विधान महाधिवेशनका लागि देशभरिबाट नेकपा एमालेका कार्यकर्ता ललितपुरको गोदावरीमा भेला भएका छन्। एमालेको प्रथम महाधिवेशनमा आएकाहरू एमालेका अगुवा कार्यकर्ता हुन्।
एमाले विभाजन भएको र प्रतिपक्षमा रहेको अहिलेको अवस्थामा एमालेको गोदवरी भेलालाई शक्ति प्रदर्शनको रूपमा समेत लिइएको छ। पार्टीको अबको कार्यनीती कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर हामीले एमालेको विधान महाधिवेशनमा आएका प्रतिनिधिलाई सोधेका छौ। उनीहरूसँग गरिएको केही प्रतिनिधिमूलक भिडिओ कुराकानीसमेत राखेका छौं:
पार्वती रावल, राष्ट्रिय सभा सांसद एवम् एमाले चितवन जिल्ला अध्यक्ष
नयाँ संरचनाअनुसार पहिलो पटक विधान महाधिवेशन भएको छ। पहिलो त राज्यको संरचनाअनुसार पार्टी संगठनलाई अघि बढाउँछौं। समावेशी समानुपातिक भित्रको विविधतालाई कसरी प्राथमिकता दिने भन्ने छ। पदाधिकारीमा एक तिहाइ सुनिश्चिताको कुरा हामीले उठाएका छौं। पार्टीमा युवा सहभागिता पनि एक तिहाइ बनाउन हामीले माग गरेका छौं। पार्टीको कामलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर बहस भएको छ। पार्टीलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने विषय उठाएका छौं।
विधान महाधिवेशनबाट नीति पारित भएपछि नेतृत्व छनौटमा महाधिवेशन केन्द्रित हुन्छ। नेकपाको विरासतको रूपमा अहिले एमाले रहेको छ। सबैलाई पार्टीको मूल प्रवाहमा जोड्नु पर्छ। केही साथीहरू बाहिर अहिले पनि छन्। यो विधान महाधिवेशनपछि धेरै साथीहरू जोडिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। विभिन्न समूहमा रहेका कम्युनिष्ट साथीहरूलाई समेत हाम्रो पार्टीमा जोड्नुपर्छ।
उषाकिरण तिम्सिना, बागमती प्रदेश कमिटी सदस्य
राजनीतिक प्रतिवेदन अलि एकपक्षीय ढंगले आएको छ। प्रतिवेदनमा प्रतिनिधि सभा विघटनको कम चर्चा छ। नेकपा एमालेको सुन्दर पक्ष भनेको यसले आफूलाई प्रजातान्त्रिक बनाउँदै लगेको छ। तर माथिका नेताहरूले आफुखुसी निर्णय गर्दा यो संकट आएको भन्ने धारणा प्रतिनिधिहरूको छ। त्यसैले यो विधान महाधिवेशनमा आएको सुझावको आधारमा अघि बढ्नुपर्छ।
अहिलेको अवस्थालाई निकास दिनु पर्ने नेता चाहिन्छ। सबैको एजेन्डा मेरो एजेन्डा हो भन्ने नेता चाहिन्छ। मेरोभन्दा हाम्रो भन्ने हुनुपर्छ। सामूहिक ढंगले चलाउने नेता चाहिन्छ।
हामीले अनुशरण गरेको दर्शनले के भन्छ भने हरेक पतनको कारण आन्तरिक कारण हो। पार्टी प्रतिपक्षी हुनु र शक्ति क्षयीकरणको वस्तुगत मूल्याकंन गर्नुपर्छ। हाम्रो पार्टीको अध्यक्षले सामूहिक निर्णय गरेको भए यो संकट आउँदैनथ्यो भन्ने सुझाव आएको छ।
बाबुरा खरेल, चितवन
पार्टीलाई कसरी अघि बढाउने र भोलि सरकारमा गएपछि कसरी देशको नेतृत्व गर्ने भन्ने विष आएका छन्। विधानले पार्टीलाई चलायमान बनाउने सदस्यताको मापदण्ड बनाउने, देशको ठूलो पार्टी बनाउने एजेण्डा तय गर्छ।
पार्टी विभाजन भएको हो कि चोइटिएर केही नेता गएका हुन भन्ने हो। राजनेताको छवि बनाएका केपी शर्मा ओलीको रिस र कुण्ठाको कारणले पार्टी चोइट्याउने काम भएको हो। देशव्यापी रूपमा जनताले बुझेका छन्। केपी कमरेडको नेतृत्वमा ठूलो संख्यामा कार्यकर्ता गोलबन्द भएका छन्। आगामी निर्वाचनमा ठूलो पार्टी बन्छ। हिजो पनि पार्टी जमिनी कार्यकर्ताले जोगाएका छन्। अब पनि उनीहरूले नै जोगाउन हुन्।
इन्दु आचार्य, पेशागत संगठन
एमाले कसरी अघि बढाउने भन्नेमा अहिलेका प्रतिवेदन ठीक छन्। हाम्रो पार्टीको मार्ग निर्देशक सिद्धान्त र जनताको आधारमा हामी अघि बढ्नु पर्छ। यो पार्टी आ-आफ्ना स्वार्थका कारण विभाजन भएको हो। पार्टी बनाउने हो भने स्वार्थलाई ध्यान दिनु भएन।
श्रृजना तामाङ, उपाध्यक्ष जुगल गाँउपालिका
प्रतिवेदन बृहत तरिकाले बनाइएको छ। यसलाई सटिक बनाउन पाए राम्रो हुन्थ्यो भन्ने सुझाव पनि आएका छन्। विधान महाधिवेशनमा धेरै विषय आएका छन्। यसलाई कार्यान्वयनमा लगियो भने राम्रो हुन्छ।
पार्टी विभाजन केन्द्रको कुरा भयो। विभिन्न खालका मतभेदका कारणले यस्तो भयो। हामी सबै ठ्याक्कै भन्न सक्दैनौं, यसको कारण के हो भनेर। त्यस्तो हुनु हुँदैनथ्यो। यसले पार्टीलाई प्रभाव पारेको छ।
संगिता भण्डारी, उपमेयर अमरगढी नगरपालिका डडेल्धुरा
जुन विषय प्रतिवेदनमा उल्लेख छ त्यसलाई व्यवहारमा लागु गर्नुपर्छ। दस्तावेजमा लेखेरमात्रै हुँदैन। दस्तावेजअनुसार काम नगरे चुनावमा हामीलाई असजिलो पर्न सक्छ। पार्टी विभाजन नेताहरूको व्यक्तिगत इगोले हो कि भन्ने भएको छ। पार्टीलाई क्षति हुन नदिन हाम्रा विधान तथा नीतिहरूलाई कार्यान्वयन गर्नुपर्छ। यस्तो भएन भने विश्वासको वातावरण बन्दैन। विश्वासको वातावरण बनेन भने भोलिका दिनमा हुने फुटलाई जोगाउन सक्दैनौं। फुटेर गएकाहरूप्रति नकारात्मक टिप्पणी नगरी उहाँहरूसँग वार्ता गर्नुपर्छ भनेर सुझाव दिएका छौं। अब नेतृत्व गर्ने मौका युवा पुस्तालाई दिनुपर्छ।
रामेश्वर साह, सिरहा
पार्टी भनेको अनुशासित हुनुपर्छ। विधिबाट चल्नुपर्छ। नेताहरूबाटै अनुशासन उल्लंघन भएको छ। तलबाट भएको छैन। व्यक्तिगत महत्वकांक्षा र अवसरवादको कारणले पार्टी चोइटिएको हो। नीति सिद्धान्त र विचारमा भिन्नता छैन।
मनोज पौडेल, बारा
मुलुकको राजनीतिलाई नयाँ दिशा दिन्छ भन्ने हामीलाई लागेको छ। जुन ढंगबाट पार्टी विभाजन भयो त्यसले कार्यकर्तामा निराशा आएको छ। तर विधान अधिवेशनले कार्यकर्तामा राम्रो उर्जा दिएको छ।
इच्छापूर्ण राई, धनकुटा
प्रतिवेदनहरू जुन आएका छन्, अत्यन्तै सुझबुझका साथ आएका छन्। आम रूपमा धेरै प्रतिनिधि बोलाएर छलफल गर्ने कुरामा केही त्रुटी भने देखिएको छ। पार्टी विभाजनको कारण पद लोलुपता हो। विचारको लडाइँ थिएन। केही व्यक्तिको पदप्रतिको लोभ लालचना गरेर हो। माधव नेपालको नेतृत्वमा विभाजन भयो। उहाँले एमालेमै बसेर संघर्ष गर्नुपर्थ्यो। निर्वाचनमा यसले कुनै तात्विक असर पार्दैन तर आन्तरिक जीवनको व्यवस्थापनमा असर पार्छ।