नेपाली कांग्रेसले काठमाडौंका ११ स्थानीय पालिकामध्ये ९ वटामा नयाँ नेतृत्व चयन गरेको छ।
१४ औं महाधिवेशनअन्तर्गत कांग्रेसले गत शनिबारदेखि काठमाडौंमा पालिका अधिवेशन सुरू गरेको थियो।
अहिलेसम्म ९ पालिका अधिवेशनको मतपरिणाम सार्वजनिक भइसकेका छन्।
यीमध्येमा पूर्वमहामन्त्री प्रकाशमान सिंह-गगन थापा पक्ष हाबी देखिएको छ।
छ पालिकामा सिंह-थापानिकट विजयी हुँदा दुई पालिकामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका विजयी भए भने एउटा पालिकामा मात्रै सभापति शेरबहादुर देउवानिकट विजयी भएका छन्।
सिंह-थापानिकटले काठमाडौंका पालिकामा एकल उम्मेदवार प्रस्तुत गरेका थिए। उनीहरूले अधिकांश पालिकामा जित हासिल गरेका छन्।
काठमाडौंमा सभापति देउवा र पूर्वमहामन्त्री सिटौला पक्ष पनि मिलेरै उम्मेवारी दिएका छन्। काठमाडौंमा अब कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा मात्रै अधिवेशन हुन बाँकी छ।
कहाँ कसले जिते?
काठमाडौं महानगरपालिका:
काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य निर्वाचित भए। उनी वडा नम्बर २५ का वडाध्यक्ष पनि हुन्।
कलाकारसमेत रहेका शाक्य सिंह-थापा समूहबाट उम्मेदवारी दिएका थिए।
उनले सभापतिका अर्का उम्मेदवार प्रगतिमान रञ्जितलाई हराएका हुन्। रञ्जित नेता भीमसेनदास प्रधाननिकट हुन्। उनलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पनि समर्थन गरेका थिए।
शाक्यले ७८६ मत ल्याए भने रन्जितले जम्मा ३२९ मत ल्याएका छन्। महानगरमा सिंह थापानिकट शाक्यको प्यानल नै विजयी भएको छ।
शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन्। ढकालले ८४१ र महर्जनले ८०१ मत ल्याएका थिए।
यस्तै सचिवमा सुशन वैद्य र पुरूषोत्तम खकुरेल विजयी भए। यस्तै सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन्।
यीमध्ये सचिवद्वय वैद्य र खकुरेल गगन थापानिकट मानिन्छन्। खकुरेल भीमसेनदास प्रधान छाडेर थापा समूहमा आएका थिए। काठमाडौंमा प्रकाशमान सिंह र भीमसेनदास प्रधान समूहको पकड मानिन्छ।
काठमाडौं महानगरमा १५ वर्षपछि कांग्रेसले अधिवेशन गरेको हो। यसअगाडि १३ औं र १२ औं महाधिवेशनमा काठमाडौं महानगरमा अधिवेशन नै भएको थिएन।
गोकर्णेश्वर नगरपालिका:
कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा निर्वाचित भए। उनी कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह-गगन थापानिकट मानिन्छन्।
उनले १०९ मत ल्याएर सभापति विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत मात्रै ल्याएका थिए।
उपसभापतिमा वटुकृष्ण ढुङ्गेलले १२० र विकास श्रेष्ठ ११५ मत ल्याएर निर्वाचित भए भने सचिवमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भएको कांग्रेसले जनाएको छ।
सहसचिवमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भएका छन्।
कागेश्वरी मनोहरा नगरपालिका:
कांग्रेसको कागेश्वरी मनोहरा नगर अधिवेशनबाट सभापतिमा उद्धव दाहाल विजयी भए। दाहाल सभापति शेरबहादुर देउवानिकट हुन्।
उनले सभापतिमा उम्मेदवार मिठ्ठाराम दाहाललाई हराए। उद्धवले १५१ मत ल्याएर विजयी भए भने मिठ्ठारामले जम्मा १३८ मत ल्याए।
उपसभापतिमा शंकरबहादुर विष्ट र राम खड्का विजयी भए भने सचिवमा सुजन थपलिया र सुरेन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। यस्तै सहसचिवमा रमेश घिमिरे र विनोद मुल्मी निर्वाचित भएको कांग्रेसले जनाएको छ।
टोखा नगरपालिका:
कांग्रेस टोखा नगर सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन्। उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, भीमसेनदास प्रधाननिकट मानिन्छन्।
उनले ११७ मत पाए भने सभापतिका अर्का उम्मेदवार दीपक जोशीले १०६ मत मात्रै ल्याए।
उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी, सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुँइकेल निर्वाचित भए। सहसचिवमा विजेन्द्र श्रेष्ठ र रीता प्रजापति श्रेष्ठ विजयी भएको कांग्रेसले जनाएको छ।
शंखरापुर नगरपालिका:
कांग्रेसको शंखरापुर नगर सभापतिमा दिलिपकुमार श्रेष्ठ निर्वाचित भए। उनी पूर्वमहामन्त्री प्रकाशमान सिंह-गगन थापानिकट मानिन्छन्।
श्रेष्ठले ८६ मत ल्याएर सभापतिमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत मात्रै ल्याएका थिए।
उपसभापतिमा अमित प्रधान र मिलन खड्का विजयी भए भने सचिवमा स्वयम्भूलाल श्रेष्ठ र रनबहादुर तामाङ विजयी भएका छन्। सहसचिवमा भने श्रीराम लामिछाने र बसन्त थिङ विजयी भएका छन्। सभापतिदेखि प्यानल नै सिंह-थापा निकटले जितेका हुन्।
तारकेश्वर नगरपालिका:
कांग्रेस तारकेश्वर नगरपालिका सभापतिमा कृष्णहरि महर्जन बिजयी भए। उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्।
सभापतिका उम्मेदवारहरू श्रीराम थापा र मुकुन्द तिमिल्सिनालाई महर्जनले हराएका हुन्। महर्जनले १३५ मत ल्याएर सभापति जिते भने उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ र मुकुन्द तिमिल्सिनाले २ मत मात्रै ल्याए।
उपसभापतिमा १२३ मतसहित जमुना तिमिल्सिना र १२५ मतसहित नवराज अर्याल विजयी भएका छन्। सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भए भने सहसचिवमा सरस्वती पौडेल र अप्सरा खड्का निर्वाचित भएका छन्।
नागार्जुन नगरपालिका:
कांग्रेसको नागार्जुन नगर सभापतिमा दुर्गाप्रसाद गौतम निर्वाचित भए। उनी पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापानिकट मानिन्छन्।
गौतमले १२८ मत ल्याए भने सभापतिका अर्का उम्मेदवार अच्युत पाण्डेले ७८ मत मात्रै ल्याएका थिए। उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी निर्वाचित भए भने सचिवमा कृष्ण दाहाल र रविन श्रेष्ठ निर्वाचित भएका छन्।
सहसचिवमा अमृत लामिछाने र सविन गौतम निर्वाचित भएको कांग्रेसले जनाएको छ।
बूढानिलकण्ठ नगरपालिका:
कांग्रेस बूढानिलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्। उनी प्रकाशमान सिंह-गगन थापानिकट छन्।
देउवाको गृहनगरमै बुढाथोकीले जित हासिल गरेका हुन्। देउवाको घर बूढानिलकण्ठमा छ।
बुढाथोकीले १५५ मत ल्याए भने उनका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत ल्याएका छन्।उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की निर्वाचित भए।
सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी निर्वाचित भए। सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका हुन्।
चन्द्रागिरि नगरपालिका:
कांग्रेस चन्द्रागिरि नगरपालिका सभापतिमा घनश्याम गिरी चयन भएका छन्। सर्वसहमतिअनुसार गिरि आइतबार बेलुकी सभापति पदमा चयन भएका हुन्।
गिरी पूर्वमहामन्त्री प्रकाशमान सिंह-गगन थापानिकट मानिन्छन्।
चन्द्रागिरि नगर कार्यसमितिको उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्रविक्रम बानियाँ चयन भए भने सचिवमा राजेन्द्र महर्जन र नविन महर्जन चयन भएको कांग्रेसले जनाएको छ।
सहसचिवमा भने भुवन श्रेष्ठ र मञ्जयप्रकाश श्रेष्ठ चयन भएका छन्।
यी हुन् अधिवेशन हुन बाँकी नगरपालिका:
कांग्रेसले काठमाडौंमै पनि पालिका अधिवेशन एकैदिन गर्न सकेन। असोज ९ मा पालिका अधिवेशन गर्ने भने पनि असोज १६ का लागि सारिएको थियो।
कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा कांग्रेसले पालिका अधिवेशन गर्न सकेको छैन। कीर्तिपुरमा सहमतिमै आज नेतृत्व चयन गर्नेबारे छलफल भइरहेको छ। कीर्तिपुर र दक्षिणकालीमा पनि सिंह-थापा समूह नै बलियो रहेको स्रोतको दाबी छ।
दक्षिणकालीको वडा नम्बर २ मै वडा अधिवेशन हुन सकेको छैन।
पालिका अधिवेशन हुन वडा अधिवेशन हुनुपर्छ किनभने पालिका अधिवेशनमा वडा सभापति र वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधि मतदाता हुन्छन्।
काठमाडौंका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार बाँकी रहेका क्षेत्रमा पनि दसैंअगाडि नै अधिवेशन गर्ने तयारी छ।
कांग्रेसले १४ औं महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरेको छ।
पहिलोपटक सिंह-थापाको जोडी:
कांग्रेस काठमाडौंको राजनीति लामो समयदेखि गणेशमान सिंहका छोरा प्रकाशमान सिंहको पकडमै छ।
काठमाडौंको नेता भनेर सिंहलाई कांग्रेसीले चर्चासमेत गर्छन्। केही दिनअगाडि सिंहले काठमाडौंमा जन्मेर वा गणेशमान सिंहको छोरा भएर मात्रै आफू सभापति हुन नपाउने हो? भन्ने प्रश्न नै गरेका थिए।
उसो त अन्यत्रभन्दा काठमाडौं कांग्रेसको राजनीति बेग्लै छ। यहाँ यसअगाडिका अधिवेशनमा सिंह एकातर्फ अरू नेता अर्कोतर्फ हुन्थे। यसपालि भने सिंहलाई साथ दिन गगन थापा आइपुगेका हुन्।
१२ औं महाधिवेशनभन्दा अगाडि शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिकलाई कांग्रेससँग एकीकरण गरेका थिए। पार्टी एकता हुनुअगाडि सिंह देउवासँगै थिए। जब पार्टी एकता भयो त्यसपछि उनी सुशील कोइरालानिकट हुन पुगे।
त्यसबेला सिंहले काठमाडौं जिल्ला सभापतिमा राजन केसीलाई उम्मेदवार बनाएका थिए जबकी कोइराला पक्षबाट भीमसेनदास प्रधान जिल्ला सभापतिका उम्मेदवार थिए। नरहरि आचार्य, गगनलगायतको समर्थनमा त्यसबेला प्रधान जिल्ला सभापति भएका थिए।
१२ औं महाधिवेशनमै सिंह भने कोइराला पक्षबाट महामन्त्री निर्वाचित भएका थिए। त्यसबेला पनि काठमाडौंको राजनीति भिन्न रहेको थियो।
यो क्रम २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि उस्तै रह्यो। सिंहले सबुज बानियाँलाई जिल्ला सभापतिमा चुनाव लडाएका थिए। गगनलगायतले भने भीमसेनदास प्रधानलाई नै दोहोर्याएर चुनाव लडाए त्यसबेला सबुजले चुनाव जितेका थिए।
त्यसबेलासम्म काठमाडौंमा सिटौला गुट भन्ने थिएन। जिल्ला अधिवेशनपछि महाधिवेशन हुँदा गगन सिटौला समूहबाट महामन्त्री पदमा लडे भने भीमसेनदास प्रधान पनि सिटौलासँगै जोडिन पुगे।
तर अहिले गगन र प्रधान बेग्लाबेग्लै समूहतिर छन्। गगन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षतिर देखिँदा प्रधान भने सिटौला हुँदै सभापति शेरबहादुर देउवानिकट देखिन पुगेका छन्।
प्रधानकै जोडबलले काठमाडौं महानगरमा देउवा र सिटौलाको समर्थनमा प्रगतिमान रञ्जितलाई सभापतिको उम्मेवार बनाइएको थियो तर उनले नीलकाजी श्रेष्ठलाई हराउन सकेनन्।
यसपालि सिंह-थापाले काठमाडौंका सबै पालिकामा मिलेर संस्थापन पक्ष विरूद्धमा उम्मेदवारी दिएका छन्। मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने थापाले घोषणा गरिसकेका छन् भने सिंह सभापतिका आकांक्षी हुन्।