सुदूरपश्चिमका ६ जिल्लाका ४८७ वडामा भएको नेपाली कांग्रेसको अधिवेशनमा ८ जना महिला र १२ जना दलित वडा सभापतिमा चुनिएका छन्। दार्चुलाका ६१ वटै वडामा अधिवेशन सकिएको नेपाली कांग्रेसका जिल्ला सभापति ललित बोहराले बताए।
उनका अनुसार जिल्लाभर अहिलेसम्म एक जना महिला वडा सभापतिमा निर्बिरोध चुनिएकी छन्। मार्मा गाउँपालिकाको वडा नम्वर ६ को सभापतिमा दशरथी कोटारी चुनिएकी हुन्।
दार्चुलामा दलित समुदायबाट पनि एक जना वडा सभापति बनेका छन्। शैल्यशिखर नगरपालिकाको वडा नम्वर ४ का लालु महर वडा सभापति बनेका हुन्।
बझाङका ९४ वटा वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–७ मा २२ वर्षीया सुजता जप्रेल दौल्याल सभापति बनेकी छन्। उनीबाहेक अरु महिला वडा सभापति चुनिएका छैनन् । बझाङ जिल्ला कमिटीका प्रवक्ता पुष्कर बोहराका अनुसार दलित समुदायबाट सभापतिमा कोही चुनिएनन् ।
अछामका ९१ वटै वडामा सम्पन्न अधिवेशनमा एकजना महिला चुनिएकी छन् । मंगलसेन नगरपालिका–११ की जानकी रावल वडा सभापति बनेकी हुन्। अछाम जिल्ला पुर्व सभापति पुष्प शाहका अनुसार अहिलेसम्म ४५ वडाको पूर्ण विवरण आएको छ। यी वडामा दलितबाट सभापतिमा प्रतिनिधित्व नदेखिएको उनले बताए। थप ४६ वडाको विवरण आउन बाँकी छ।
डोटीको ६५ वडामा पनि अधिवेशन सकिएको छ। जसमा महिला छैनन्। दलित समुदायबाट चार जना वडा सभापति चुनिएका छन्। पुर्वीचौकी गाउँपालिका–७ मा सन्तोष विक, आदर्श गाउँपालिका–५ मा भीम वड, बोगटान गाउँपालिका–६ मा र्हक ताम्राकार र बोगटान गाउँपालिका–७ मा टेकबहादुर सार्की वडा सभापतिमा चुनिएको जिल्ला सचिव नारायण जोशीले बताए।
बैतडीका सबै ८४ वडामा अधिवेशन सकिएको छ। बुधवारसम्म प्राप्त वडाको विवरणमा ४ जना महिला र ६ जना दलित समुदायबाट वडा सभापति चुनिएको जिल्ला कमिटीका प्रवक्ता दिपेन्द्र चन्दले जानकारी दिए। उनले सबै वडाको विवरण बिहीबार मात्रै आउने बताए।
यता कञ्चनपुरमा ९२ वडामा सम्पन्न अधिवेशनमा पुर्नवास नगरपालिका–३ मा बुद्धीमाया तामाङ सभापति चुनिएकी छन्। यस्तै दलितबाट कृष्णपुर नगरपालिका–६ मा बेदबहादुर वड चुनिएको जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत नविन धामीले जानकारी दिए।
प्रदेशका तीन जिल्ला कैलाली, डडेल्धुरा र बाजुरामा वडा अधिवेशन हुन सकेको छैन। कैलाली र बाजुरामा क्रियाशील सदस्यको नामावली नआएकोले अधिवेशन ढिलाई भइरहेको जनाइएको छ। डडेल्धुरामा भने क्रियाशील सदस्यको नामावली ढिलो गरी आए पनि विवाद कायमै छ।