नेपाली कांग्रेसले क्रियाशील सदस्यतामा देखिएको विवाद ढिला गरी समाधान गर्दा त्यसको असर वडा अधिवेशनमा परेको छ।
प्रदेश नम्बर २ का ८ सहित देशका विभिन्न १३ जिल्लामा मंगलबार वडा अधिवेशन हुने सम्भावना कम छ।
क्रियाशील सदस्यता विवाद समाधान गरे पनि प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्यौलमा परेको छ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशीलबारे देखिएका विवाद आइतबार मात्रै समाधान गरेका छन्। केन्द्रीय समितिले पछिल्लोपटक उनीहरूलाई क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी दिएको थियो।
कांग्रेसले भदौ १८, २२ र २५ गते गरी ५७ जिल्लामा अधिवेशन गरिसकेको छ। बाँकी २० जिल्लामा वडा अधिवेशन असोज ५ का लागि तोके पनि तीमध्ये ७ जिल्लामा मात्रै अधिवेशन गर्ने तयारी छ। अरू जिल्लाका क्रियाशील सदस्यको नाम नै सार्वजनिक भएको छैन।
१३ जिल्लाका क्रियाशील सदस्यको नामावली भने केन्द्रीय निर्वाचन समितिले सोमबार बिहानसम्म सार्वजनिक गरेको छैन। आज यी जिल्लाका क्रियाशीलको सूची सार्वजनिक भए पनि निर्वाचन अधिकृत खटाउन समय अभाव हुन्छ।
आइतबार सिटौला, रिजाल र लेखकले गरेको सहमतिअनुसार विवाद भएका क्षेत्रमा १३ औं महाधिवेशनकै बेलाको क्रियाशील सदस्यबाट वडा अधिवेशन गर्ने सहमति छ।
उनीहरूले ९ बुँदे समझदारी गरेका छन्- जुन कार्यान्वयन गर्न केन्द्रीय सदस्य आनन्द ढुंगाना, जीवन परियार र योगेन्द्र चौधरीको सहयोग लिई केन्द्रीय कार्यालयबाट गर्ने भनिएको छ।
२०७२ सालमा भएको १३ औं महाधिवेशनकै बेला अधिवेशन हुन नसकेको धनुषाको प्रतिनिधि सभा क्षेत्र ५ को क्षेत्रीय अधिवेशन यसपालि गर्न नेतृत्वले विशेष पहल गर्ने सहमति पनि भएको छ।
सिटौला, रिजाल र लेखकबीच भएको सहमतिलाई कार्यान्वयन गर्न महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जानकारीसमेत गराइएको छ।
उनीहरूले वडादेखि हुने अधिवेशन तालिका नसर्ने गरी कार्यसम्पादन गराउन पनि आवश्यकता रहेको औंल्याएका छन्। तर १३ जिल्लामा वडा अधिवेशन हुने सम्भावना कम छ।
निर्वाचन समितिले प्रदेश नम्बर २ का सबै जिल्लाको एकैपटक क्रियाशीलको नाम सार्वजनिक गर्ने बताइरहेको छ। अब अधिकांश ठाउँमा क्रियाशील सदस्य विवाद समाधान भएकोले नामावली आएपछि पार्टी वेबसाइटमा राखिने निर्वाचन समितिको भनाइ छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १३ जिल्लाको क्रियाशील सदस्यको नाम अझै निर्वाचन समितिलाई प्राप्त नभएको बताए।
‘१३ जिल्लाको क्रियाशीलको नाम प्राप्त भएको छैन। प्राप्त भएसँगै सार्वजनिक भइहाल्छ,’ उनले सेतोपाटीसँग भने, ‘आज नाम प्राप्त भए सार्वजनिक हुन्छ, भोलि वडा अधिवेशन गर्न सम्भव छ।’
क्रियाशील सदस्यको नाम सभापतिले निर्वाचन समितिलाई दिएपछि पार्टी वेबसाइटबाट सार्वजनिक गर्ने व्यवस्था छ।
अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएकाहरूलाई दिइएको क्रियाशील सदस्यता र केन्द्रबाट सिधै क्रियाशील दिँदा कांग्रेसमा विवाद भइरहेको थियो।
क्रियाशील विवादबीच नै सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गत भदौ २५ मा वडा अधिवेशन सकिइसकेको छ।
यो अधिवेशनलाई मान्यता नदिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गरे पनि फेरि त्यहाँ वडा अधिवेशन हुने सम्भावना देखिएको छैन। महामन्त्री शशांक कोइरालाले नै डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना नदेखिएको प्रतिक्रिया दिएका थिए।
काठमाडौंसहित ७ जिल्लामा भने मंगलबार वडा अधिवेशन हुने भएको छ। त्यसका लागि तयारी भइरहेका छन् भने निर्वाचन अधिकृत खटिइसकेका छन्। काठमाडौंको एक सय ३८ वडामा अधिवेशन हुन गइरहेको छ।
कांग्रेसले असोज ९ मा गाउँ/नगर अधिवेशन राखे पनि सबै जिल्लामा वडा अधिवेशन नभएकोले गाउँ/नगर अधिवेशन प्रभावित हुने देखिएको छ।
गाउँ/नगर अधिवेशन हुन सबै जिल्लाभित्र वडा अधिवेशन भइसक्नुपर्छ किनभने गाउँ/नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै हुन्छन्।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। करिब ९ लाख क्रियाशील सदस्य बनाएको कांग्रेसले मतदाता (क्रियाशील सदस्य) टुंग्याउनै नसक्दा विवाद भइरहेको थियो।