नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ६ फागुनमा पोखरा प्रदर्शनी केन्द्रमा भनेका थिए, ‘जुलुस निकाल्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन पनि सक्दैनौं।’
तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहिलो पटक संसद विघटन गरेपछि आन्दोलनमा जान हिचकिचाउँदै देउवाले त्यसो भनेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यही मञ्चबाट प्रधानमन्त्री ओलीले लोकतन्त्र मास्न लागेकाले कांग्रेस आन्दोलनमा जानुपर्ने बताइरहँदा देउवाले प्रत्युत्तरमा थपे, ‘क्रियाशील सदस्य लिने बेलामा मारामार हुन्छ, आन्दोलनमा क्रियाशीलमात्र आउन भन्यो भने पनि आउँदैन।’
देउवाले यसो भनेको ७ महिनापछि त्यही प्रदर्शनी केन्द्रमा नेपाली कांग्रेस पोखरा महानगर समितिको अधिवेशन भयो।
अधिवेशनमा मतदान गरेपछि कांग्रेस कास्कीका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले ठट्टा गरे, ‘जुलुस निकालेको जस्तो झल्को आयो।’
कांग्रेसको वडा अधिवेशन सकिएर शनिबार पालिका अधिवेशन भएको छ। अझै, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनै बाँकी छ। पालिका अधिवेशनमा देखिएको तडकभडकले माथिल्लो तहको अधिवेशन थप भड्किलो हुन सक्ने कांग्रेस नेता, कार्यकर्ताले बताएका छन्।
पोखराको नयाँ बजारदेखि प्रदर्शनी केन्द्र जाने सडकबाटै सभापति, उपसभापति, सचिव लगायतका उम्मेदवारहरूले ठूला–ठूला तस्वीरसहितको तुल र व्यानर राखेका थिए।
मतदान स्थलबाहिर उम्मेदवारले मत माग्न छुट्टा–छुट्टै स्टल राखेका थिए। स्टलमा उम्मेदवारले पर्चा, पम्प्लेट क्षेत्रीय प्रतिनिधि र वडा सभापतिलाई वितरण गरिरहेका थिए। आफ्नो पक्षको उम्मेदवारलाई जिताउन भरमग्दुर प्रयास गरिरहेका थिए।
मतदानस्थलमा पनि उम्मेदवारहरूले मतदाता रुजु गर्न प्रतिनिधि राखेका थिए।
कार्यकर्ताहरू छातीमा ब्यानर टाँसेर आफ्नो पक्षका उम्मेदवार जिताउन लागिपरेका थिए। उम्मेदवार र तिनका समर्थकले सडकमा फालेका पर्चा, पम्प्लेट र पानीका बोतल छरपस्ट थियो, केही युवा कार्यकर्ताले उम्मेदवारको फोहोर टिपेर सफा गरे।
विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन डेढ वर्षअघि नै हुनुपर्ने थियो। अधिवेशनमा भएको ढिलाइले युवाहरूको भिड देखिएको पूर्वमन्त्री थापाले बताए। यसका अलवा कांग्रेसमा बढेको क्रियाशील सदस्य अनुसार क्षेत्रीय प्रतिनिधिको संख्या पनि बढ्यो, यसले पनि भिडभाड बढाएको उनको तर्क छ।
कांग्रेसको संगठन बहुपदीय प्रणालीमा गएका कारण पनि तामझाम बढेको थापाले बताए।
‘पालिका अधिवेशनमा भिडभाड र तामझाम देखियो,’ उनले भने, ‘करोडौं खर्चेर लेनदेन भएको नदेखिएकाले यसलाई स्वभाविक प्रक्रिया मान्नुपर्छ।’
कांग्रेस कास्कीका सादगी नेताका रूपमा परिचित थापाले पार्टीको तल्लो निकायमा देखिएका तामझाम माथिल्लो निकायको अधिवेशनमा पनि देखिन सक्ने आशंका गरे।
उनले भने, ‘पालिका तहमा भन्दा धेरै ओझिलो निकायको अधिवेशन गर्न अझै बाँकी छ, यस्ता तामझाम र भड्किलो व्यवहारले ठाउँ पाउँछ कि भन्ने आशंका जन्मिएको छ।’
पोखरा महानगरको अधिवेशनमा सभापति पदका लागि ६ जना उम्मेदवार छन्। जसमा सुरेन्द्रमान विजुक्छे, गंगाधर पराजुली, ज्योति हमाल, मिलन तिवारी, रामराज लामिछाने र मोहन बाँस्तोला उम्मेदवार छन्।
पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको निर्वाचन अधिकृत आरसी बिमलले जानकारी दिए। उनका अनुसार मतगणना शनिबार साँझ नै सुरू गर्ने तयारी छ।
अन्नपूर्ण र रूपामा सर्वसम्मत, माछापुच्छ्रे र मादीमा निर्वाचन
पोखरा महानगरबाहेक कास्कीमा ४ वटा गाउँपालिका छन्। गाउँपालिका स्तरीय अधिवेशनमा अन्नपूर्ण र रूपा गाउँपालिकामा सर्वसम्मत चयन भएका छन् भने माछापुच्छ्रे र मादी गाउँपालिकामा निर्वाचन हुँदैछ।
अधिवेशनमार्फत् अन्नपूर्ण गाउँपालिका कार्यसमिति सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन्। यस्तै, उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद अधिकारी र विजय गुरूङ, सहसचिवमा ध्रुब घले सर्वसम्मत निर्वाचित भएका छन्। बाँकी ५५ सदस्यीय कार्यसमिति सदस्य पनि सर्वसम्मत भएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष समेत रहेका कांग्रेस नेता युवराज कुँवरले बताए।
उता, रूपा गाउँपालिकामा पनि सर्वसम्मत कार्यसमिति चयन भएको छ। कांग्रेस रूपाको सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा बुद्धिबहादुर खड्का र गेसबहादुर गुरूङ, सचिवमा शंकरलाल श्रेष्ठ र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित भएका छन्।
बाँकी ३५ जना सदस्य पनि सर्वसम्मत निर्वाचित भएको कांग्रेस रूपा गाउँपालिका अधिवेशनका निर्वाचन अधिकृत दिनेश लामिछानेले बताए।
कास्कीकै माछापुच्छ्रे गाउँ कार्यसमितिको अधिवेशनमा भएको निर्वाचनमा वीरेन्द्र गुरूङ सभापति निर्वाचित भएका छन्। उपसभापतिमा रामबहादुर गुरूङ र मिनबहादुर गुरूङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल, सहसचिवमा महादेव गुरूङ र बालकृष्ण गौतम निर्वाचित भएका छन्।
मादी गाउँपालिका कार्यसमितिको अधिवेशनमा सभापति पदका लागि यमबहादुर गुरूङ र देवीजंग गुरूङ, सचिवमा ३ जना र सहसचिवमा ६ जना उम्मेदवार छन्। मादीमा कार्यसमिति सदस्यमा सर्वसम्मत भए पनि पदाधिकारीमा निर्वाचन भइरहेको जनाएको छ।