पञ्चा सिंह २०५८ सालदेखि माओवादी 'जनयुद्ध'मा सहभागी भइन्। त्यतिबेला उनी १४ वर्षकी मात्रै थिइन्।
'जनयुद्ध'का थुप्रै मोडहरू पार गरेकी सिंहलाई अहिलेको जीवन नाफाको जीवनजस्तो लाग्छ। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि आफ्नो अधुरो पढाइ सुरू गरेकी पञ्चाले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्। कालिकोटको शिक्षक परिवारकी पञ्चाले आफ्ना बाबु कांग्रेस भए पनि माओवादी रोजिन्। दाइ प्रहरीमा भएको बेलामा पार्टीभित्रै समस्या पर्न सक्ने भएकाले आफूले कार्यक्षेत्र नै परिवर्तन गरेको सिंहले बताइन्। तिनै पञ्चा सिंह नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष बनेकी छन्। उनी अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला हुन,जसले यो संगठनको नेतृत्व गर्दैछिन्।
पञ्चाले सुरू गरेको राजनीतिक यात्रा र अबको उनको अखिल क्रान्तिकारीबारे हामीले उनीसँग भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंश:
-असोज १७ गते अखिल क्रान्तिकारको २२ औं राष्ट्रिय सम्मलेन सम्पन्न भएको छ। यो सम्मेलनले कमिटीको संख्या र नेतृत्वको हिसाबले मलाईमात्र चयन गरेको छ। हामीले विधान र राजनीतिक प्रतिवेदन पारित गरेका छौं। जनवादी शिक्षाको कार्यदिशा सिफ्ट गरेर समाजवादी शिक्षाको कार्यदिशा लिएका छौं। राजनीतिक हिसाबले मूल पार्टीले लिएको २१ औं शताब्दीको वैज्ञानिक समाजवादलाई हामीले पनि ग्रहण गर्यौं।
-हामीले समाजवादी शिक्षाको कार्यदिशा तय गर्यौं। विधान प्रतिवेदन र नेतृत्वको संख्या पनि पारित गर्यौं। अब कमिटीलाई पूर्णता दिन हामी पुरानो फ्रयाक्सन जुटिरहेका छौं। यसलाई हामीले चाँडै नै सम्पन्न गर्छौं।
-वाइसिएल नेपालको राष्ट्रिय भेलाले नेतृत्व हस्तान्तरण गरेको हो। ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गरेर नयाँ नेतृत्व चयन गर्नका लागि संयोजक र सहसंयोजक तोकिएको हो। त्यसमा पार्टीले संयोजन गर्नु स्वभाविक हो।
-हामी झन्डै आधा दर्जन आकांक्षी थियौं। अध्यक्ष हुने त एक जनामात्रै हो। अरूलाई पार्टीको भूमिकामा लैजान पर्ने भएकाले पार्टीले संयोजन गर्नु स्वभाविक छ।
-अनेरास्ववियु स्थापना भएको ५६ वर्षपछि महिला पहिलो पटक यो ठाउँमा पुगेको हो। यसलाई मैले एउटा सुखद अवसरको रूपमा लिएकी छु। हामी अरूजस्तो टायर बालेर र ढुंगा हानेरमात्रै आएको होइन। यसो भन्दै गर्दा उहाँहरूले लोकतान्त्रिक आन्दोलनमा भूमिका खेल्नुभएको छैन भन्ने होइन। रचनात्मक ढंगले राम्रो काम गर्नुभएको छ। हामी योभन्दा माथि उठेर आफ्नो जीवनलाई बलिदानी दिने उद्देश्यले अघि बढेको हो।
-मैले खेल्ने भूमिका निकै चुनौतीपूर्ण छ भन्ने बुझेको छु। शिक्षा क्षेत्रमा क्रान्ति ल्याउनका लागि हामी आन्दोलनमा लागेको हो। यसका लागि हामीले धेरै गर्न बाँकी छ। आमनागरिक शिक्षाको पहुँचबाट अहिले पनि बाहिर छन्। समाजवादी शिक्षाको आधार तयार पार्नका लागि संविधानमा भएको मौलिक हक कार्यान्वयन हुनुपर्छ। यो सँगै संगठनात्मक हिसाबले समेत अघि बढ्नु पर्छ। हामीले हरेक पालिकामा यसको संगठन बनाएका छौं। नयाँ पुस्ताको ठूलो समूह हाम्रो संगठनमा आबद्ध भएको छ।
-म माओवादी आन्दोलनमा लाग्दै गर्दा १४ वर्षकी थिएँ। त्यो बेलामा सामाजिक विभेद थियो। एकीकृत राज्य व्यवस्थाको कारणले कर्णाली धेरै पछि थियो। स्कुल गएर शिक्षा लिनेमा म पहिलो पुस्ताको महिला हो। त्यो अवस्थामा माओवादी आन्दोलनले एउटा सपना देखायो। हरेक नागरिकले शिक्षा पाउनु अधिकार हो भन्ने चेतना दियो।
-महिला दोस्रो दर्जाको नागरिक होइन भन्ने भयो। माओवादीलाई सामाजिक हिसाबले बहिष्कार गरिन्थ्यो। विभिन्न सामाजिक ढंगले अपमान गरिन्थ्यो। सँगै हिँड्ने साथी ढल्दै गर्दा बाँचेर यो ठाउमा पुगेको छु, आजको दिनमा सम्झिँदा पनि आङ जिरिङ्ग हुन्छ। त्यो बेलाको संघर्ष संकट कसरी पार गरे होला। मलाई सहिद बन्ने अवसर नपरेर यहाँ आएको हो। मेरो यो जीवन नाफाको जीवन हो भन्ने ठान्छु मैले।
-मसँगै हिँडेका थुप्रै सहयोद्धा साथीहरूको परिवार टुहुरो भएको छ। अंगभंग भएका घाइते साथीहरू छन्। दायित्व पूरा भएको छैन त्यसैले निरन्तर यात्रामा लाग्नुपर्छ मोर्चा छोडेर भाग्न हुँदैन भनेर यहाँ छु।
-म कर्णालीको मान्छे शान्ति प्रक्रियापछि सहरिया मोर्चामा क्याम्पस र विश्वविद्यालयको राजनीतिमा लागें त्यसपछि मैले धेरै पीडा र अपमान व्यहोरें। त्यो बेला निकै खिसिटिउरी गरियो। मेरो रहनसहन, मेरो खानपान बोलीलाई लिएर निकै खिल्ली उडाउने स्थिति थियो।
- संगठनको जिम्मेवारी लिएर जब काठमाडौंमा आएँ तर असाध्यै विभेदकारी सोचाइ थियो। किन सक्रिय भएको होला घर गएर बसे पनि हुन्छ, मोर्चा छोडेर थुप्रै मान्छे व्यक्तिगत जीवनमा फर्किए त भन्ने खालका कुरा नदेखेको नभोगेको होइन। संगठनकै सहयोद्धाहरूका लागि समेत म बोझ भएँ तर पनि मैले आफ्नो यात्रा छोडिनँ।
-१४ वर्षको उमेरमा संघर्षमा हिँड्दै गर्दा मलाई सानो देखेर माया गर्थे। माओवादीलाई गाँउमा जाँदा जासुसहरूको डर हुन्थ्यो। म जाँदा नमिठो कसैले दिएनन्। पार्टीमा पनि सानैमा माओवादीमा लागेको छ भनेर सबैले माया गर्नुहन्थ्यो। तर बाहिरी हिसाबले निकै जटिल थियो।
-मेरो दाइ प्रहरीमा, म माओवादीमा हुँदा जनतामा पनि संशय भयो। सेना-प्रहरीले यो हाम्रो मान्छे भन्ने गरेका थिए। कतै आत्मसमर्पण गरेर हामीलाई अप्ठेरो पर्ने हो कि भन्ने डर भएपछि मैले सरूवा मागेको थिएँ।
-कतिबेला मरिन्छ भन्ने थियो बाँचिन्छ भन्ने नै थिएन, निकै संघर्ष गरेर आएको हो।
-मेरो बुवा प्राविमा प्रअ हुनुहुन्थ्यो। लामो समयसम्म मेरो राजनीतिसँग बुवा सहमत हुनु भएन। बुवाको कांग्रेस पृष्ठभूमि अनि मेरो वामपन्थी र वामपन्थीमा पनि क्रान्तिकारी पार्टीलाई मन पराउने कुरै भएन।
-म केही समय कांग्रेसका कार्यक्रममा हिँडेको हो तर मलाई मन परेन। यो मेरो कांग्रेसप्रतिको आलोचना भने होइन। मैले घरबाटै विद्रोह गरेको हो। २०६४ सालमा मेरो परिवारका अरूले माओवादीलाई मतदान गरे तर बुवाले कांग्रेसलाई भोट दिनुभयो। शान्ति प्रक्रियापछि पनि मेरा बुवाको चाहना राजनीति छोडोस् भन्ने थियो अझै बढी इच्छा कांग्रेसकै राजनीति गरिदिओस् भन्ने थियो। तर मैले मेरो बुवालाई छोरीको बाटो ठीक छ भन्ने ठाउमा पुर्याएँ।
-महिलालाई राजनीति गर्न सजिलो छैन। नेपाली समाजले महिलालाई फरक ढंगले हेर्छ। हिजो महिलाले बन्दुक पड्काउँदा पड्किदैन भन्ने थियो। तर १० वर्षे जनयुद्धमा नेपाली महिलाले बन्दुक पड्काएर देखाए।
-राजनीतिक दल र विभिन्न संगठनमा अहिले पनि सामन्ती प्रवृत्ति छ। महिलाहरूले पटक-पटक परीक्षा दिनुपर्ने खालको अवस्था छ। म अहिले अध्यक्ष भएकी छु। मैले दाबेदारी गर्दैगर्दा महिलालाई त बनाउँदैन होला भन्ने खालका फन्टुस कुरा सुनिएका थिए। मसँगै रहेका साथीहरू मलाई छोड्न सहमत भए। तर बाहिरकाले भने महिलाले हाँक्न सक्छन् त भन्ने खालको आशंका गरेको मैले सुनेकी थिएँ।