्यकर्ताको क्रियाशील सदस्यताको नाम हटाएर सभापति देउवा पक्षले आफूखुसी क्रियाशीलको नाम थपेको आरोप सभापति मल्ललगायतको छ।
तर सभापति देउवा पक्षले बागी उम्मेदवार रहेकाहरूको नाम क्रियाशील सदस्यताबाट हटाइएको बताएको छ। कांग्रेसले गत निर्वाचनमा बागी उठ्ने उम्मेदवार, प्रस्तावक र समर्थकलाई क्रियाशील सदस्यता नदिन पटकपटक निर्देशन दिएको थियो।
पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले भदौ १७ मा पत्राचार गर्दै बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई क्रियाशील सदस्यता नदिने निर्णय भएको र कसैले क्रियाशील लिएको पाइएमा त्यस्ता सदस्यता अनिवार्य हटाउन मतदात अधिकृतहरूलाई निर्देशन पनि दिएका थिए।
यो हेर्नुस्:
डडेल्धुरामा क्रियाशीलबारे विवाद देखिएकोमा समाधान गरेर मात्रै वडा अधिवेशन गर्न उपसभापति निधिको माग छ।
‘गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरी अधिवेशन र निर्वाचन कार्य सम्पन्न गराउन मार्गदर्शन वा निर्देशनको लागि अनुरोध छ,’ निधिले देउवालाई पठाएको पत्रमा उल्लेख छ।
यस्तै केन्द्रीय सदस्य शेखर कोइरालाले पनि डडेल्धुरामा देखिएको क्रियाशी विवाद समाधान गर्न नेतृत्वसँग माग गरेका छन्।
‘कांग्रेस डडेलधुराबाट वडादेखि जिल्लासम्म कुनै विवाद नभई केन्द्रमा पठाइएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई जिल्लाका कुनै निकायमा थाहा नै नभएका ३ सय १२ जनाको नाम थपिनु गलत हो। यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन। यसले पार्टी कसरी चलाईंदैछ भन्ने प्रमाण दिन्छ,’ कोइरालाले भने।
उनले जिल्ला कार्यसमितिले विरोध गर्दा पनि अधिवेशन तोकिएको उल्लेख गरेका छन्।
‘जिल्ला कार्यसमितिले केन्द्रवाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतबाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद छ। सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र?,’ कोइरालाको प्रश्न छ।
क्रियाशील सदस्यताबारे पुनर्विचार गर्न पनि कोइरालाको माग छ। सभापति देउवा र पौडेल पक्षबीच नेता/कार्यकर्ता डडेल्धुरामा आमनेसामने भएका छन्। मंगलबार झडपकै स्थिति बनेको थियो।
२१ जिल्लामा अझै क्रियाशील विवाद
कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकै दिन वडा अधिवेशन गर्ने भने पनि २१ जिल्लाका क्रियाशील सदस्यको नामावली अझै पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छैन।
प्रदेश नम्बर २ का आठवटै जिल्लामा वडा अधिवेशन भएका छैनन्। मुख्यगरी कांग्रेस शीर्ष नेताकै जिल्लाहरूमा वडा अधिवेशन अनिश्चित हुँदा भदौ २७ मा गाउँपालिका/नगरपालिका अधिवेशन हुने सम्भावना कम हुँदै गएको छ।
विवाद भएका जिल्लामा १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरूबाटै वडा अधिवेशन गर्ने भन्ने नेताहरूबीच सहमति भए पनि यो लागू भएको छैन।
कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा गर्ने भनेको छ। काठमाडौंलगायत २१ जिल्लामा नै वडा अधिवेशन अनिश्चित भएकोले पार्टीका तल्ला तहका अधिवेशन कार्यतालिका पुन: प्रभावित हुने अवस्था देखा परेको छ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सभापति देउवाले वरिष्ठ नेता पौडेललगायतसँग छलफल गर्ने तयारी गरेका छन्।
यो पनि: राजनीतिमा आए देउवाका छोरा जयवीरसिंह