पोखराको अमरसिंह माविमा दीपिका भण्डारी 'प्लस टु' भर्ना हुँदा नेविसंघ इकाइ थिएन।
उनले नेविसंघको जिल्ला नेतालाई स्कुलमा बोलाइन् र नेविसंघको स्कुल इकाइ गठन गरिन्। समितिको उपसभापति उनले नै सम्हालिन्।
नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा यसरी आएकी दीपिका यसपालि वडा अधिवेशनमा चुनाव नै लडेर क्षेत्रीय प्रतिनिधि चुनिएकी छन्।
राजनीतिमा उनको रूची सानै देखिको हो। कांग्रेसले गाउँदेखि सहरसम्म आयोजना गर्ने कार्यक्रममा सहभागी हुन्थिन्।
उनका परिवार कांग्रेसमै आस्था राख्छन्।
‘एसइई सकिएपछि म नेविसंघ भन्दा बढी पार्टीको कार्यक्रममा हिँड्न थालेँ,’ दीपिकाले भनिन्, ‘राजनीतिमा रूची भएर होला, नेताहरू देख्दा छुट्टै अनुभूति हुन्थ्यो।’
यसरी राजनीतिमा होमिएकी दीपिका अहिले १९ बर्षकी भइन्। कांग्रेसको जारी महाधिवेशन प्रक्रियामा उनी माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ धम्पुसबाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन्।
क्षेत्रीय प्रतिनिधि हुन उनले वडा अधिवेशनमा उत्तिकै मेहनत र जुक्ति लगाउनुपर्यो। वडा अधिवेशन अघि पार्टीले वितरण गरेको क्रियाशील सदस्यता लिइन्। उनले आफ्नो मात्र होइन, आमा गोमा भण्डारीलाई पनि क्रियाशील सदस्य बनाइन्।
वडा अधिवेसनमा दीपिका आफूमात्र उठिनन्, आमालाई पनि क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्न उक्साइन्। २ बर्षअघि मात्र नेविसंघमा आवद्ध दीपिकालाई अहिले नै पार्टी राजनीतिमा आउने इच्छा थिएन। उनले आमा गोमालाई अघि बढाउन चाहन्थिन्।
‘क्षेत्रीय प्रतिनिधिमा आमालाई अगाडि बढाएर म व्याक हुन्छु भनेर सोचेकी थिएँ,’ दीपिकाले भनिन्, ‘पार्टीमा अलि नराम्रो राजनीति भयो त्यसपछि मै अघि बढ्ने निर्णय गरें।’
वडा अधिवेशनमा दीपिकालाई गाउँका कांग्रेस नेता कार्यकर्ताले 'बच्चा' भनेका थिए। 'बच्चाले पनि पार्टीको पद खोज्ने? पार्टीमा के योगदान छ?' उनलाई लक्षित गर्दै अरू नेता कार्यकर्ताले उनलाई होच्याउन खोजे।
आमा–छोरी नै क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनेको भन्दै दुवै जनालाई उम्मेदवारी फिर्ता लिन दवाब दिए। नेता कार्यकर्ताको व्यवहार देखेर दीपिकाले अठोट गरिन्– ‘अब उम्मेदवारी फिर्ता लिन्न।’
क्षेत्रीय प्रतिनिधिमध्येबाटै गाउँ/नगर कार्यसमिति बन्छ। क्षेत्रीय प्रतिनिधि नै मतदाता हुन्छन्। कांग्रेसले विधानको व्यवस्था संशोधन गर्दै यसैपालि क्रियाशील सदस्य भएकाहरू पनि वडादेखि महाधिवेशन प्रतिनिधिसम्म उम्मेदवार हुन पाउँछन्। तर क्षेत्रीय सभापति पदका लागि क्षेत्रीय प्रतिनिधि नै आउनुपर्छ, क्रियाशील भएर मात्रै पुग्दैन।
नेतृत्वका लागि उम्मेदवार र मतदान गर्ने शक्तिशाली अधिकार भएकै कारण उनका आमाछोरीलाई क्षेत्रीय प्रतिनिधि बन्नबाट रोक लगाउन खोजेका थिए।
वडा अधिवेशनमा सहमतिका लागि नेताहरूले सक्दो प्रयास गरे। दीपिकाको आमाछोरीले उम्मेदवारी फिर्ता नलिने अडान कसे। त्यसपछि सहमतिका लागि भन्दै दीपिकाको आमा गोमालाई वडा कार्यसमिति सदस्य र दीपिकालाई क्षेत्रीय प्रतिनिधि बनाउन कांग्रेसका स्थानीय नेताहरू सहमत भए।
राजनीतिमा अगाडि बढ्न दीपिकालाई आमा गोमा र परिवारको सहयोग थियो। उम्मेदवारी फिर्ता नलिएका कारण उनलाई स्थानीय कार्यकर्ताले घमण्डीको संज्ञा दिए। कतिपयले त 'विहे गरेर जाने बेलामा के को राजनीति?' समेत भन्न भ्याए। त्यतिबेला आमा गोमाले छोरीको रूची नै राजनीतिमा भएकाले हिँड्न दिन्छु भन्नुपरेको थियो।
‘महिला भएका कारण राजनीतिमा झन् धेरै समस्या आउँदो रहेछ,’ दीपिकाले भनिन्, ‘समाजले हामी महिलालाई एउटा घेरा बनाइदिने रहेछ, त्यसबाट बाहिर निस्केपछि फलानाकी छोरी यसरी बिग्रेर हिँड्यो भन्दा रहेछन्।’
कांग्रेसको जारी अधिवेसनमा अब गाउँ/नगरको निर्वाचन हुनेछ भने त्यसपछि क्षेत्रीय र जिल्ला कार्यसमितिको निर्वाचन हुनेछ।
क्षेत्रीय प्रतिनिधिहरूले नै केन्द्रीय समितिको निर्वाचन गर्ने महाधिवेसन प्रतिनिधि चुन्नेछन्। दीपिकाले अहिले उम्मेदवारी घोषणा गरिरहेका गाउँदेखि जिल्ला र महाधिवेशन प्रतिनिधिका उम्मेदवार हेरिरहेकी छिन्।
कसलाई किन मतदान गर्ने विचार गरिरहेकी छिन्। ‘कसलाई भोट दिने निर्णय गरिसकेको छैन,’ उनले भनिन्, ‘राम्रो मान्छेलाई भोट हाल्ने हो, अहिलेसम्म पार्टी र समाजलाई के गर्दैछ हेर्ने हो।’
गाउँ कार्यसमितिदेखि महाधिवेशन प्रतिनिधिसम्म युवा पुस्ताका उम्मेदवारलाई भोट दिने उनले बताइन्। पार्टीभित्रका गुटका आधारमा आफूले मतदान नगर्ने उनले प्रष्ट्याइन्। ‘हामीलाई गुटको मतलब छैन। जुनसुकै गुटका होस्, राम्रा मान्छे, केही गर्न सक्ने मान्छेलाई भोट दिइन्छ,’ उनले भनिन्।
सानै उमेरमा राजनीतिमा होमिएकी दीपिका कहाँसम्म पुग्छिन् हेर्न बाँकी छ। उनी क्षेत्रीय प्रतिनिधि बन्दा उनीभन्दा पुराना कांग्रेस कार्यकर्ता समेत वडामै छुटे। राजनीतिमा भविष्य कहाँसम्म पुग्छु भनेर नसोचेको भन्दै उनले भनिन्- जहाँ पुगे पनि राजनीतिमै रहिरने बताइन्।
राजनीतिमा लाग्दा गलतलाई गलत र राम्रो कुरालाइ ठिक भन्न सक्ने हुनुपर्ने उनको भनाइ छ। ‘अहिले नराम्रोलाई पनि ठिक भनेकाले देशको राजनीति बिग्रिसकेको छ,’ उनले भनिन्, ‘म गलतलाई गलत नै भन्छु।’
कास्की कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरूमा दीपिकाभन्दा पनि कान्छा उमेदवार हुन्, लेकसाइडका विपिन पौडेल।
१८ बर्षीय विपिन पनि कांग्रेसका नयाँ क्रियाशील सदस्य हुन्।
स्थानीय निर्वाचन २०७२ देखि कांग्रेसको राजनीतिमा होमिएका विपिन अहिले कक्षा १२ मा पढछन्। उनी नेविसंघको राजनीतिमा लाग्न पाएनन्, सिधै पार्टीमा लागे।
कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको निधन हुँदा विपिन सानै थिए। त्यतिबेला कोइरालाप्रति मानिसले देखाएको सद्भाव र सम्मानले विपिनको मन छोएको थियो। पछि सुशील कोइरालाको निधन हुँदा विपिन अलि बुझ्ने भए। कोइरालाको निधनमा मानिसले देखाएको सम्मान पनि उनले टेलिभिजनमा हेरेका थिए। टोलछिमेकमा पनि उनीहरूको चर्चा गरेको विपिनले सुनेका थिए।
उक्त घटनाले कांग्रेसप्रति विपिनको झुकाव बढेको थियो। त्यसमाथि उनका परिवार कांग्रेसका मतदाता थिए। कांग्रेसमा आस्था राखे पनि परिवारले क्रियाशील सदस्यता भने नलिएको विपिनले बताए। विपिनले ३ बर्षअघि कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने अवसर पाए।
‘सभापति शेरबहादुर देउवा पोखरा आउनुभएको थियो, मैले भेटेँ,’ उनले भने, ‘स्थानीय तहको चुनावमा कांग्रेसबाट वडा अध्यक्षमा जिताइयो, पार्टीको कार्यक्रममा हिँड्न थालेको छु भनेर सभापतिलाई भनेको थिएँ।’
क्षेत्रीय प्रतिनिधिका रूपमा विपिनले कांग्रेसको पोखरा महानगर कार्यसमिति, क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशन प्रतिनिधिका उम्मेदवारलाई मतदान गर्नेछन्।
उनी भने नेविसंघको राजनीतिमा लाग्न चाहन्छन् त्यसैले पार्टी राजनीति यहाँभन्दा अघि नबढाउने सोचमा छन्। मतदान गर्दा गुटको राजनीति नहेरी आफ्नो क्षेत्रका लागि काम गर्न सक्ने नेतालाई भोट दिने उनको मनसाय छ।
‘नेताको चाकडी गरेर जे भन्यो त्यही मान्ने व्यक्तिलाई भोट दिन सकिन्न,’ उनले भने, ‘हाम्रो वडाका लागि काम गर्न सक्ने व्यक्ति हेरेर भोट दिने हो।’ गुटबन्दीकै कारण पार्टी र देशको राजनीति बिग्रिएकाले गुटका आधारमा भोट दिन नहुने उनले बताए।
यस्तै गण्डकी प्रदेशअन्तर्गत लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ८ बाट क्षेत्रीय प्रतिनिधि बनेका २५ वर्षीय क्षितिज तामाङ यसअघि नेपाल तरूण दलको राजनीतिमा थिए। युवा क्लवमा रहेर सामाजिक काममा लागेका क्षितिज पनि वडा अधिवेशनअघि मात्र कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए।
क्षितिजलाई कांग्रेसको राजनीतिमा लाग्न पारिवारिक पृष्ठभूमीले काम गरेको छ। परिवार कांग्रेसको मतदाता भए पनि पार्टी सदस्यता भने लिएका थिएनन्। उनका ९४ बर्षीय हजुरबुबा चन्द्रबहादुर तामाङ राणा शासनकै बेलादेखि कांग्रेसमा आवद्ध थिए। कांग्रेसमा लागेको भन्दै तत्कालीन राणा शासकका कर्मचारी उनका हजुरबुबालाई खोज्न गाउँघरमै पुगेका थिए।
राणा प्रशासकको आँखा छलेर गाउँबाट भागेका चन्द्रबहादुर बेलायती सेनामा भर्ती हुन पुगे। अहिले पनि हजुरबुबाले त्यतिबेलाका कुरा सुनाउने गरेको क्षितिजले बताए। क्षेत्रीय प्रतिनिधि बनेका क्षितिजले आफ्नो क्षेत्रका लागि राम्रो काम गर्न सक्नेलाई मतदान गर्ने बताए।
‘मलाई गुटको मतलव छैन, जसले हाम्रो क्षेत्र लमजुङ र देशका लागि राम्रो काम गर्न सक्छ, उसैलाई भोट दिने हो,’ उनले भने।क्षितिजले पार्टीको कुनै पदमा उम्मेदवार बन्नेबारे अहिलेसम्म निर्णय लिएका छैनन्। पद पाउनका लागि क्षेत्रीय प्रतिनिधि नबनेको उनले बताए। नेताहरू गुटबन्दीमा रमाएको भन्दै उनले जुनसुकै गुटका भए पनि राम्रो काम गर्न सक्ने युवालाई भोट दिने उनले बताए।
पोखरा महानगर वडा नम्बर ३२ बाट क्षेत्रीय प्रतिनिधि बनेकी २१ बर्षीय भावना पौडेल पनि क्षेत्रीय प्रतिनिधिमा बनेकी छन्।
पृथ्वीनारायण क्याम्पसमा एलएलबी पढेकी पौडेल नेविसंघमा आवद्ध छिन्। क्षेत्रीय प्रतिनिधिबाट माथिल्लो निकायको कुनै पनि तहमा अहिले उम्मेदवार नबन्ने उनको सोच छ। तर भविष्यमा राजनीति नै गर्ने उनको योजना छ।
‘अहिले ग्राउण्ड लेभलमा छु, अलि पछि राजनीतिमै होमिने हो,’ उनले भनिन्, ‘एकैचोरी फड्को मार्ने कुरा भएन नि।’ पार्टीको अधिवेशनमा नेतृत्व चुन्दा जनता माझ जान सक्ने नेतालाई मतदान गर्ने उनले बताइन्।
‘म गुट हेरेर एउटा प्यानलमा भोट हाल्दिन, उम्मेदवार हेर्छु। उम्मेदवारको पृष्ठभूमी हेर्छु, युवा पुस्ताका उम्मेदवारलाई भोट दिन्छु,’ उनले भनिन्।
पृथ्वीनारायण क्याम्पसमा नेविसंघको इकाइमा आवद्ध रहे पनि आफू कुनै गुटमा नलागेको पौडेलले बताइन्। फिल्डमा काम गर्न सक्ने नेता पार्टीलाई चाहिएकोले गुटबन्दीमा रमाउने ‘टुरिष्ट’ नेतालाई हराउनुपर्ने उनको धारणा छ।
‘चुनावका बेला मात्र जिल्ला आउने टुरिष्ट नेतालाई हराउनुपर्छ, यस्ता नेताले जित्यो भने फेरि माथिमाथि बस्ने गुटबन्दी गर्ने मात्र हुन्छ,’ उनले भनिन्। कांग्रेसले जिल्ला र गाउँमै राम्रा मान्छेलाई जिताउनुपर्ने भन्दै उनले महाधिवेशन प्रतिनिधि राम्रा मान्छे चुनिएन भने फेरि पार्टी गुटबन्दीमा फस्ने बताइन्।
‘हामीले राम्रा मान्छे छानेर पठाउन सक्यौं भने कांग्रेस बलियो बन्छ, जनताको सेवा गर्ने, जनताको भावना बुझ्ने पार्टी बन्यो भने अरू पार्टीले पनि सिक्छन्, देशको राजनीति सप्रन्छ,’ उनले भनिन्।
यस्तै पृथ्वीनारायण क्याम्पसमा नेविसंघको बिबिए संकायका सभापति बनेकी २१ बर्षीय सञ्जिता आचार्य पोखरा–२ बाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन्। क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्दा उनलाई गाउँका स्थानीय कार्यकर्ताले ‘तिम्रो समय बाँकी छ, उम्मेदवारी फिर्ता गर’ भनेका थिए। उनले आफ्नो कुरा राखेपछि उनी क्षेत्रीय प्रतिनिधि चुनिइन्।
अधिवेशनका क्रममा अन्य कुनै पदमा उठ्ने कि नउठ्ने निर्णय उनले गरेकी छैनन्। महाधिवेशनमा मतदान गर्दा गुटबन्दीका आधारमा नभई उम्मेदवारको क्षमताका आधारमा गर्ने उनले बताइन्। ‘महाधिवेशनमा भोट हाल्न मात्र राजनीतिमा आएको होइन,’ उनले भनिन्, ‘राम्रा मान्छेलाई भोट दिएर आफू पनि अघि बढ्ने हो।’
कांग्रेसको राजनीतिमा एउटा गुटमा नलागेर अघि बढ्नै नसक्ने अवस्था आएको आचार्यले बताइन्। ‘म यहाँभन्दा माथि कसरी जाने, गुट नसमाते ठाउँ नै छैन,’ उनले भनिन्, ‘अहिले निर्वाचनमा हारेका मान्छेलाई पनि गुटबन्दीका आधारमा मनोनित गर्छन्।’
गुटगट आधारमा पार्टी र देश चलेको भन्दै उनले जुनसुकै गुटका भए पनि राम्रा मान्छे अघि बढ्यो भने केही राम्रो गर्न सक्ने उनले आशा राखिन्।