नेपाली भूमिमा भौतिक संरचना बनाउन ‘अन्तर्राष्ट्रिय कानुनले नदिने’ दाबी अघि सारेर अवरोध गर्ने भारतीय पक्षले भने सिमावर्ती क्षेत्रमा सिसिटिभी राखेर नेपाली भूमिको सूक्ष्म निगरानी गरिरहेको पाइएको छ।
गएको साउन पहिलो साता विराटनगर-१७ इस्लामपुरस्थित नेपाली भूमिमा बन्न लागेको नाला र कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले रोक लगाएका थिए।
हरेक बर्खामा डुबानमा पर्दै आएको विराटनगरको यो सिमावर्ती क्षेत्रमा नाला बनाउन लागेको नेपाली पक्षलाई भारतीय सुरक्षाकर्मीले अन्तर्राष्ट्रिय कानुनले सीमा क्षेत्रमा यस्ता संरचना बनाउन नहुने बताएका थिए। यस्तो दाबी गर्ने भारतीय पक्षले भने नेपाली सीमामा सिसिटिभी राखेरै गुप्तचरी गरिरहेको हो।
विराटनगर भन्सार कार्यालयको एक नम्बर गेटै छेउमा भारतले नेपालतिर फर्काएर दुई वटा सिसिटिभी राखेको छ। सिमावर्ती नेपाली नाकामा हुने गतिविधि नियाल्न भारतीय पक्षले नेपालतिर फर्काएर शक्तिशाली सिसिटिभी राखेको नेपाली सुरक्षा अधिकारी बताउँछन्।
‘नेपालतिर फर्काएर भारतले दुई वटा सिसिटिभी राखेको रहेछ,’ सीमा सुरक्षामा खटिँदै आएका एक जना प्रहरी अधिकारीले भने, ‘हाम्रोतिर नाला बनाउन, कल्भर्ट बनाउन पनि नदिने भारतले नेपालतिरै फर्काएर सिसिटिभी राख्न झनै नपाउने हो।’
सुरक्षा स्रोतका अनुसार जोगबनीस्थित एउटा घरको सबैभन्दा माथिल्लो तलामा नेपालतिर सोझ्याएर सिसिटिभी राखिएको छ। ‘भदौ २ गतेदेखि भारतीय पक्षले दसगजा क्षेत्रमा सिसिटिभी राखेको हो,’ सशस्त्र प्रहरीका एक अधिकृतले सेतोपाटीलाई भने, ‘यसरी राख्न नमिल्ने भन्ने सूचना छ। तर, हाम्रोतिरबाट कुनै अब्जेक्सन भएको थाहा भएन।’
ती अधिकृतका अनुसार भारतले राखेको सिसिटिभीले विराटनगर रानी भन्सार कार्यालय बाहिरको सम्पूर्ण दृश्य देखिन्छ।
नेपाली नाकाको दृश्य खुला रुपमा कैद गर्ने यी सिसिटिभीको मनिटर जोगवनीमा राखिएको प्रहरी स्रोतको भनाइ छ। फिल्डमा खटिएका आफ्नै मातहतका प्रहरीले देखेको सिसिटिभी सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले भने अझै नदेखेको बताइरहेको छ।
सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले अहिलेसम्म दसगजा क्षेत्रमा नेपालतिर फर्काएर सिसिटिभी राखिएको विषयमा कुनै जानकारी नआएको बताए। ‘अहिलेसम्म दसगजा क्षेत्रमा सिसिटिभी राखिएको जानकारी आएको छैन,’ उनले भने, ‘कसरी राखेको छ। यदि त्यस्तो छ भने आधिकारिक रुपमा जिल्ला सुरक्षा समिति छ। हामी संयुक्त रुपमा अनुगमन गर्नेछौं। त्यसपछि थप प्रक्रिया अगाडि बढाउँछौं।’
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा क्षेत्रमा यसरी सिसिटिभी राख्न नपाउने बताए। ‘यसरी दसगजा क्षेत्रमा नेपालतिर फर्काएर सिसिटिभी राखेको पाइए हटाउन भारतीय प्रशासनसँग पहल गर्नेछौं,’ उनले भने, ‘चाँडै जिल्ला सुरक्षा समितिको बैठक पनि बस्दैछ। यस विषयमा छलफल पनि गर्नेछु।’