प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ।
संसदीय दलको विधान पारित गरेर नेता चयन गर्न बैठक बोलाइएको प्रदेश सभा सदस्य परमेश्वर साहले बताए।
तत्कालीन जनता समाजवादी पार्टी विभाजित भएर गठन भएको लोसपा संसदीय दलको यो पहिलो बैठक हो। जनकपुरस्थित होटेल सिटी स्टारमा आइतबार दिउँसो बैठक बोलाइएको छ।
बैठकमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा लगायका नेता समेत सहभागी हुनेछन्।
दलको नेता समबन्धमा बनेको विधानप्रति सांसदहरुको एकमतै रहेकाले पारित गर्न सहज देखिएको छ। तर संसदीय दलको नेतामा तीन जना सांसदले आकांक्षी छन्।
सांसद जितेन्द्र सोनल, उपेन्द्र महतो र सुरिता साह संसदीय दलको नेताका आकांक्षी हुन्।
जसपा परित्याग गरेर १६ जना सांसद लोसपा रोजेका छन्। तर पार्टीभित्रको आन्तरिक गुटले एकले अर्कोलाई सहजै स्वीकार गर्न सक्ने अवस्था भने छैन।
लोसपा तथा जसपा गठन हुनुअघि सोनल तत्कालीन राजपा संसदीय दलका नेता थिए। फेरि उनैलाई दलको नेता मान्न नसकिने दलको नेताका आकांक्षी अन्य सांसदले बताएका छन्।
सरकारमा सहभागी भएको बखत अध्यक्ष ठाकुर निकटका केही सांसदहरुलाई मात्र योजना र बजेट दिएको उनीहरुको आरोप छ।
‘उहाँले आफ्ना गुटमा बस्ने र अघिपछि गरिरहने सांसदलाई मात्र योजना दिनुभयो। दलका सबै सांसदहरुसँग समान व्यवहार गर्नुभएन,’ महतो निकट एक सांसदले भने, ‘उहाँकै गतिविधिका कारण धेरैजना सांसद जसपामै रहन बाध्य भए। दलका नेता भएर पूर्व राजपाका सांसदहरुलाई पार्टीमा ल्याउन सक्नुभएन, उहाँ असफल सावित हुनुभयो।’
अध्यक्ष ठाकुरनिकट सांसद रहेका सोनललाई प्रदेशसभा सदस्य अभिराम शर्मा, परमेश्वर साह र निलम देवी भुमिहारीनी गरि तीन जना सांसदको मात्र साथ रहेको स्रोतको दाबी छ।
‘पहिलोपटक भागबण्डामा परेर माथिबाटै सोनलजीलाई दलको नेता बनाइयो। तर यसपालि हामी त्यस्तो हुन दिन्नौं। सहमति भएन भने मतदान प्रक्रियामा जान्छौं,’ उनले भने।
सुरिता साह पनि दलका नेताका लागि कसरतमा जुटेकी छन्। सोनलसँग असन्तुष्टिसँगै प्रतिष्पर्धीको हिसाबले समेत उनी पछि हट्ने मुडमा नरहेको बताइन्छ। यद्यपी उपेन्द्र र सुरिता दुबैजना राजेन्द्र महतोनिकट रहेकाले ती मध्ये कुनै एकजना मात्र सोनलसँग दलका नेताका लागि चुनावमा प्रतिष्पर्धा गर्ने लोसपा अध्यक्ष महतो निकट स्रोतले जनाएको छ।
दलका नेतामा दावेदारी प्रस्तुत गरेका उपेन्द्र नातामा राजेन्द्र महतोका भतिज हुन्। उनी लगायका केही सांसदले तत्कालीन जसपामै हुँदा आफ्नै दलका नेतृत्वमा रहेको सरकारविरुद्ध खुलेर विरोध गर्ने गरेका थिए।
दलका नेतामा सोनललाई नै चयन गर्न आन्तरिक छलफल चलिरहेको उनी निकट सांसद परमेश्वर साहले बताए। सहमति नभए चुनाव गरिने उनले बताए।