नेपाली कांग्रेस विराटनगर महानगर सभापतिका लागि केन्द्रीय सदस्य शेखर कोइराला समूहबाटै धेरै जना आकांक्षी देखिएका छन्।
कोइरालानिकट तीन जना नेताहरू चुनावी प्रतिस्पर्धामा जाने भएपछि संस्थापनइतर समूह तनावमा परेको छ।
कोइराला-वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका तीन जना नेताहरू सभापतिमा भिड्ने भएपछि पार्टी सभापति शेरबहादुर देउवा समूहले भने एकल उम्मेदवारी दिँदैछ।
आज हुने उम्मेदवारी मनोनयन दर्तामा कोइराला-पौडेल समूहका तीन र देउवा समूहका एक गरी चार जनाले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
संस्थापनइतर समूहका धेरै जना प्रतिस्पर्धामा उत्रँदा त्यसको फाइदा आफूलाई हुने अनुमान देउवा पक्षको छ। तर संस्थापनइतर पक्ष त्यस्तो सम्भावना नरहेको बताउँछ।
कांग्रेस मोरङ स्रोतकाअनुसार कोइराला-पौडेल समूहबाट अरुण न्यौपाने, दीपक चापागाई र कृष्ण कार्की सभापति पदको दौडमा छन्।
देउवा समूहबाट सन्तोष न्यौपाने सभापति पदको दौडमा छन्। कांग्रेसका नेताहरू सहमति जुटाउने प्रयासमा लागेका छन्। यदी सहमति प्रयास विफल भए ६४८ जना प्रतिनिधिले महानगर नेतृत्व छान्नेछन्।
विराटनगर महानगर कांग्रेसका प्रभावशाली नेताहरू शेखर कोइराला, महेश आचार्य, मीनेन्द्र रिजाल, सुजाता कोइराला, अमृत अर्याल लगायतको गृहनगर हो।
यसर्थ यी सबै नेताको चासो महानगरको पार्टी नेतृत्व चयनमा झल्किन्छ। यद्यपी अर्यालबाहेक सबै संस्थापनइतर समूहका भए पनि यी हेभिवेट नेताहरू महानगरमा आफ्नो टिमबाट एकल उम्मेदवार चयन गर्न यसपटक विफल देखिएका छन्।
स्रोतकाअनुसार अहिले शेखर कोइराला लगायतका नेताहरूले अरुण न्यौपानेलाई अगाडि सारेको र चापागाईंलाई मोरङका कांग्रेस नेता नागेश कोइरालाले समर्थन गरेका छन्। शेखरका विश्वासपात्र मानिने प्रदेश सांसद केदार कार्की र विराटनगरका मेयर भीम पराजुलीको समर्थन पनि अरुण न्यौपानेलाई छ।
नेताहरू महेश आचार्य र मिनेन्द्र रिजालले भने अहिलेसम्म यसबारे मुख खोलेका छैनन्। सन्तोष न्यौपाने र कृष्ण कार्की भने आफू सबै पक्षका नेताहरूको समर्थनमा सभापतिमा उठ्न लागेको बताउँछन्।
सन्तोष न्यौपानेलाई देउवा पक्षका केन्द्रीय सदस्य अमृत अर्यालको समर्थन छ। विराटनगर महानगरको कांग्रेस निर्वाचनमा पार्टी नेताहरू शेखर कोइराला, महेश आचार्य र अमृत अर्यालको आ-आफ्नै दाउपेच चलिरहेको छ।
स्रोतकाअनुसार ६ सय ४८ जना प्रतिनिधिमध्ये शेखर कोइरालाको निर्वाचन क्षेत्र ६ का २२७ जना, महेश आचार्यको निर्वाचन क्षेत्र ४ का २४५ जना र अमृत अर्यालको निर्वाचन क्षेत्र ५ बाट ९६ जना प्रतिनिधि रहेका छन्। यसबाहेक तत्कालीन फोरम लोकतान्त्रिक, राप्रपाबाट कांग्रेस प्रवेश गरेका र पक्षधरता नखुलेकाहरू ८० जना रहेका छन्।
‘हामीले हेर्दा अर्याल, कोइराला र आचार्यमध्ये दुई पक्ष जता मिले पनि भारी हुने देखिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘अहिलेसम्म कोइराला र आचार्यकै मिल्ने सम्भावना देखिएको छ।’
कांग्रेसका नेता अमृत अर्यालले मनोनयन हुनुभन्दा अगाडिसम्म सहमतिको प्रयास हुने बताएका छन्। उनले शुक्रबार दिनभरिमा कुनै नै कुनै हिसाबले सहमति हुने र नभएको अवस्थामा लोकतान्त्रिक प्रक्रिया अपनाइने बताए।