नवनियुक्त शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादव राजनीतिमा लागेको ३४ वर्ष भयो। ४७ वर्षीया यादवले २०४४ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरू गरेकी हुन्।
२०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरू गरेदेखि नै उनी युद्धमा होमिइन्। कहिले भूमिगत त कहिले अर्धभूमिगत रूपमा उनी माओवादी आन्दोलनमा सहभागी भइन्। उनीमात्रै होइन उनको सिंगो परिवार नै माओवादी युद्धमा सहभागी भएको थियो।
राजनीतिमा गरेको निरन्तरता र पार्टीप्रतिको समर्पणले गर्दा आफूले जिम्मेवारी पाएको यादवले सेतोपाटीसँग बताइन्।
'हाम्रो त परिवार नै माओवादी आन्दोलनमा लागेको हो। जनयुद्धको तयारी गर्दैगर्दा हामीले बुवा गुमायौं। जनयुद्धमा भाइको सहादत भयो। हाम्रा अन्य आफन्तले पनि जनयुद्धमा ज्यान गुमाएका छन्,' उनले भनिन्, 'म पनि जनयुद्ध सुरू भएदेखि नै पार्टीमा सहभागी थिएँ। २०५८ सालअघि अर्धभूमिगत थिएँ र त्यसपछि पूर्ण भूमिगत भएको हो।'
यादवका बुवा रामवृक्ष यादव माओवादीले जनयुद्ध सुरू नगर्दै मारिएका थिए। तत्कालीन नेकपा मसालले २०५१ साल भदौ १ गते नेपाल बन्दको घोषणा गरेको थियो। कात्तिकमा हुने निर्वाचनको विरोधमा मसालले नेपाल बन्द गराएको थियो। त्यही बन्द कार्यक्रमबाट फर्किँदै गर्दा नेकपा मसालका तत्कालीन केन्द्रीय सदस्य रामवृक्ष यादव मारिएका हुन्। पार्टीभित्र र स्थानीय स्तरमा यादव मास्टरसाहेबका रूपमा चर्चित थिए।
२०६४ सालको निर्वाचनमा बोधमायाकी आमा रामकुमारी यादव धनुषाबाट निर्वाचित भएकी थिइन्। ग्यास पड्किएका कारणले १० वर्षअघि रामकुमारीको मृत्यु भएको थियो। उनलाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको थियो। तर उपचार सम्भव हुन सकेन।
बोधमाया माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत हुन्। पारिवारिक विरासत र आफ्नो योगदानलाई पार्टीले मूल्यांकन गरेको बोधमायाको भनाइ छ।
यादवलाई राज्यमन्त्रीको जिम्मेवारी दिएर माओवादीले एकैसाथ दुई सन्देश दिएको छ। एकातिर उसले समावेशी अनुहारलाई सरकारमा पठाएको छ भने अर्कोतिर माओवादी केन्द्रले सहिद परिवारको सम्मान गर्छ भन्ने संकेत दिन खोजेको छ।
त्यसो त माओवादी केन्द्रले यस पटक सरकारमा पठाउने व्यक्तिहरू समावेशी बनाउने प्रयास गरेको छ।
आफ्नो भागमा परेको ६ मन्त्रीमध्ये ३ जना महिलालाई उसले मन्त्री बनाएको छ। यस अर्थमा उसले ५० प्रतिशत महिलालाई सरकारमा पठाएको छ।
माओवादीको तर्फबाट सरकारको नेतृत्व उर्जामन्त्री पम्फा भुसालले गरेकी छन्। उनी असार २८ गते मन्त्री बनेकी हुन्। जनार्दन शर्मा अर्थमन्त्री बनेका छन्। देवेन्द्र पौडेल शिक्षामन्त्री बनेका छन् भने शशी श्रेष्ठ भूमि मन्त्री बनेकी छन्। त्यस्तै महेश्वर गहतराज खेलकुद मन्त्री बनेका छन्।
माओवादीले बनाएका ६ जनामन्त्री मध्ये १ जना दलित, १ जना जनजाति र १ जना मधेशी समुदायका छन्।