नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरूले डडेल्धुरामा पार्टीको वडा अधिवेशन फेरि गर्नुपर्ने अडान राखेका छन्।
भदौ २५ मा जिल्ला कार्यसमिति र वडा सभापतिहरूको सहमतिविपरीत सभापति शेरबहादुर देउवा पक्षले वडा अधिवेशन गरेकोले त्यो अधिवेशन स्वीकार्य नहुने वरिष्ठ नेता पौडेल बताउँछन्।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेलले डडेल्धुरामा फेरि वडा अधिवेशन गरिनुपर्ने बताएका हुन्।
डडेल्धुरा सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको गृहजिल्ला हो। यहाँ क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान नगरी वडा अधिवेशनबाट नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएका थिए।
पौडेलले निर्वाचन समितिलाई डडेल्धुरामा यसअगाडि गरिएको वडा अधिवेशनलाई मान्यता नदिन पनि आग्रह गरेका छन्।
‘तलबाट पठाइएको क्रियाशील सदस्यको नाममा हेरफेर गरेर केन्द्रबाट नाम पठाइएको छ,’ पौडेलले भने, ‘यस्तो क्रियाकलाप लोकतान्त्रिक पार्टी कांग्रेसमा हुनु गम्भीर हो।’
सभापति देउवाले राज्यशक्तिको दुरूपयोग गरेर एकलौटी हिसावले वडा अधिवेशन गरेकोले त्यो अस्वीकार्य हुने पौडेलले बताए।
‘जिल्ला कार्यसमिति र वडा सभापतिहरूको सहमतिविपरीत नै अधिवेशन गरिएको छ। राज्य शक्ति र प्रहरी तथा प्रशासनको दुरूपयोग भएको छ,’ उनले भने, ‘डडेल्धुराको घटनाले कांग्रेसको महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भन्नेमै आशंका पैदा भएको छ।’
सिंगो जिल्ला कार्यसमितिलाई बाहिर राखेर तथा जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतले भाग नलिए पनि डडेल्धुरामा पार्टीको वडा अधिवेशनको नाटक गरिएको पौडेल बताउँछन्।
‘वडा अधिवेशनको नाटक मन्चन गरियो, यो घोर आपत्तिपूर्ण छ। अप्रजातान्त्रिक काम सभापतिकै गृहजिल्ला डडेल्धुराबाट सुरू भएको छ। यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा आशंका पैदा भएको छ,’ पौडेलले भने।
डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न आफूले सभापति देउवासँग पनि कुराकानी गरेको पौडेलले सुनाए। ‘सहमतिमै फेरि वडा अधिवेशन हुनुपर्छ,’ उनले भने, ‘यसबारे सभापतिसँग पनि कुरा गरिसकेको छु।’
सभापति देउवा पुन: वडा अधिवेशन गर्ने पक्षमा छन् कि छैनन् भन्नेबारे पौडेलले उक्त भेटको कुराबारे खुलाएनन्। ‘असोज ५ गते बाँकी जिल्लामा वडा अधिवेशन तोकिएको छ। त्यही दिन वा अगाडि पछाडि हुने गरी डडेल्धुरामा पनि वडा अधिवेशन गरिनुपर्दछ,’ पौडेलले भने।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि खेलवाड नगर्न पौडेलले सभापति देउवालाई आग्रह पनि गरेका छन्।
डडेल्धुरामा फेरि वडा अधिवेशन गरिएन भने बाँकी जिल्लाका वडा अधिवेशनमा भाग लिने कि नलिने भन्नेबारे सोधिएको प्रश्नमा पौडेलले भने, ‘यसलाई गम्भीर रूपले सोच्नेछौं, बाँकी कुरा पछि गरौंला।’
पत्रकार सम्मेलन गर्नुअगाडि पौडेलले आफू पक्षका शीर्ष नेतासँग छलफल गरेका थिए।
उक्त छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, कमला पन्त, शेखर कोइराला, गुरूराज घिमिरे, गगन थापालगायत उपस्थित थिए।
पौडेल पक्षले डडेल्धुरामै जस्तो एकलौटी हिसावले वडा अधिवेशन अन्यत्र जिल्लामा नगर्न पनि ध्यानाकर्षण गराएको छ। आफू पक्षका नेताहरूका तर्फबाट पौडेलले जारी गरेको विज्ञप्तिमा पनि डडेल्धुरामा देखिएको घटना पार्टी इतिहासकै तिक्त भएको उल्लेखसमेत गरेका छन्।
सभापति देउवा पक्षले करिब चार सय क्रियाशील सदस्य केन्द्रबाट थप गरेको आरोप पौडेल पक्षको छ। पौडेल पक्षले वडा अधिवेशन स्थगित गर्न माग गरे पनि भदौ २५ मा वडा अधिवेशन भएको थियो।
सभापति देउवा पक्षका नेताहरू भने वडा अधिवेशन फेरि हुन नसक्ने बताइरहेका छन्। अधिवेशनबाट पौडेल पक्षका मानिसहरू पनि आएको दाबी देउवा पक्षको छ। बागी उम्मेदवार, ती उम्मेदवारका प्रस्तावक र समर्थकहरूको नाम क्रियाशीलबाट हटाइएको दाबी पनि देउवा पक्षको छ।