प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाललाई मन्त्री पदबाट राजीनामा दिन भनेका छन्।
प्रधानमन्त्रीको आग्रहअनुसार मन्त्री हमालले आज बिहान राजीनामा दिने घोषणा गरिसकेका छन्। मन्त्री हमाल राजीनामा पत्र बोकेर बालुवाटार जाँदैछन्।
प्रधानमन्त्री देउवाको आज पोखरा जाने कार्यक्रम छ। हमालको राजीनामा पत्र बुझेर देउवा पोखरा जाने स्रोतले जानकारी दियो। उनको राजीनामा आजै स्वीकृत हुने सम्भावना छ।
स्रोतका अनुसार शनिबार बेलुकी प्रधानमन्त्री देउवाले मन्त्री हमाललाई राजीनामा दिन सुझाएका थिए। मन्त्रीमा कायमै राख्दा बाहिर नराम्रो सन्देश गएको र विवादमा पनि मुछिएकोले राजीनामा दिन देउवाको आग्रह थियो।
‘मिडियाले नराम्रो रूपमा लिएको छ। सन्देश पनि राम्रो गएन,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजीनामा दिनुस्।’ बालुवाटारनिकट स्रोतका अनुसार चौतर्फी रूपमा भइरहेको आलोचना र देउवाको सुझावबमोजिम हमालले राजीनामा दिने निर्णय गरेका हुन्।
तर, उद्योग मन्त्री हमालले आफूले स्वविवेक प्रयोग गरी राजीनामा दिन लागेको बताएका छन्। उनले आफू पदका लागि मरिहत्ते नगर्ने र विवादमा पर्न नचाहेकोले राजीनामा दिन लागेको बताएका छन्।
‘म राजीनामा दिँदैछु,’ उनले भने, ‘मैले स्वविवेक प्रयोग गरेँ। विवादमा पर्दिनँ। मिडियामा समाचार आएपछि त प्रधानमन्त्री देउवालाई पनि मेरो राजीनामा स्वीकृत गर्न दबाब पर्छ नि!’
हमाल कांग्रेस बाँकेका पूर्वसभापतिसमेत हुन्। उनी २०५३ देखि ०५६ सम्म बाँके कांग्रेस सभापति रहेर काम गरेका थिए। देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा पनि उनी बाँके सभापति भएका थिए।
लामो समयदेखि कांग्रेस राजनीतिमा रहेका हमाल देउवाका 'दोस्ती' हुन्। हमालको परिवार कांग्रेस राजनीतिमा सक्रिय छ। उनका भाइ लुम्बिनी प्रदेश सभामा कांग्रेसबाट सांसद छन्।
हमाल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका जेठान पनि हुन्। मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको आरोपसमेत लागेको थियो भने कानुनविद्हरूले त्यसको विरोध गरिरहेका थिए।
हमाल सांसद पनि छैनन्। संविधानअनुसार सांसद नभएका व्यक्ति छ महिना मन्त्री हुन पाउँछ।
साथै हमालले शनिबार नै कांग्रेस महामन्त्री शशांक कोइरालासँग पनि भेटवार्ता गरेका थिए। महामन्त्री कोइरालाले पनि मन्त्री पदबाट राजीनामा दिएमा पार्टी र व्यक्तिगत रूपमा हमाललाई नै फाइदा पुग्ने सुझाव दिएको स्रोतको भनाइ छ।
हमाल असोज २२ मा मन्त्री भएका थिए। उनी कांग्रेस कोटाबाटै मन्त्री भएकोले उनले राजीनामा दिएपछि रिक्त पदमा कांग्रेसबाट नै नयाँ मन्त्री पठाउने तयारी प्रधानमन्त्री देउवाको छ।
मन्त्री भएलगत्तै कार्यभार सम्हालेका हमालले आफूले राम्रो काम गरेर देखाउने बताएका थिए।