नेपाली कांग्रेसले कर्णाली प्रदेशका आठ जिल्लाका ६२ पालिका (गाउँ/नगर) मा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ।
अब सुर्खेत र डोल्पाका १७ पालिकामा वडा अधिवेशन हुन बाँकी छ। यहाँ क्रियाशील सदस्यता विवादले गर्दा अधिवेशन हुन सकेका छैनन्।
अहिलेसम्म सकिएका ६२ पालिकामध्येमा महिला नेतृत्व एक पालिकामा मात्रै छ। सल्यानको छत्रेश्वरी गाउँपालिकामा सीता केसी चयन भएकी छन्। बाँकी ६१ पालिकामा पुरूष मात्रै सभापति भएका थिए।
यो पनि हेर्नुस्:
दैलेखका ११, सल्यानका, १० मध्ये ९, कालीकोटका ९, जाजरकोटका ७, रुकुम पश्चिमका ६, जुम्लाका ८, हुम्लाका ७, मुगुका ४ पालिकामा पुरुषहरू नै कांग्रेसको नेतृत्वमा आएका छन्।
दैलेखका नारायण नगरपालिकामा मनोजकुमार थापा, महाबु गाउँपालिकामा कर्णबहादुर शही, नौमुले गाउँपालिकामा गंगबहादुर शाही, भगवतीमाई गाउँपालिकामा खगेन्द्रबहादुर शाही, डुंगेश्वर गाउँपालिकामा भिमप्रसाद भट्ट, गुराँस गाउँपालिकामा चन्द्रप्रसाद भट्टराई, दुल्लु नगरपालिकामा लालबहादुर रावत, भैरवी गाउँपालिकामा हिमलाल जैसी, चामुण्डा विन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही, आठविस नगरपालिकामा अर्जुनबहादुर शाही र ठाँटीकाध गाउँपालिकामा विष्णुप्रसाद रिजाल सभापति चयन भएका छन्।
साथै जाजरकोटको शिवालय गाउँपालिकामा जस्बिर वली, छेडागाड नगरपालिकामा टोपेन्द्र अधिकारी, जुनीचाँदे गाउँपालिकामा वीरेन्द्रबहादुर शाही, भेरी नगरपालिकामा सशी बुढा, नलगाड नगरपालिकामा जयबहादुर सिंह, बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति र कुशे गाउँपालिकामा अमर बहादुर थापा सभापति चयन भएका छन्।
हुम्लाको नाम्खा गाउँपालिकामा सुनबहादुर लामा, सिमीकोटमा धर्मराज रोकाया, खार्पुनाथमा टक्क बहादुर शाही, ताँजाकोटमा कृष्णबहादुर मल्ल, अदानचुलीमा विष्णु भण्डारी, चंखेलीमा नर भण्डारी र सर्केगाड धनराज शाही चयन भएको जिल्ला सभापति जयपति रोकायाले बताए।
कालिकोटका तिलागुफा नगरपालिकामा धिरेन्द्र थापा, खाँडाचक्र नगरपालिकामा भानुभक्त शर्मा आचार्य, रास्कोट नगरपालिकामा वीर फर्साल, पलाँता गाउँपालिकामा धीरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल सभापति चयन भएका छन्।
यस्तै सन्नी त्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी, नरहरीनाथ गाउँपालिकामा रामबहादुर बटाला, महाबै गाउँपालिकामा पुराधी अधिकारी र शुभकालिका गाउँपालिकामा दीर्घ बहादुर शाही सभापति चयन भएका छन्।
जुम्लाको चन्दननाथ नगरपालिकामा रवि थापा, कनकासुन्दरी गाउँपालिकामा लालु बुढा, हिमा गाउँपालिकामा नरबहादुर शाही, तिला गाउँपालिकामा भक्तबहादुर रोकाय, तातोपानी गाउँपालिकामा धनप्रसाद चौलागाँइ र पातारासी गाउँपालिकामा गोरबहादुर बोहोरा, गुठिचौर गाउँपालिकामा टेकबहादुर भण्डारी र सिंजा गाउँपालिकामा गोविन्द शर्मा सभापति चयन भएका छन्।
यस्तै मुगुको सोरु गाउँपालिकामा कुवेरजंग शाही, मुगुमकार्मारोङ गाउँपालिकामा गारा तामाङ, खत्याड गाउँपालिकामा लोकराज दाहाल र छायानाथ रारा नगरपालिकामा राजबहादुर सेजुवाल चयन भएका छन्।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रेम वली, सानीभेरी गाउँपालिकामा सन्तोष रोका, आठविसकोट नगरपालिकामा अमृत बोहरा, बाँफीकोट गाउँपालिकामा जनक बाँठा, त्रिवेणी गाउँपालिकामा दीपेन्द्र वली र चौरजहारी नगरपालिकामा प्रेमबहादुर वली सभापति बनेका छन्।
सल्यानको त्रिवेणी गाउँपालिकामा गंगाराम पुन, कुमाख गाउँपालिकामा ईश्वरी शाही, बनगाड कुपिण्डे नगरपालिकामा पुरुषोत्तम आचार्य, शारदा नगरपालिकामा मा दीपक हमाल, कालीमाटी गाउँपालिकामा गणेश केसी, दार्मा गाउँपालिकामा कृष्ण वली, कपुरकोट गाउँपालिकामा यज्ञराज वली, सिद्धकुमाख गाउँपालिकामा वीरबहादुर बुढाथोकी र बागचौर नगरपालिकामा दिपेश डिसी सपभापति चयन भएका छन्।
पौडेल पक्षका सभापति धेरै
कर्णालीका अधिवेशन भएका ६२ पालिकामध्ये धेरैमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व लिएको छ।
कर्णालीका अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। जसमध्ये ३४ स्थानीय तहमा पौडेल समूहका सभापति चयन भएका छन्।
सल्यानका ५, दैलेखका ६, कालीकोटका ७, जाजरकोटका ३, जुम्लाका ६, हुम्ला र मुगुका एक/एक, रुकुम पश्चिमका ५ स्थानीय तहमा पौडेल पक्षले नेतृत्व लिएको छ।
जाजरकोटको एक पालिकाका सभापति भने कुनै पक्षमा पनि खुलेका छैनन्। यद्यपी जाजरकोटको शीर्ष नेतृत्वले भने जिल्लामा नेतृत्व चयनको गुटगत अवस्था खुलाउन चाहेको छैन।