प्रमुख प्रतिपक्षी एमालेका दुई जना सांसदले एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भन्दै सर्वोच्चमा रिट दिएका छन्।
एमाले सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन्। पाण्डे प्रतिनिधि सभा र भट्ट राष्ट्रिय सभाकी सांसद हुन्।
सांसद पाण्डेले आफूहरूले निर्वाचन आयोग एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न नपाएकाले एमालेमै रहनु परेको भन्दै रिट दिएको सेतोपाटीलाई जानकारी दिए।
एमाले विभाजन भएर गत भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएको थियो। नयाँ दलका लागि सनाखत गर्न गएका सांसदहरू पाण्डे र भट्टले सनाखत गर्न पाएनन्। नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा उनीहरूको नाम नभएकाले आयोगले उनीहरूलाई सनाखत गर्न नदिएको हो।
आफूलाई एकिकृत समाजवादीको सांसद कायम गरिदिन आदेशको माग गर्दै भट्ट र पाण्डेले दिएको रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।
आफूहरूलाई एमालेले गर्न सक्ने कारबाही रोक्न पनि उनीहरूले माग गरेका छन्। सरकारले कम्तीमा २० प्रतिशत सांसद वा २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर भएर दल विभाजन हुन सक्ने अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशपछि एमालेका माधव नेपाल समूह छुट्टिएर नेकपा (एकिकृत समाजवादी) नामक छुट्टै दल दर्ता गर्न ५५ जना केन्द्रीय सदस्य र २९ सांसदले निवेदन दिएका थिए। उक्त निवेदनमा पाण्डे र भट्टको नाम थिएन। पछि मात्र उनीहरूले आफूले पनि एकिकृत समाजवादी रोजेको भन्दै निवेदन दिएका थिए। तर आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार उनीहरूको सनाखत गर्न नमिल्ने बताएको थियो।
राजनीतिक दल सम्बन्धी अध्यादेशमा नयाँ दल गठन गर्न चाहने सांसद र केन्द्रीय सदस्यहरूले एकैपटक आयोगमा निवेदन दिनुपर्ने उल्लेख छ।
आयोगले सनाखत नगरेपछि उनीहरू सांसदको रूपमा एकिकृत समाजवादीमा जान पाउँदैनन्। त्यसैले उनीहरू समाजवादीको सांसद कायम गराउन माग गर्दै सर्वोच्च अदालत गएका हुन्।